१६ चैत्र २०८० शुक्रबार
स्वास्थ्य

खोटाङमा सम्भावित महामारी रोक्न स्वास्थ्यकर्मीको थप तयारी

महामारीको पुर्वतयारीका लागि दिप्रुङ चुईचुम्मा गाउँपालिकाको स्वास्थ्यकर्मी सहितको बैठक । तस्बिर : नागरिक

सम्भावित महामारी न्यूनीकरणका लागि खोटाङको दिप्रुङ चुईचुम्मा गाउँपालिकाले आफ्नै ठाउँका स्वास्थ्यकर्मीलाई उपयोग गर्ने तयारी गरेको छ । कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि गाउँपालिकाले क्षमता, दक्षता, योग्यता र सिप हासिल गरेका आफ्नै ठाउँका डाक्टर, विएससि नर्सिङ, हेल्थ असिस्टेन्ट, स्टाफ नर्स, अहेव, अनमी, ल्याव टेक्नेसियन, ल्याव असिस्टेन्ट र फार्मेसीलाई परिचालन गर्ने तयारी गरेको हो । महामारी नियन्त्रणकाक्रममा आवश्यक जनशक्ती जुटाउन आफ्नै ठाउँका स्वास्थ्यकर्मीलाई परिचालन गर्ने तयारी गरिएको गाउँपालिका अध्यक्ष भूपेन्द्र राईले बताए ।

सम्भावित महामारी एबं आपतकालिन अवस्था नियन्त्रणका लागि सर्टिफिकेट प्राप्त गरेका तर हालसम्म सेवामा प्रवेश नगरेका स्वास्थ्यकर्मीलाई आवश्यक सेवा सुविधा दिएर खटाउने तयारी गरिएको छ । गाउँपालिकाको आव्हानमा मंगलबार आयोजना गरिएको बैठकमा सर्टिफिकेट प्राप्त गरे पनि हालसम्म सेवा प्रवेश गर्न बाँकी रहेका स्वास्थ्यकर्मीले कोरोना भाइरस वा अन्य कुनै पनि महामारी न्यूनीकरणका लागि सेवा प्रवाह गर्न तयार रहने प्रतिवद्धता जनाएका छन् । 

‘कोरोना भाईरसको संक्रमणले महामारीको रुप लिए भने स्वास्थ्यकर्मीको अभाव हुने अवस्था आउन सक्छ,’ गाउँपालिका अध्यक्ष राईले भने, ‘जसले स्वास्थ्य क्षेत्रमा दक्षता हासिल गरेको छ तर सेवामा प्रवेश गर्न बाँकी छ भने त्यस्ता जनशक्तीलाई सम्भावित महामारी नियन्त्रणमा उपयोग गर्नेछौँ ।’ ७ वडा रहेको गाउँपालिकामा हाल सर्टिफिकेट प्राप्त गरे पनि सेवामा प्रवेश गर्न बाँकी स्वास्थ्यकर्मीको संख्या २५ जना छन् ।  

जिल्लाको साकेला गाउँपालिकाले पनि कोरोना रोकथामका लागि आपतकालिन काम गर्न गाउँपालिकाभित्र घर भइ विभिन्न स्थानमा बसिरहेका अनुभवी स्वास्थ्यकर्मीलाई ल्याएर परिचालन गर्ने निर्णय गरिसकेको छ । स्वास्थ्य सेवाबाट अवकाश पाइसकेका, सेवा करार सकिएर बसिरहेका वा सेवामा प्रवेश गर्न बाँकी रहेका स्वास्थ्यकर्मीलाई गाउँपालिकामा बोलाएर स्वयंसेवककारुपमा खटाउने तयारी गरिएको गाउँपालिका अध्यक्ष अर्जुन खड्काले बताए ।

 ‘कोरोना रोकथामका लागि हामी गाउँपालिका घर भएका तर हाल विभिन्न स्थानमा बसिरहेका अनुभवी स्वास्थ्यकर्मीलाई बोलाएर परिचालन गर्नेछौँ,’ अध्यक्ष खड्काले भने, ‘सिमित अवधिसम्म खटाएपछि प्रोत्साहन दिन विपद व्यवस्थापन कोषको रकम खर्च गर्ने छौँ ।’  

तावा ताल निर्माणका लागि बिनियोजन गरिएको ७० लाख बजेको २० प्रतिशत (करिब १४ लाख) रकम गाउँपालिकाको विपद व्यवस्थापन कोषमा जम्मा गर्ने र खर्च गर्ने निर्णय गरिएको गाउँपालिकाले जनाएको छ ।  

प्रकाशित: १३ जेष्ठ २०७७ १३:०८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App