चिकित्सकीय कारवाहीको लागि प्रभावित हुने ऐन बाझिँदा चिकित्सकहरु मर्कामा परेको भन्दै नेपाल चिकित्सक संघ आन्दोलित बनेको छ । विरोध स्वरुप उनीहरुले मंगलबार पनि कालोपट्टि बाँधेर काम गरे । सोमबार सुरु विरोध बुधवारसम्म जारी रहने र संबोधन नभए विरोधका थप कार्यक्रमसहित सशक्त ढंगले संघर्षमा उत्रने संघको चेतावनी छ ।
‘उचित व्यवस्थापन नभएसम्म हामीले कालो पट्टि बाँध्ने र अन्य विरोधका कार्यक्रम जारी राख्नेछौ’ नेपाल चिकित्सक संघका महासचिव ड.सञ्जिव तिवारीले भने ।
नेपालको अपराध संहिता, चिकित्सकहरुको अर्धन्यायिक निकाय नेपाल मेडिकल काउन्सिलमा व्यवस्था भएका चिकित्सकीय त्रुटि या लापरवाहीमा प्रयोग हुने प्रक्रिया र कानुनी व्यवस्था आपसमा बाझिएको संघले जनाएको छ ।
गत बिहीबार उपभोक्ता अदालतको फैसला सुने बित्तिकै नेपाल चिकित्सक संघले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर समस्या बारे जानकारी गराएको थियो । तर माग सम्बोधनमा खासै चासो नदेखाएपछि विरोधमा उत्रनु परेको महासचिव तिवारीका भनाइ छ । महासंघले मंगलवार सरोकारवालासँग पनि छलफल गरेको छ ।
यी बाझिएका कानुन संशोधन गरी मूलुकी ऐन अपराध संहिता २०७४ बमोजिम र नेपाल मेडिकल काउन्सिलको ऐन अनुसार चिकित्सक उपरको छानविन हुनु पर्ने संघको माग छ । उल्लेखित ऐनमा चिकित्सकले त्रुटि गरेमा या लापरवाही गरेमा गर्ने सजायको प्रक्रिया र व्यवस्था अनुसार आगामी व्यवस्था हुने गरी तत्काल सम्बोधन गर्न संघको माग छ ।
प्रकाशित: १७ असार २०८२ १९:३४ मंगलबार





