१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
स्वास्थ्य

प्रदेश १ : संक्रमितको अवस्था सामान्य, स्थानीयमा त्रास

विराटनगर- प्रदेश १ को विराटनगरस्थित कोरोना अस्पतालमा भर्ना गरिएका १२ जना संक्रमितको स्वास्थ्य अवस्था सामान्य छ। तर, उनीहरुमा देखिएको संक्रमणले प्रदेशमा बढाएको तनावको आकार चाहिँ असामान्य छ।
लामो समयदेखि प्रदेशभित्र बसिरहेका १२ जना भारतीयलाई कोरोना संक्रमण देखिएपछि प्रदेश १ मा तनावको पारो उच्च भएको छ। संक्रमण देखिएको उदयपुरमा मात्रै होइन, प्रदेशका अरु १३ वटै जिल्लामा त्रासले घर गरेको छ। तर, प्रदेश सरकारले भने संक्रमितको उपचार प्रबन्ध र परीक्षणमा कुनै कसर नराख्ने भन्दै नआत्तिन अपिल गरेको छ।
 प्रदेश सरकारले  परीक्षण दर उच्च बनाउने, सीमा क्षेत्रमा सुरक्षा कसिलो पार्ने र अस्पतालहरुलाई अलर्ट राख्ने योजना तत्कालै कार्यान्वयनमा लैजाने योजना बनाएको छ। ‘यी सबै काम तत्कालै तीव्रं रुपमा हुनेछन् ’, प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री एवम् प्रवक्ता हिक्मत कार्कीले भने ‘संक्रमितको उपचारमा कुनै कसर बाँकी राखिने छैन।’
अघिल्लो दिनसम्म ‘सरकारको सतर्कताले कोरोना संक्रमण छेकेको’ दाबी गरिरहेको प्रदेश १ सरकारका लागि शुक्रबारको खबर अनपेक्षित मात्रै थिएन, अत्याउने खालको पनि थियो। उदयपुरको मस्जिदमा बसिरहेका १२ जना भारतीयमा एकैपटक कोरोना संक्रमण देखिएपछिको तनाव विराटनगरमा उच्च थियो। किनभने, उनीहरु विराटनगर, सुनसरी, सप्तरी लगायतको चक्कर लगाउँदै र केही साता बिताउँदै उदयपुर पुगेका थिए।
एकैपटक धेरैजनामा देखिनु हाम्रा लागि अनपेक्षित थियो’, आन्तरिक मामिला तथा कानुनमन्त्री एवम् सरकारका प्रवक्ता हिक्मत कार्कीले भने ‘ तर, अत्याउने खालको होइन। किनभने हामी उपचारका लागि तयारी अवस्थामा बसेका छौं। तयारी चुस्त छ।’
संक्रमित भारतीयहरुका कारण  स्थानीयमा संक्रमण फैलिएको हुनसक्ने शंकाले सरकार, स्वास्थ्यकर्मी सबैको तनाव बढाएको थियो। त्यो अझै कायमै छ। शनिबार उदयपुरको भुल्के क्षेत्र सिल गरेर स्थानीयबासीको नमुना संकलन सुरु भएको छ। यसलाई तीव्र बनाउने योजना सरकारको छ।
‘अब परीक्षण दरलाई उच्च बनाउने तयारीमा हामी लागेका छौं’, मन्त्री कार्कीले नागरिकसँग भने ‘यसबाहेक अस्पतालहरुमा बेड थप गर्ने, अन्य अस्पताल तयार गर्ने काम पनि थालिनेछ।’ उनका अनुसार अहिले संक्रमण देखिएकाहरुलाई विराटनगरमा निर्मित कोरोना अस्पतालको आइसोलेसनमा राखिएको छ। तत्कालै वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एक सय बेड तयार पारिनेछ। संक्रमित अरु थप भए मेची अस्पताल तथा अन्य अस्पतालहरुलाई उपयोग गर्ने तयारी भएको मन्त्री कार्कीले जानकारी दिए।
प्रदेश १ का जनस्वास्थ्य महाशाखा प्रमुख डा. सुरेश मेहताका अनुसार विराटनगरमा आइसोलेसनमा राखिएका १२ जनै संक्रमितको स्वास्थ्य अवस्था सामान्य छ। ‘उहाँहरुमा कुनै पनि समस्या वा लक्षण देखिएको छैन’, डा. मेहताले भने ‘८० प्रतिशतमा नदेखिन पनि सक्छ। तर, उहाँहरुमार्फत अन्यत्र सरेको छ कि भन्ने चिन्ता अहिलेका लागि मुख्य हो। त्यसैले हामीले परीक्षणलाई द्रुत पारेका छौं।’ शनिबार मात्रै सुनसरीको हरिनगरा गाउँपालिकामा एक जना पुरुषको र्यापिड टेष्टमा पोजिटिभ नतिजा आएको छ। योसँगै प्रदेशमा र्यापिडमा पोजिटिभ नतिजा आउनेको संख्या तनि पुगेको छ। यसअघि मोरङ र झापाका पोजिटिभको पिसिआर रिपोर्ट नेगेटिभ आइसकेको छ। तर, ती १२ जना संक्रमितको आरडिटी रिपोर्ट पनि नेगेटिभ नै आएको थियो। पिसिआर विधिबाट गर्दा पोजिटिभ आएको थियो।

प्रकाशित: ६ वैशाख २०७७ १२:२० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App