१२ जेष्ठ २०७७ सोमबार
स्वास्थ्य

विदेशबाट फर्केका क्वारेन्टाइनमा बसेनन्

फाइल तस्बिर

दिलबहादुर छत्याल/धनगढी, जगत खड्का/बझाङ, बिरा गडाल/बैतडी

सदुरपश्चिम व्यूरो

भारतका बिभिन्न राज्यमा कोरोना भाइरस (कोभिड १९) को संक्रमण फैलिएपछि चैतको शुरुवातदेखि भारतका बिभिन्न ठाउँमा मजदुरी गरिरहेका नेपाली घर फर्कन शुरु गरे। भारतमा होटल, कम्पनी, कलकारखाना बन्द भएपछि कोरोनाकोत्रासले नेपाल फर्कनेको संख्या ह्वात्तै बढ्यो। सुदूरपश्चिमका मुख्य दुई नाका धनगढीको त्रिनगर र गड्डाचौकीवाट दिनहुँ १० हजार बढी भित्रिए। नेपाल प्रहरी प्रदेश कार्यालयको तथ्यांक अनुसार चैत महिनाको पछिल्लो ८, ९ दिनमा मात्र डेढ लाख बढी नेपाली यि दुई नाकावाट भित्रिएका छन्। सरकारले लकडाउन गरेपछि चैत ११ गते मंगलवार यि दुई नाकामा जम्मा भएका करिव १५ सय जनालाई प्रशासनले बस व्यवस्था गरेर बिभिन्न जिल्लामा पुर्यायो। प्रशासनले बसमा राखेर पुर्याएका व्यक्तीलाई मात्र बिभिन्न स्थानीय निकायले क्वारेन्टाइनमा राखिरहेको भएपनि त्यस अघि भारतवाट प्रवेश गरेका दशौं हजार क्वारेन्टाइनमा बसालिएको छैन। घर गएका उनीहरु होम क्वारेन्टाइनमा समेत बस्न इन्कार गरि गाउँभरी घुम्ने, सार्वजनिक स्थलमा जम्मा हुने गरेको स्थानीयले बताएका छन्। दशौ हजार भारतवाट आएकाहरु गाउँभरी छरिएर रहेका र जताततै उनीहरुको चहलपहलले गाउँमा त्रास बढेको स्थानिय बताउँछन। ‘हाम्रो गाउँमा भारतवाट आएका ३० जना जती छन, उनीहरु गाउँभरी घुम्ने, जहाँ मन लाग्यो त्याहाँ गएर बस्ने गरेका छन’ डडेल्धुरा नवदुर्गा गाउँपालिकाका एक महिलाले भनिन्,‘हाम्रो आगनमा आएर नवस्नुहोस भनेर भन्दा हामी जाँच गरेर आएका हुँ भन्दै उल्टै थर्काउन्छन।’ भारतबाट घर फर्केकाहरुको भिडभाड र चहलपहलले गाउँमा त्रास बढेको उनले बताइन्। केही दिन घरमै अलग्गै बसिदिन भनेर भन्दा पनि उनीहरुले नमान्ने गरेको उनको भनाई छ।

नाकामा ज्वरो जाँच गरेकोलाई उनीहरुले जाँच भन्ने गरेका हुन। कोरोना भाइरसको संक्रमण भएकालाई १४ दिनसम्म लक्षण नदेखिने भएकाले नाकामा जाँचेको ज्वरोले मात्र थाहा नहुने बरिष्ठ फिजिसियन सुभेष राज कायस्थ बताउँछन।‘१४ दिन सम्म लक्षण नहुने र यसवेला पनि संक्रमण सर्ने खतरा हुने भएकाले संक्रमण फैलिएको भारतवाट आएकालाई क्वारेन्टाइनमा नराख्दा जोखिम हुन्छ’उनले भने।

क्वारेन्टाइनमा बस्न मान्दैनन्

पुर्चौडी नगरपालिका–६ ढोल्यामोडमा बाहिरबाट आउनेहरुको स्वास्थ्य जाँच गर्न हेल्पडेस्क स्थापना गरिएको छ। हेल्पडेस्कमा कार्यरत स्वास्थ्यकर्मी मोहन साउदले कोरोना भाइरसबाट बच्ने तरिका सिकाउँछन्। विशेष गरी भारतबाटबाट आएकाहरु घरमै दुई हप्ता अलग बस्न आग्रह गर्दा भने भारतबाट आएका सर्वसाधारण रुष्ट हुन्छन् ‘चारपाँच ठाउँमा चेक गरेर आएका छौं,' हम्लाई कुनै रोग छैन’ विदेशबाट फर्केका अधिकांश यस्तै भन्छन्। जिल्लामा मंगलबारपछि गाउँ पसेकाहरुलाई मात्र क्वारेन्टाइनमा राखिएको छ त्यसअघि भारतबाट गाउँ पसेकाहरु निर्धक्क घुमेका छन्।  उनीहरुकै कारण गाउँमा जोखिम बढेको स्थानीय बताउँछन्।

