जुम्लाको सिंजा गाउँपालिकाले विद्यालयको पहुँमा पुग्न नसकेका अपाङ्गता भएका बालबालिकाको अध्ययनका लागि बालगृह सञ्चालनमा ल्याएको छ।
आर्थिक अभावले पढ्न नपाएका तथा आमा वा बुबा नभएका बालबालिकालाई अध्ययन गर्नका लागि गाउँपालिकाको आर्थिक सहयोगमा बालगृह तथा स्याहार केन्द्र सुरु गरेको हो। सिंजा गाउँपालिका ३ मा अवस्थित फुटासिल आधारभूत विद्यालयमा अध्ययन, अध्यापन गराउने उद्देश्य गाउँपालिकाको रहेको छ।
उक्त गाउँपालिकाले स्थानीय संस्था अपाङ्गता सशक्तीकरण केन्द्रलाई बालगृहको व्यवस्थापनको जिम्मा दिइएको छ। बालगृहको उद्घाटन गाउँपालिका अध्यक्ष पूर्णप्रसाद धिताल र उपाध्यक्ष सितली रोकायाले गरेका थिए। गाउँपालिकाले पहिलो चरणमा घरमा आर्थिक अवस्था कमजोर भएका शारीरिक अपांगता भएका बालबालिका र आमा वा बुबा नभएका १५ जना विपन्न बालबालिका बालगृहमा भर्ना भइ आवासीय सुविधा लिइ विद्यालयमा अध्ययन सुरु गरेका छन्।
गाउँपालिका अध्यक्ष धितालले घरमा अध्ययन गर्नै कठिन हुने ति बालबालिकाका लागि आवास सुविधासहितको गृह संचालनमा ल्याइएको बताए। उनले भने, 'यो काम सामाजिक क्षेत्रको उत्कृष्ट काम भएकाले बालबालिकाहरूको आवासीय सुविधासहित अध्ययन हुने भएको छ। गाउँपालिकाले ति बालबालिकालाई हाई स्कुल शिक्षासम्म आवास सुविधा दिन सक्नेछ।'
उनीहरूलाई अध्ययनका लागि भने आवासगृह नजिक भएको फुटासिल आधारभूत विद्यालय हुनेछ। विद्यालय बाहिर रहेका, अध्ययन गर्न नपाएका बालबालिकाहरू यो आवासीय गृहमा आई अध्ययनमा सजिलो हुने देखिन्छ। तर, यस कार्यका लागि स्थानीय सरकार र सरोकारवालाको प्राथमिकता हुन आवश्यक छ।
राष्ट्रिय अपाङ्ग महासंघ नेपालका केन्द्रीय सदस्य रामकृष्ण न्यौपानेले अपाङ्गता भएका बालबालिकाको शिक्षामा ग्यारेन्टी गर्ने उद्देश्यका साथ यो बालगृह निकै महत्वपूर्ण रहेको बताए। उनले यो गाउँपालिकाको स्वागतयोग्य कार्य भएको बताए।
यस्तै जुम्लाको हिमा गाउँपालिकाले यो भन्दा पहिला हिमा आवासीय विद्यालय सञ्चालनमा ल्याएको छ। त्यहाँ झण्डै ५० जनाभन्दा बढी बालबालिकाहरू आवासीय सुविधा लिइ विद्यालय अध्ययन गरिरहेका छन्।
प्रकाशित: २० असार २०८२ १९:२९ शुक्रबार