६ जेष्ठ २०८१ आइतबार
image/svg+xml
स्वास्थ्य

विदेशबाट फर्केका स्थानीयलाई भेटघाटका लागि घरदैलो

खोटाङ – जिल्लाको खोटेहाङ गाउँपालिकाले वैदेशिक रोजगारीबाट फर्केका नागरिकसंग भेटघाटका लागि घरदैलो अभियान चलाएको छ। विदेशबाट फर्केका नागरिकको होम क्वारेन्टीनको बसाई, उनीहरूको स्वास्थ्य अवस्था, परिवारको स्वास्थ्य अवस्था लगायतका बारेमा जानकारी लिनका लागि गाउँपालिकाले घरदैलो अभियान चलाएको हो।

कोरोना भाइरस (कोभिड–१९) फैलिन थाले यता विभिन्न देशबाट घर फर्किएका ९ वटै वडाका ३३ स्थानीयको घरमा पुगेर स्वास्थ्य जाँच गर्दै उनीहरूको हालको स्वास्थ्य अवस्थाका बारेमा जानकारी लिइएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिप्रसाद भट्टराईले बताए। भेटघाटकाक्रममा विदेशबाट फर्किएका व्यक्तिको परिवारका सदस्यको स्वास्थ्य अवस्थाका बारेमा समेत जानकारी लिइएको गाउँपालिकाले जनाएको छ। तीन दिनसम्म सञ्चालन गरिएको भेटघाटका क्रममा कोरोना भाइरसबाट बच्ने उपायलाई अपनाउनका लागि सर्वसाधारणलाई सचेत गराइएको छ। 

गाउँपालिका अध्यक्ष प्रदीप राई, उपाध्यक्ष कबिता राई, प्रमुख प्रशासकीय अधिकृत भट्टराई, ईलाका प्रशासन कार्यालय प्रमुख मनसकुमार राई, स्वास्थ्य शाखा प्रमुख यदुकुमार बस्नेत, प्रहरी निरिक्षक सुर्यनारायण माझी, नेकपाका नेता राजन बञ्जरा लगायतको टोलीले वडा–वडाको स्वास्थ्यचौकीको अवस्था, सेवा प्रवाहको अवस्था, आगामी दिनमा सुधार गर्नुपर्ने पक्ष लगायतका विषयमा समेत अनुगमन एवं छलफल गरेको छ।

स्वास्थ्य संस्थाको अनुगमनकाक्रममा गाउँपालिका अध्यक्ष राईले नागरिकको अपेक्षा बमोजिम ब्यवहार गर्न र सेवा प्रवाह गर्न स्वास्थ्यकर्मीलाई निर्देशन दिएका छन्। ‘अहिलेको बिषम परिस्थितिमा स्वास्थ्यकर्मीले निर्वाह गर्नु भएको भूमिकाको प्रसंसा गर्दछु,’ गाउँपालिका अध्यक्ष राईले भने, ‘सिमित श्रोत र साधनकाबीच जोखिमपूर्ण अवस्थामा पनि अग्रभागमा रहेर आमनागरिकको स्वास्थ्य सेवामा पु¥याएको योगदानको उपयुक्त मुल्याङकन गरिने छ।’ गाउँपालिकाका सबै स्वास्थ्य संस्थामा पिपिई सेट, मास्क, ग्लोव्स, सेनीटाइजर, बाल्टीन, बाटा, सावुन लगायतका स्वास्थ्य सुरक्षा तथा सरसफाईका सामग्रीको व्यवस्था गरिएको गाउँपालिकाले जनाएको छ। 

५० बेडको क्वारेन्टीन तयारी अवस्थामा 

खोटेहाङ गाउँपालिकाले ९ वटा वेडामा ५० बेडको क्वारेन्टीन तयारी अवस्थामा राखेको छ। यस्तै, भोजपुरसंगको सिमानामा पर्ने पामाखामभञ्ज्याङ र उदयपुरसंगको सिमानामा पर्ने रसुवधाघाटमा हेल्थ डेस्क सञ्चालनमा रहेको गाउँपालिकाले जनाएको छ। हेल्थ डेस्कमा आइपुगेका स्थानीयको व्यक्तिगत विवरण तथा स्वास्थ्य स्थितिको अभिलेख राख्ने व्यवस्था मिलाइएको स्वास्थ्य शाखा प्रमुख बस्नेतले बताए। गाउँपालिकाले हेल्थ डेस्कमा खटिएका स्वास्थ्यकर्मीलाई प्रतिदिन एक हजार र अन्य स्वास्थ्यकर्मीलाई दैनिक पाँच सय रूपैयाँ प्रोत्साहन भत्ता उपलब्ध गराउने निर्णय गरिसकेको छ। 

वडा–वडामा सचेतनामुलक अभियान चलाइने 

कोरोना भाइरसबाट सर्वसाधारणको बचाउका लागि खोटेहाङ गाउँपालिकाले वडा–वडामा सचेतनामुलक अभियान सञ्चालन गर्ने तयारी गरेको छ। कोरोनाबाट बच्न र बचाउनका लागि आवश्यक सचेतनामुलक गतिविधिलाई वडा–वडामा केन्द्रित गरिने गाउँपालिका अध्यक्ष राईले बताए। सचेतनामुलक गतिविधि सञ्चालनका लागि महिला स्वास्थ्य स्वयंसेविकालाई टोल–टोलमा पहिचान गरिने छ। भेटघाटकाक्रममा कोरोना भाइरसको बारेमा अधिकांश नागरिक सचेत रहेको पाइएको गाउँपालिकाले जनाएको छ। 

 

प्रकाशित: २९ चैत्र २०७६ ०७:२५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App