१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
स्वास्थ्य

कोरोना नियन्त्रणमा चुनौती थप्दै ‘चोरबाटो’

लहान – प्रदेश २ को आठवटै जिल्लाको सीमा भारतसंग जोडिएको छ।  चार सय ६४ किलोमिटर सीमा रहेको यस प्रदेशमा एक सय ९ वटा नाका छन्। जसमध्ये ३९ वटा नाकामा सुरक्षा पोष्ट छ। सुरक्षाकर्मीको उपस्थिति बिनाका बाँकी नाकाहरू पारिबाट (परदेश) घर फर्किनेहरूले ‘चोरबाटो’ को रुपमा प्रयोग गरिरहेका छन्। 

चोरबाटो यहाँका स्थानीयवासीमा मात्र नभई सरकारको पनि टाउँको दुखाई बनेको छ। मुख्यमन्त्री लालबाबु राउतले सीमाबाट लुकिछिपि हुने प्रवेश कोरोना संक्रमण नियन्त्रणमा चुनौती थपिरहेको बताए। उनी भन्छन्,‘ खुल्ला सीमानाका कारण हुने आउजाउले जोखिम बढाउँदै छ। हामी सीमा सिल गर्न संघीय सरकारलाई गुहारेका छौं, उनले भने।’

सिरहाको औरही गाउँपालिकाका स्थानीय युवाहरू सीमामा गस्ती गर्न थालेको दुई साता भयो। सुरक्षाकर्मीको उपस्थिती नभएको स्थानमा उनीहरुको गस्ती केन्द्रित छ। स्थानीय बिवेक दाशका अनुसार हामीले गस्ती गर्दापनि भारतबाट फर्केकाहरु कता कताबाट प्रवेश गरिहाल्छन्। एक छिन ओझेल पर्ने बितिकै उनीहरु खेतैखेत छिरिहाल्छन्। गाउँ प्रवेश गरेका कतिपय मानिस आफैं क्वारेन्टाइनमा बसेका छन्। कतिपय घरमै गुपचुप बसेका छन्।
सर्लाही जिल्लाको चन्द्रनगरमा मात्र बुद्यबारदेखि आइतबारसम्म चार दिनमा ५९ जना भारतको विभिन्न स्थानबाट फर्केका छन्।  जसमध्ये ४९ जना क्वारेन्टाइनमा बसेका छन्। बाँकी घरमै छन्। 

चैत १६ गत्ते राती १० बजे चोरबाटोबाट चार जना रौतहटको इशनाथ नगरपालिका आइपुगे। उनीहरु राती चोरबाटोबाट घर पुगेर गुपचुप बसे। भोलिपल्ट स्थानीयले थाहा पाएर प्रहरीलाई खबर गरेर उनीहरुलाई गाउँकै क्वारेन्टाइनमा राख्न लगाए। कोरोना भाईरसको संक्रमण बढिरहेको भारतबाट लकडाउन छिचोल्दै चोरबाटोबाट धमाधम मजदुरहरु गाउँ आउन थालेपछि कोरोना संक्रमण नियन्त्रणमा चुनौति थपिदै गएको छ। भारतमा लकडाउन लम्बिएपछि ‘अझै हुल बाधेंर मानिसहरु गाउँ फर्किदै छ रे भन्ने सुनिएको छ’, भगवानपुर गाउँपालिकाका अध्यक्ष बेचन यादवले त्रास व्यतm गरे, ‘दुवै देशको कडा लकडाउनको समयमा पनि यसरी भारतबाट सर्वसाधारण आउन थाले भने त हाँमीलाई निकै गाह्रो पर्ला जस्तो छ।’

त्यस्तै बरियारपट्टी गाउँपालिकाका अध्यक्ष सन्तोष साह पनि भारत र नेपाल दुवैतर्फ कडा लकडाउनको अवस्थामा समेत पारिबाट घर पर्किनेहरु चोरबाटोबाट प्रवेश गर्न सफल हुनुले चुनौती थपिएको बताउँछन्। कोरोना संक्रमण बढी भएको दिल्ली, पंजाब, अहमदाबाट लगायतका स्थानमा मजदुरी गरिरहेका स्थानीय लुकिछिपी गाउँ प्रवेश गर्ने क्रम नरोकिएपछि गाउँलेहरुमा त्रास बढेको छ।

सरकारले लकडाउन थपेको  छ तर सीमाबाट हुने प्रवेश पूर्ण रुपमा नरोकिँदा जोखिम ज्यूँका त्यूँ छ। प्रदेश २ मा भेटिएका चार जना कोरोना संक्रमित सबैको यात्रा विवरण भारत छ।‘हामीलाई वारीका भन्दा पारिकाबाट डर छ सिरहाको झाझपट्टीका देवनारायण यादव भन्छन्,‘राती वारिपारीका मदिरा तस्करले सीमावर्ती गाउँमा जोखिम बढाउँदै छ।’ मजदुरीबाट फर्किनेहरुलाई त पहिचान गरेर हामी अलग्याउँछौ तर मदिरा तस्करहरुलाई कसरी अलग्याउनु? राती सीमानाकामा मदिरा तस्करहरुको रजाइँ छ उनी भन्छन्, ‘पिक अप जीपमा सीमासम्म नेपालीले मदिरा लैजान्छ, यहाँबाट भारतीय जीपमा पारी पुग्छ।’ भारतीय र नेपाली दुबैतिरका मदिरा तस्कर जम्मा हुने सीमा क्षेत्रका बासिन्दा कोरोना संक्रमणको उच्च जोखिममा रहेको उनको चिन्ता छ।

सरकारले बन्दाबन्दी १२ दिन थप्ने गरेको निर्णयलाई मधेसका जनताले स्वागत गर्दै सीमा नाका पूर्ण रुपमा सिल गर्न सुझाएका छन्। जबसम्म सीमामा आवतजावत पूर्ण रुपमा बन्द हुँदैन तबसम्म जोखिम कम हुँदैन सीमावर्ती बरियारपट्टीका बिल्टु यादवले भने,‘केहि दिन कष्टै सहन पनि तयार छौं, सीमा सिल हुनुपर्छ। ’ ‘भारतमा कोरोनाको प्रकोप फैलिइरहेको छ। यसैले भारतमा कोरोनाको प्रकोप साम्य नभइन्जेललाई सीमामा आवतजावत पूर्ण रुपमा बन्द हुनुपर्ने उनको भनाई छ। यता लकडाउन भनेर सीमामा बस्ने हामी नेपालीमाथि लठि बजार्छन उता पारिबाट आउजाउ गर्नेका अगाडि आँखा चिम्लिने काम बन्द हुनुपर्ने उनी बताउँछन्। हाम्रो प्रदेशमा भारतबाटै प्रवेश गरेकाहरुमा कोरोनाको संक्रमण पुष्टि भएको छ उनी भन्छन्,‘सरकारले सीमामा कडाइ होइन ‘सिल’ नै गर्नुपर्छ। 

प्रकाशित: ३ वैशाख २०७७ ०६:४५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App