२१ आश्विन २०८१ सोमबार
image/svg+xml
स्वास्थ्य

विपी राजमार्ग हुँदै चार हजार बढी यात्रु गाँउगाँउमा पुगे

सिन्धुली – विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड– १९) को जोखिम नियन्त्रणको लागि सरकारले देश लकडाउन गरेको छ।  सरकारले एक जिल्लाबाट अर्को जिल्लामा आवातजावत गर्न समेत रोक लगाएको समयमा विपी राजमार्ग हुँदै सयौं यात्रु घरतर्फ गएका हुन्।  स्थानीय जनप्रतिनिधिहरुकै अगुवाईमा काठमाडांैबाट सम्बन्धित स्थानीय तहमा धमाधम यात्रु ओसारिएको हो। काठमाडौंमा बस्दा समस्या परेका मजदुरलाई उद्धार गरिएको भन्दै जनप्रतिनिधिहरुले सयौ यात्रु गाँउगाँउ पठाएका छन्।

मंगलबारदेखि बुधबार मध्यान्हसम्म विपी राजमार्ग भएर काठमाडांैबाट एक सय ५८ ओटा सवारीले यात्रु ल्याएको प्रमुख जिल्ला अधिकारी योगेन्द्रप्रसाद पाण्डेले बताए। जसमध्ये सिन्धुली जिल्लाका विभिन्न स्थानीय तहमा मंगलबार देखि बुधबार मध्यन्हसम्म १४ ओटा गाडीले झन्डै एक हजारभन्दा बढी यात्रु ल्याएका छन्। यहाँको सुनकोसी, मरिन, तीनपाटन गाँउपालिकाले यात्रुहरु ल्याएका हुन्। काठमाडांैबाट गाँउगाँउमा यात्रुहरु आएपछि स्थानीय त्रसित बनेका छन्। जुन स्थानमा बसेको हो, त्यहि स्थानमा व्यवस्थित गरि राख्नुपर्नेमा त्यस्तो गर्न नसकेर गाँउगाँउमा ल्याएर कोरोनाको त्रास बढाएको स्थानियले गुनासो गरेका छन््। ‘हामीले पास दिएर एउटा गाडी पनि आएको हैन’, प्रजिअ पाण्डेले नागरिकसंग भने, ‘यो सबै माथिबाटै मिलाएर आएको हो। लकडाउनको नियम अनुसार सरकारले अत्यावश्यक सवारीलाई जिल्ला प्रशासन कार्यालयबाट पासको व्यवस्था गरि सवारी चलाउन पाउने नियम बनाएको छ।’ तर एक्कासी सय भन्दा बढी सवारी रातभर आएपछि सिन्धुली स्थानिय समेत चकित बनेका छन् । सरकारले लक डाउन बैशाख १५ गतेसम्मलाई निरन्तरता दिएकै अवस्थामा विपी राजमार्ग हुदै सयौ गाडी आएका हुन्। 

विपी राजमार्गबाट दुई दिनमा चार हजार चार सय ४९ जना यात्रुहरु बाहिरिएको इलाका प्रहरी कार्यालय खुर्कोटकी प्रमुख इन्स्पेक्टर शान्ता वाइबाले बताइन्। ‘यी मध्ये सिन्धुलीमा एक हजार बढी यात्रु गाँउगाँउमा भित्रिएका छन्’, उनले भनिन्, विपी राजमार्ग भएर तराई सहित रामेछाप, दोलखा, ओखलढुङगा, खोटाङ सोलुखुम्बु लगायतका जिल्लामा यात्रुहरु गएका छन्।’ उनले गाँउपालिका तथा नगरपालिकाको समन्वयमा गाडीहरु आएको बताइन्। हामीले पास दिएर आएका होइनन्, उनले भनिन्, गाँउपालिका तथा नगरपालिकाले समन्वय गरेर गाँउगाँउमा यात्रुहरु ल्याएका हुन्। काठमाण्डौबाट जिल्लाको गाँउगाँउमा यात्रुहरु आएपछि कोरोनाको त्रास फैलिएको छ। लकडाउनको पुर्ण रुपमा पालना गरेर बसेका स्थानियलाई काठमाडौंबाट एक्कासी सयौ यात्रुहरु आएपछि जिल्लाबासी त्रसित बनेका हुन्।

‘मंगलबार दिउसो भक्तपुरबाट गाडी चढेका धेरैलाई थर्मल गनबाट तापक्रम जाचिएको भन्ने सुनेका छांै, दिउसो भन्दा धेरै राती गाडी आएका छन’, प्रजिअ पाण्डेले थपे, उनीहरु सबैको सामान्य स्वास्थ्य जाँच गरेर होम क्वारेन्टाइनमा राख्न सम्बन्धित स्थानिय तहलाई अनुरोध गरेका छौं। पैदलै हिडेर आएका मजदुरलाई उद्धार गर्दा प्रशंसा पाएका जनप्रतिनिधिले काठमाण्डौमै पुगेर यात्रु ल्याएपछि आलोचित समेत भएका छन्। सस्तो लोकप्रियताका लागि काठमाण्डौमै पुगेर यात्रु ल्याएको स्थानियको आरोप समेत छ। समस्यामा परेका मजदुर भन्दा धेरै स्थानिय तह र जनप्रतिनिधिसँग पहुँच भएका यात्रुहरु आएको स्थानीयको भनाई छ। 

 

प्रकाशित: १० वैशाख २०७७ ०८:४७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App