६ वैशाख २०८१ बिहीबार
स्वास्थ्य

एमबीबीएस पढ्न मुख्यमन्त्रीको सहयोग

जनकपुरधाम– प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले तीन जना दलित विद्यार्थीलाई एमबीबीएस पढ्न आर्थिक सहयोग गरेका छन्। आर्थिक समस्याको कारण पढाइ प्रभावित भएका ती विद्यार्थीलाई प्रदेश सरकारको तर्फबाट जनही साढे तीन लाखको दरले आर्थिक सहयोग गरिएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ। 

छात्रवृतिमा नाम निकालेर वीरगंजस्थित नेश्नल मेडिकल कलेजमा अध्ययनरत सप्तरी, छिन्नमस्ता गाउँपालिका –२ का दिनेश मरिक डोम, सर्लाही, ईश्वरपुर नगरपालिका १ बस्ने रुकेशकुमार राम र प्रमोदकुमार रामलाई मंगलबार मधेश भवनस्थित आफ्नै कार्यालयमा बोलाएर मुख्यमन्त्री राउतले उनीहरुलाई चेक हस्तान्तरण गरेका हुन्। दिनेश मरिक डोम समुदायबाटै एमबीबीएस पढ्ने प्रथम छात्र हुन्। रुकेश र प्रमोद दाजुभाई छन्। परिवारको आर्थिक अवस्था कमजोर भएकै कारण कलेजको शुल्क तिर्न असमर्थ भइरहेका उनीहरुको तर्फबाट प्रदेश सरकारले कलेजकै नाउँमा एकमुष्ठ साढे १० लाख रुपैयाँ बराबरको चेक उपलब्ध गराइदिएको हो। 

यसैबीच आर्थिक अभावको कारण आवश्यक उपचार गर्न नसकेर अपाङ्गताको सिकार भएका महोत्तरी, पिपरा निवासी शम्भु मिश्रलाई प्रदेश सरकारले ५० हजार रुपैयाँ आर्थिक सहयोग गरेको छ। प्रदेश सरकारका सामाजिक विकास मन्त्री नवलकिशोर साह, मुख्यन्यायधिवक्ता दिपेन्द्र झा तथा मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव हरि फुयाँलको उपस्थितिबीच मुख्यमन्त्री राउतले उनीहरुलाई चेक हस्तान्तरण गरेका हुन्।   

प्रकाशित: २५ मंसिर २०७५ १२:२१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App