८ वैशाख २०८१ शनिबार
स्वास्थ्य

स्वास्थ्कर्मीलाई नै छैन भाइरसप्रतिरोधी मास्क

बजार अनुगमन गर्दै सरकारी टोली। तस्बिर: सूर्यप्रकाश/नागरिक

चितवन – विश्वव्यापी बनेको कोरोना भाइरस (कोभिड–१९) को संक्रमणको त्रास बढिरहेका बेला चितवनमा चिकित्सकहरूले प्रयोग गर्ने भाइरस प्रतिरोधी एन–९५ मास्क अभाव भएको छ। नेपालमा कोरोना भाइरसको संक्रमण फैलियो र चितवन आइपुग्यो भने यहाँका चिकित्सकको व्यक्तिगत सुरक्षाका लागि आवश्यक मास्क तथा उपकरण छैनन्।

जिल्ला प्रशासन कार्यालय चितवनले सोमबार भरतपुरमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै चितवनका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले नै यस्तो खुलासा गरेका हुन्। ‘स्थानीय स्तरमा तयार हुन नसक्ने एन–९५ मास्क र व्यक्तिगत सुरक्षा–उपकरण उपलब्धताका लागि संघीय सरकारसँग अनुरोध गरिएको छ,’ प्रजिअ भट्टराईले भने, ‘अहिले त चिकित्सककै लागि पनि एन–९५ मास्क उपलब्ध गराउन सकिएको छैन।’

प्रवेश नाकामा निगरानी
जिल्ला प्रशासन कार्यालय चितवनले कोरोना भाइरसको संक्रमण भित्रिन नदिन जिल्ला प्रवेश नाकामा निगरानी बढाउने भएको छ। प्रजिअ भट्टराईले कोरोना भाइरसबाट संक्रमित व्यक्तिहरू जिल्लामा प्रवेश गर्न सक्ने विमानस्थल, राजमार्ग र अन्य नाकामा निगरानी बढाइने बताए। कहीं, कतै कोरोनााका शंकास्पद बिरामी भेटिए तत्काल सुरक्षित रूपमा आइसोलेसन वार्ड भएका स्वास्थ्य संस्थामा पठाइने प्रजिअ भट्टराईको भनाइ छ।

आइसोलेसन वार्ड थपिँदै
कोरोना भाइरसका शंकास्पद र संक्रमित बिरामीको उपचारका लागि जिल्लाका सबै अस्पतालमा आइसोलेसन वार्ड राख्ने तयारी भइरहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ। ‘जिल्लामा रोगको संक्रमण व्यापक भएको खण्डमा शंकास्पद व्यक्तिहरूलाई राख्न सकिने गरी आइसोलेसन वार्ड थप्नेबारे तयारी भइरहेको छ,’ प्रजिअ भट्टराईले भने, ‘निजी अस्पतालहरूमा कम्तीमा दुई शड्ढया र दुईवटा मेडिकल कलेज र भरतपुर अस्पतालमा दुई बेड आइसियूसहित २०–२० शड्ढयाको आइसोलेसन वार्ड बनाउने तयारीमा छौं।’

बजारमा सर्जिकल मास्कको माग ह्वात्तै बढेकोले आपूतिुन नसकेको तर खाद्यान्न र अन्य उपभोग्य वस्तुको अभाव हुन नदिन अनुगमनमा जोड दिइएको प्रजिअ भट्टराईले बताए। जिल्लाभित्रका एम्बुलेन्सलाई जुन ठाउँका लागि अनुमति लिएको हो, त्यही ठाउँमा तयारी अवस्थामा राख्न लगाइएको उनले जानकारी दिए।

बजार अनुगमनमा तीव्रता
जिल्ला प्रशासन कार्यालय चितवनले खैरहनी, रत्ननगर, नारायणगढ र भरतपुर बजार क्षेत्रका खाद्य गोदाम तथा ग्यास डिपोहरूको अनुगमन गरेको छ। दुई समूह बनाएर अनुगमन कार्यलाई निरन्तरता दिइएको छ। बजार अनुगमनमा हिँडेको एउटा समूहले खैरहनी र रत्ननगर तथा अर्को समूहले नारायणगढ र भरतपुर बजार क्षेत्रको अनुगमन गरेको हो। अनुगमनका क्रममा बजारमा खाद्यवस्तुको अभाव कतै पनि नभएको र खाना पकाउने ग्यास भने उपभोक्ताले आवश्यकताभन्दा बढी भण्डारण गरेको कारण न्यून मात्रामा अभाव देखिएको जिल्ला प्रशासन कार्यालय चितवनका प्रशासकीय अधिकृत ईश्वर सिंखडाले बताए।

जिल्ला प्रशासन कार्यालय, खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय र प्रहरी कार्यालयका प्रतिनिधि सम्मिलित संयुक्त अनुगमन टोलीले विभिन्न ग्यास डिपो, खाद्यवस्तुको होलसेल तथा खुद्रा पसलमा अनुगमन गरेको खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालयका प्रमुख खाद्य निरीक्षक विक्की राउतले जानकारी दिए।

प्रकाशित: ४ चैत्र २०७६ ०२:०४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App