७ वैशाख २०८१ शुक्रबार
स्वास्थ्य

नजिकिएर काम गर्नुपर्ने हुदाँ सौन्दर्य व्यवसाय संकटमा

कोरोना भाइरसको संक्रमणको जोखिम न्यूनिकरणका लागि भएको लक डाउनका कारण उद्योग, कलकारखाना, शैक्षिक संस्था लगायत अरु संघ–संस्था पनि ठप्प छन् । त्यस्तैगरि यसको प्रत्यक्ष असर सौन्दर्य व्यवसायमा पनि परेको व्यवसायीहरु बताउँछन् ।  

बिहानको ७ देखि बेलुकीको ७ बजे सौन्र्दयको काममा व्यस्त हुने पर्ल ब्युटी पार्लर एण्ड ट्रेणिङ सेन्टर बनेपाकी सञ्चालक एवं सौन्दर्य व्यवसायी रामेश्वरी मानन्धर अहिले फुर्सदमा छिन् । लक डाउनले मिलेको फुर्सदले उनलाई अहिले एउटै चिन्ता गराएको छ, ‘भोलिको दिनमा व्यवसाय कसरी गर्ने ?’ अरु काम जस्तो भए, घरमै बसेर जसरी गरिन्थ्यो,’ उनले भनिन्, ‘ यसमा धेरै जोखिम छ । अहिलेको यो स्थितीमा हामीलाई धेरै नै गाह्रो छ । लक डाउन भएको दुई महिना हुन लागि सक्यो  । अब दैनिकी कसरी चलाउने भन्ने नै चिन्ता भइसक्यो ।’ १३ वर्षदेखि नै सौन्र्दय व्यवसायबाट दैनिकी चलाएकी उनी भोलि व्यवसायलाई कसरी निरन्तरता दिने भन्ने सोचमा छिन् ।  

सानो पूँजीबाट पनि व्यवसाय गरेर आत्मनिर्भर भएका महिलाहरु लक डाउनले गर्दा भोलि आफू बिस्थापित हुने पो हो कि भन्ने चिन्तामा छन् । त्यस्तै चिन्ता अल ब्युटी पार्लर एण्ड ट्रेणिङ सेन्टरकी सञ्चालक एवं सौन्र्दय व्यवसायी लक्ष्मी श्रेष्ठलाई पनि छ । भर्खर व्यवसाय बिस्तार गरेकी उनलाई बैँकको ऋण कसरी भन्ने समस्या भएको सुनाउँछिन् । ‘अहिलेको परिस्थितीमा सामाजिक दुरी कायम राखेर काम गर्नुपर्ने हुन्छ,’उनले भनिन्, ‘तर हाम्रो काम नजिकिएर गर्नुपर्ने भएकाले काम गर्न पाएका छैनौँ । दैनिकी चलाउन गाह्रो हुन लागि सक्यो । अहिलेसम्म दुई चार दिन अघि भएको आम्दानीले नै घर व्यवाहार गरिरहेका छौँ ।’ आफूहरुको समस्या बुझेर बैंकहरुले ब्याज सहुलियतको व्यवस्था गरिदिए थोरै भएपनि राहत पुग्ने उनले बताइन् । भोलि पहिलेकै स्थितीमै कसरी फर्कने हो ?, त्यो चिन्ता पनि भएको उनले सुनाइन् ।  

बनेपाकै अर्की सौन्र्दय व्यावसायी गीता सापकोटाको मुख्य आम्दानीको श्रोत नै सौन्र्दय व्यवसाय हो । कोरोना भाइरसले निम्त्याएको महामारीका कारण दुई महिनादेखि व्यापार गर्न नसक्दा आफ्नो घर व्यवहार गर्न मुस्किल भएको समस्या उनले राखिन् । ‘म र श्रीमान् यसैमा निर्भर छौँ । व्यवसाय गरेको १५ वर्ष भयो । अहिलेसम्म यस्तो संकट कहिल्यै आएको थिएन । व्यवसाय गर्न पनि जोखिम छ । अब त के गर्ने र कसो गर्ने भन्ने भएको छ,’ उनले भनिन् । ऋण गरेर व्यवासय गरिएको र अहिले त्यो पनि तिर्न नसकिएको र कोठा भाडा पनि कसरी तिर्ने ? भन्ने समस्या भएको उनले सुनाइन् । पहिलेकै स्थितीमा फर्किन निकै समय लाग्ने र यो निकै चुनौतिको विषय भएको उनले बताइन् ।  

कोरोना भाइरसका कारण सौन्र्दय क्षेत्रमा मात्र नभई सबै क्षेत्रमा असर परेको सौन्र्दय कला व्यवसायी संघ नेपाल काभ्रेकी अध्यक्ष शोभा नकर्मी बताउँछिन् । उनका अनुसार यहाँ व्यक्ति व्यक्ति नजिकिएर काम गर्नुपर्ने भएकाले यो व्यवसाय जोखिममा छ । लक डाउन खुले पनि पहिलेको स्थितीमा नफर्केसम्म व्यवसाय सहज रुपमा गर्न नसकिने उनले बताइन् ।  

लक डाउनले विशेष गरेर साना व्यवसायी मर्कामा परेको बताउँदै अध्यक्ष नकर्मीले भनिन्, ‘अधिंकाशले ऋण गरेर, घर भाडामा लिएर, व्यवसाय गरिरहनुभएको छ  । यसैबाट दैनिकी धान्ने पनि धेरै हुनुहुन्छ । अहिले व्यवसाय ठप्प हुदाँ जीविको पार्जन गर्न समेत मुस्किल भएको धेरैले गुनासो गर्नुभएको छ ।’ व्यवसायीहरुको यस्तो पस्थितीलाई बुझेर ऋण र व्याज सहुलियतको व्यस्थाप्रति स्थानीय निकायको  ध्यानाकर्षण हुनुपर्नेमा नकर्मीले जोड दिइन् ।  

जिल्लामा करिब ५ सय व्यवसायीहरु सौन्र्दय व्यवासमा आबद्ध भएको सौन्र्दय कला व्यवसाय संघ नेपाल काभ्रेले बताएको छ । संघका अनुसार अधिंकाश महिलाहरु नै व्यवसायमा आबद्ध छन् ।  

 

 

प्रकाशित: २ जेष्ठ २०७७ ०९:४८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App