नेपालमा जापानिज इन्सेफ्लाइटिसबाट यो वर्ष मृत्यु हुनेको संख्या २० पुगेको छ। यो सातामात्र इन्सेफ्लाइटिसबाट थप पाँच जनाको मृत्यु भएको हो। इन्सेफ्लाइटिसबाट नवलपरासी पूर्वमा २ जना तथा नवलपरासी पश्चिम, बाँके र बर्दियामा एकएक जनाको मृत्यु भएको हो। ती मध्ये एक जना १५ वर्ष मुनिका छन्।
गत जेठ यता कूल संक्रमितको संख्या एक सय ३ रहेको परिवार कल्याण महाशाखाको तथ्यांक छ। इन्सेफ्लाइटिसबाट प्रभावित हुने अधिकांश किसान रहेको महाशाखाले जनाएको छ।
गत वर्षको तुलनामा यो वर्ष संक्रमण तीब्र हुनु गम्भीर विषय भएको खोप शाखाका प्रमुख डा. अभियान गौतमले बताए । ‘गत वर्षभन्दा पहिला नै धेरै संक्रमित भएका छन् । मृत्यु संख्या पनि उच्च हुनुले थप जोखिम बढेको देखिन्छ,’ उनले भने । संक्रमित हुनेहरुमा ३० प्रतिशत १५ वर्षमुनिका बालबालिका रहेको डा.गौतमले बताए ।
गत वर्ष कात्तिकसम्ममा इन्सेफ्लाइटिसबाट २५ जनाको मृत्यु भएको थियो । यो वर्ष जापानिज इन्सेफ्लाइटिसका बिरामीको खोजतलास कार्यक्रमलाई तीब्र पारेकोले समय अघि नै धेरै संख्यामा संक्रमित फेला परेको हुन सक्ने डा. गौतमको भनाइ छ । जोखिम बढेपछि महाशाखाले विभिन्न माध्यमबाट नागरिकलाई सचेत गराउँदै सावधानी अपनाउन आग्रह गर्दै आएको छ ।
चिकित्सकको अनुसार संक्रमित क्युलेक्स प्रजातिको लामखुट्टेले मानिसलाई टोकेमा जापानिज इन्सेफ्लाइटिस भाइरसको संक्रमण हुन्छ । संक्रमण भएपछि कडा टाउको दुख्ने, ज्वरो आउने, बिरामी बेहोस हुने जस्ता लक्षण देखिन्छ । पछि मतिष्कमासमेत असर पुग्ने हुँदा कतिपयको मृत्यु हुन्छ । दुई सय ५० जना संक्रमित मध्येमा एक जनामा गम्भीर लक्षण देखिन्छ ।
यस्तो लक्षण देखिएका मध्येमा ३० प्रतिशतको मृत्यु हुने गरेको पाइएको चिकित्सकको भनाइ छ । बाँकी ७० प्रतिशतमा पनि जीवनभर कुनै न कुनै अपाङ्गता हुन्छ । कान नसुन्ने, मुख बाङ्गो हुने, स्वाद नपाउने, बोल्न नसक्ने, गन्ध थाहा नहुने, स्मरण शक्ति कमजोर हुने जस्ता अपाङ्गता देखिने गरेको छ ।
चिकित्सकको अनुसार क्युलेक्स लामखुट्टेले साँझ, बिहान र दिउँसो समेत टोक्ने भएकोले यसको संक्रमण बढी हुन्छ । तर संक्रमित मध्येमा सबैमा कडा लक्षण देखिँदैन । कडा लक्षण देखिएकाहरुको अपाङ्गता र मृत्युको उच्च जोखिम हुने भएकाले लामखुट्टेको टोकाइवाट बच्नु नै उत्तम उपाय हुने चिकित्सक बताउँछन् ।
संक्रमणको स्थिति हेर्दा जापानिज इन्सेफ्लाइटिसको खोप लिएका १५ वर्षमुनिका बालबालिकाको तुलनामा माथिको उमेर समूहमा बढी देखिएकोले बालबालिकाभन्दा पाका उमेर समूह जोखिममा छन् ।
त्यसैगरी खोप लिन छुटेका बालबालिका पनि जापानिज इन्सेफ्लाइटिस संक्रमणको उच्च जोखिममा छन् । यो रोगको जोखिम कात्तिकसम्म रहने भएकोले यो लामखुट्टेको टोकाइबाट बच्न र यसको बासस्थान नष्ट गर्ने एक मात्र उपाय हो ।
प्रकाशित: ११ भाद्र २०८२ १७:५२ बुधबार





