१३ चैत्र २०८२ शुक्रबार
image/svg+xml
स्वास्थ्य

एकै व्यक्तिमा दुईपटक मिर्गौला प्रत्यारोपण

दीपक दाहाल, काठमाडौं, भदौ २- नेपालमा पहिलोपल्ट एकै व्यक्तिमा मिर्गौलाको दोस्रोपटक प्रत्यारोपण गरिएको छ। अर्घाखाँची अर्घा गाविसका ४७ वर्षे धर्मराज पौडेलमा उनकी पत्नीको बायाँ मिर्गौला आइतबार वीर अस्पतालमा प्रत्यारोपण भएको हो।  एन्टी थाइमोसाइड ग्लोब्युलिन (एटिजी) नामक महँगो र जोखिमपूर्ण प्रविधि प्रयोग गरेर दोस्रोपटक प्रत्यारोपण सम्भव भएको हो। एकपटक प्रत्यारोपण गर्दै शरीरमा रोगसँग लड्ने कोष (एन्टिबडी) चाहिनेभन्दा बढी उत्पादन हुने भएकाले दोस्रोपटक मिर्गौला तत्काल नष्ट हुन सक्ने चिकित्सकको भनाइ छ।


त्यसलाई रोक्ने एटिजीको प्रयोगले सबै कोष मारिदिएर ज्यानै जाने सम्भावना पनि हुन्छ। उच्च रक्तचापको पुरानो समस्याका कारण पौडेलमा एन्टिबडीको मात्रा बढी थियो।


पौडेलमा दुई वर्षअघि भारतको चन्डीगढमा प्रत्यारोपण गरेको मिर्गौलाले क्रमिक रूपले काम गर्न छाड्दै एक वर्षअघि पूरै ड्यामेज भएको थियो। 'ज्यानको आसै मारेको थिएँ,' शरीरमा दोस्रोपटक मिर्गौला प्रत्यारोपण गरेको दुई दिनपछि मंगलबार पौडेलले वीर अस्पतालकै शैयामा नागरिकसँग भने।


केही मिर्गौला रोग विशेषज्ञले नेपालमा सम्भव नहुने भन्दै भारत जान सुझाव दिए पनि खर्च अभावले सम्भव नभएको उनले बताए। 'दुई वर्षअघि प्रत्यारोपण गर्दा १६ लाख लागेको थियो, त्यसपछि पनि मासिक २५ हजारको औषधी खाँदै आएको थिएँ,' उनले भने, 'वीर अस्पतालमै हुनसक्छ भन्ने सुनेपछि श्रीमती र छोराहरूले जसरी पनि गर्नुपर्छ भने, मेरो आत्मबल पनि बढ्यो।' पौडेल राष्ट्रिय वाणिज्य बैंकका खरिदार हुन्।


बेलायतमा लामो समय काम गरेर आएका वीरका प्रत्यारोपण विशेषज्ञ ४६ वर्षीय डा.पुकारचन्द्र श्रेष्ठसँग भेटेरै कुरा गरेपछि आफू जोखिम लिन तयार भएको पौडेलले बताए। 'यसै मर्ने अवस्था थियो, जे पर्ला भनेर आँट आयो,' उनले भने। एक सातामा पौडेल स्वस्थ भएर घर फर्कनेछन्।


'शरीरमा एन्टिबडी अत्यधिक हुँदा नयाँ अंग हाल्दा पूर्ण नष्ट हुनसक्छ,' श्रेष्ठले भने, 'त्यस्तो अवस्थामा शरीरमा एन्टिबडी उत्पादन प्रक्रिया रोक्नुपर्छ।'


एन्टिबडी उत्पादन रोक्दा अलिकति तलमाथि भए ज्यानै जाने हुँदा विशेषज्ञबाहेक अरूले हत्तपत्त आँट गर्दैनन्। यस्तो प्रविधि अपनाउँदा लामो समयसम्म सबै खालका संक्रमणबाट जोगाउन सावधानी अपनाउनुपर्ने श्रेष्ठले बताए।


उनका अनुसार शरीरले एन्डिबडी सन्तुलित रूपमा उत्पादन गर्न थालेपछि एटिजीको मात्रा घटाउँदै लगिन्छ। वीरमा सामान्य प्रत्यारोपण साढे ३ लाख लाग्छ भने एटिजी प्रयोग गर्दा ५ लाख।


एटिजी प्रयोग गरेर असारयता वीरमा चारवटा प्रत्यारोपण भएका छन्। पहिलोपल्ट मिर्गौला प्रत्यारोपण गरेका प्युठानका धु्रव बस्नेत र काभ्रेकी लक्ष्मी सापकोटाको शरीरमा पनि एन्टिबडीको मात्रा अत्यधिक थियो। पाँचथरका सन्तोष राईमा प्रत्यारोपण गरेपछि गम्भीर खालको 'रिजेक्सन' गरेकाले क्षतिबाट मिर्गौला बचाउन यस्तो प्रविधि प्रयोग गरिएको श्रेष्ठले बताए।


'एन्टिबडी लेबल जाँच गर्दै औषधीको मात्रा घटबढ गरिरहनु पर्छ,' श्रेष्ठले भने, 'यो निकै टि्रकी र संवेदनशील काम हो, विशेष अनुभव सीप र दक्षता चाहिन्छ।' बेलायत न्यू क्यासलस्थित फ्रिम्यान हस्पिटलमा ६ वर्ष प्रत्यारोपण गरेर फर्किएका श्रेष्ठले त्यहाँ एकैजनामा पाँचपटकसम्म प्रत्यारोपण गरेको बताए।


चिकित्सकहरूका अनुसार उच्च रक्तचाप, धेरैपटक गर्भवती भएका र धेरैपटक रगत लिएका मानिसमा एन्टिबडीको मात्रा बढी हुन्छ।


श्रेष्ठले अस्पतालको टिम प्रत्यारोपणका लागि सक्षम भए पनि छुट्टै कक्ष अभावमा साप्ताहिक एउटामात्रै गर्न सकिएको बताए। 'छुट्टै कक्ष भए दैनिक एउटा प्रत्यारोपण गर्न सकिन्छ,' उनले भने। वीरमा हाल न्युरोलोजीको कक्षमा प्रत्येक आइतबारमात्रै प्रत्यारोपण गरिन्छ। न्युरोको आकस्मिक शल्यक्रिया भए निर्धारित प्रत्यारोपण पनि रोकिन्छ।

प्रकाशित: १ भाद्र २०६७ १६:५७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App