जिल्लामा कति जना भित्रिए त्यसबारे स्थानीय तहले तथ्यांकसम्म राख्न सकेको छैन। कोरोना भाइरस रोकथाम र नियन्त्रणका लागि  यतिबेला बैतडीका १० वटै स्थानीय तहहरुले आफ्नो तयारी तीव्र पारेका छन्।  जिल्लाका सबै जसो स्थानीय तहले विद्यालय क्याम्पसमा बाहिरबाट आएकाहरुलाई बस्ने व्यवस्था गरेको छ तर करेन्टाइनमा बस्न भने मानेका छैनन्।

‘जनप्रतिनिधिले पनि पहल चालेका छैनन। भारतबाट आएकाहरु मजासँग गाउँमा घुमेका छन्,’ डिलासैनी गाउँपालिका स्वास्थ्य संयोजक नवराज जोशीले भने,‘बाहिरबाट आएकाहरुलाई सम्झाइबुझाइ करेन्टाइनमा बस्न व्यवस्था गर्न सकेका छैनन्।’

पञ्चेश्वर गाउँपालिकाले भने गाउँमा स्वयम्सेवक खटाएर भारतबाट आएकाहरुको तथ्यांक लिने, उनीहरुलाई घरमै अलग बस्न आग्रह गर्ने र ज्वरो आए मात्र करेन्टाइनमा राख्ने व्यवस्था गरेको गाउँपालिकाका प्रवक्ता दशरथ मंगोलाले बताए।

बैतडीमा ६१ वडामा चार सय ५४ बेड क्षमताको करेन्टाइनको व्यवस्था गरिएको जिल्ला स्वास्थ्य कार्यालयका सूचना अधिकारी भुवन जोशीले बताए। उनका अनुसार हालसम्म ५८ जना मात्र करेन्टाइनमा बसेका छन्। कोरोनाको विश्वव्यापी महामारी फैलिएपछि जिल्लामा धेरै जना बाहिरबाट भित्रिएका छन् उनीहरु कुन अवस्थामा बसेका छन् त्यसबारे स्थानीय तहले चासो दिनु पर्ने जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख योगेशप्रसाद भट्टले बताए।

कोरोना भाइरसले आक्रमण भएपछि उपचार गर्नुभन्दा संक्रमित हुनुबाट बचाउनु सरकारको मुख्य लक्ष्य हो। तर गाउँ आएका युवाहरु  घुमफिर गर्दै हिड्न थालेपछि संक्रमित व्यक्तिबाट महामारी फैलिन कुनै समय नलाग्ने प्रमुख भट्टले बताए।

स्वास्थ्य परीक्षण गरेको दावी गर्दै गाउँ घुम्छन् युवाहरु

पुर्चोडी नगरपालिका स्वास्थ्य संयोजक विनोद कुवरका अनुसार पछिल्लो गाउँमा धेरै जना भिएका छन्। भारतका विभिन्न ठाउँ र  तेस्रो मुलुकहरु दुवइ, फ्रान्स र साउदी बाट गाउँ आएका छन्। तर उनीहरु सरकारको निर्देशन पालन गरेका छैनन। क्वारेन्टाइनमा राख्दा परिवारकै सदस्य आएर स्वास्थ्यकर्मी कुटन थालेको उनले बताए। बुधबार मात्रै पुर्चौडी नगरपालिका–५, कुवाकोटमा कार्यरत स्वास्थ्यकर्मी माथि आक्रमण भयो। केही दिन अघि आएका गाउँमा खुलेयाम घुमेका छन्। अहिले आएकालाई मात्र करेन्टाइनमा राख्यो भनेर विवाद बढन थालेको हो।

केही व्यक्ति सेल्फ क्वारेन्टाइनमा बसेता पनि केही व्यक्तिले आफुहरु स्वास्थ्य परीक्षण गरेर आएको र निरोगी भएको बताउँदै आफन्त भेट्दै हिड्ने गरेको पाटन नगरपालिका स्वास्थ्य संयोजक मदनसिंह महराले बताए। घरमै बस्ने सल्लाह दिँदा समेत उल्टै आफुलाई थर्काउने गरेको स्वास्थ्यकर्मी बताउँछन्।

उद्योग वाणिज्य संघ बैतडीका अध्यक्ष नरबहादुर चन्दले यदी कोही संक्रमित बाहिरबाट आएको भए गाउँ नै ध्वस्त बनाइसकेको बताए। विदेशीबाट आफ्नो घर आएका सबै जनालाई अनिवार्य क्वारेन्टाएइन राखिनु पर्ने भएता पनि त्यसो नगर्दा ठूलो क्षति हुन सक्ने उनी बताउँछन्। अब क्वारेन्टाइन निर्माण गर्नु भन्दा पनि गाउँ बस्तीमा जनशक्ति परिचालन गरी स्वास्थ्य परीक्षण गर्नु पर्ने उनको भनाइ छ।

तर, विदेशी भुमिबाट आएका स्थानीयबासीहरु गाउँगाउँ भौतारीदै आफन्तहरु भेट्दै हिडेका छन्। सेल्फ क्वारेन्टाइनमा बस्छौं भन्दै गाउँ गएका ति युवाहरु छरछिमेकीलाई भेट्दै हिँड्न थालेका हुन्। विदेशी भूमिबाट जिल्ला भित्रिएका सबै जनालाई कम्तीमा १४ दिनसम्म क्वारेन्टाइनमा राखेर मात्र गाउँ पठाउने भनिएता पनि विदेशबाट आएका जति सिधै गाउँ जाने र आफन्त भेटघाट तथा घुमिफिरमै व्यस्त छन्।

गाउँमा त्रास

 भारतवाट फर्केका हजारौ जना क्वारेन्टाइनमा नवसि गाउँमा घुमिरहेकाले ग्रामिण वस्तीमा त्रास बढेको छ। मंगलवार आएकालाई मात्र क्वारेन्टाइनमा राखेपनि त्यस अघि आएका सवै घर घर गएर क्वारेन्टाइन नवसी घुमिरहेका छन। अघिपछि सुनासन जस्तै देखिने गाउँवस्तीहरु भारतवाट फर्केका युवाहरुको चहलपहल बढेको छ। घर फर्केका हरु घरमा पनि क्वारेन्टाइनमा वसेका छैनन्।‘भारतवाट आएकाहरुले गाउँहरु भरिएका छन, उनीहरु घरमा नवसेर लाहुरेजस्तै मनलागेको ठाउँमा जाने बस्ने गरेका छन्’ छबिसपाथिभेरा गाउँपालिकाका राम धामीले भने,‘भारतवाट फर्केकाहरुको गतिविधीले गाउँमा पुरै त्रास छ।’ आफ्नो गाउँमा मात्र २ सय भन्दा बढी भित्रिएको उनले बताए। भारतवाट चैतको डेढ साता हजारौको संख्यामा जिल्लामा आएपनि कति जना आएको भन्ने एकिन तथ्यांक समेत सरोकारवाला निकाय कसैसँग छैन।

गाउँमा भोज

भारतवाट फर्केकाहरुले वोका खसी काटेर भोज गर्ने गरेका छन्। तास खेल्ने र तास हेर्नेको भिड समेत लाग्ने गरेको स्थानियले बताएका छन्। भारत बाट ११ गते अर्थात मंगलवार  अघि आएका ब्यक्तिहरुको कुनै वास्था राज्यका निकायले राखेको छैन। ‘गाउँमा स्वतन्त्र रुपमा उनीहरुले मनोञ्जन गरि रहेका छन्। केहि भनेमा उल्टै गाली गर्छन्। कुन ब्यक्ति कोरोनाबाट संक्रमित छ कसैलाई थाहा छैन’ पृथ्वी नगरपालिका ३ का कबी खत्रीले भने,‘कुनै एक ब्यक्ति यसबाट पीडित भए गाउँका गाउँ सखप हुने छ।’ सदरमुकाम चैनपुर बाट नजिकै गाउँमा पनि यस्तो भएको उनले बताए।

गाउँका सोझा साझा महिला बालबालिका र वृद्धाहरु निकै आतंकित भएका छन्। उनीहरुले चाहेर पनि आफनो छोरा श्रीमान र बाबुको विरोध गर्नै सक्दैनन्। अहिले गाउँमा सबै डराएका छन। सबै जना आफ्नो देवतालाई भाकल गरेका छन।

गाउँपालिकाको हेल्थ डेस्क तथा स्वास्थ्यमा संस्थामा सम्पर्कमा आएकाहरुको संख्या १ सय ८३ रहेको र यस मध्य १ सय १५ जना क्वारेन्टाईमा बसेका भए पनि स्वास्थ्यकर्मी सम्पर्कमा नआएका व्यक्ति के कती छन् आफुले भन्न नसक्ने स्वास्थ्य प्रमुख भानुभक्त जोशीले बताए।

‘अहिले डरले स्वास्थ्यर्कमी पनि घर घर जान सकेका छैनन्।  हाम्रो प्रयास जारी छ हामी निरन्तर चेक जाँचमा छु,’उनले भने।

सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री त्रिलोचन भट्टले भारतबाट आएका कयौ व्यक्तिलाई स्थानीय निकाय र प्रदेश सरकारको समन्वयमा क्वारेन्टाइनमा राखिएको र पहिले भारताबाट आएर घर गएकालाई पनि निगरानीमा राखिएको बताए। भारतबाट फर्केकाको तथ्यांक संकलन गर्ने काम भैरहेको उनले बताए।‘ भारतवाट पहिले आएकालाई घरमै सेल्फ क्वारेन्टाइनमा वस्न आग्रह गरिएको छ, उनीहरुलाई निगरानीमा राखिएको छ ’उनले भने।

 

 

 

 

 

 

प्रकाशित: १४ चैत्र २०७६ १८:०५ शुक्रबार

खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App