जुम्लाको सिंजा गाउँपालिकालाई पोषणमैत्री स्वास्थ्य संस्था गाउँपालिका घोषणा गरिएको छ। जुम्लाको एक नगरपालिका र सात गाउँपालिका मध्ये पहिलो पटक पोषणमैत्री स्वास्थ्य संस्था गाउँपालिका घोषणा गरिएको हो।
यसअघि गाउँपालिका अन्तर्गतका स्वास्थ्य संस्थाहरू पोषणमैत्री घोषणा भइसकेका छन्। सोमबार संघीय सांसद विनिता कठायतले पोषणमैत्री स्वास्थ्य संस्था गाउँपालिका घोषणा गरेकी थिइन्। सांसद कठायतले पोषणमैत्री स्वास्थ्य संस्था जिल्लाको पहिलो गाउँपालिका घोषणा गर्न सफल भएकाले स्वास्थ्यकर्मी सबैलाई धन्यवाद दिइन्।
यस्तै उनले गाउँपालिका भित्रका सबै विद्यालय दिवा खाजामा स्थानीय परिकार खुवाउने व्यवस्था गर्न अपिल गरिन्। आयतित जंगफुड, चाउचाउ, बिस्कुट जस्ता पाकेटका खाना बालबालिकालाई नखुवाउन सुझाव दिइन्।
यस्तै गाउँपालिका अध्यक्ष पुर्णप्रसाद धितालले गाउँपालिकाका सबै स्वास्थ्य संस्थाहरूमा आवश्यक सूचक तथा मापदणडहरू पूरा भएकाले पोषणमैत्री स्वास्थ्य संस्था गाउँपालिका घोषणा गरिएको बताए। घोषणाको तयारी पूर्व गर्नु पर्ने सूचकहरू पोषणमैत्री स्वास्थ्य संस्थाहरूका लागि आवश्यक सूचकहरूको प्रमाणीकरण, गाउँकार्यपालिकाबाट पोषणको क्षेत्रमा लगानी गर्ने प्रतिबद्धता, अनुगमन, समीक्षा र मूल्याङ्कनको काम पूरा भएको बताए।
यता गाउँपालिका उपाध्यक्ष सितली रोकायाले पोषण मानव जीवनसँग जोडिएको महत्वपूर्ण विषय भएको बताइन्। उनले यो अभियानमा लाग्ने सबै स्वास्थ्यकर्मी र साझेदार निकायप्रति खुसी व्यक्त गरिन्। गर्भवती महिलाले विभिन्न समयमा जाँच गर्ने, आइरन चक्की र फोलिक एसिड चक्की खाएको प्रतिशत, स्वास्थ्य संस्थामा सुत्केरी गराएको प्रतिशत, स्वास्थ्य संस्थामा जन्म भएका बालबालिका, जन्मेको एक घण्टामा स्तनपान सुरुवात गर्ने शिशु, भिटामिन ए क्यास्सुल, नियमित बृद्धि अनुगमन लगायतका विभिन्न सूचक पूरा भएपछि पोषणमैत्री स्वास्थ्य संस्था घोषणा गरिएको छ।
गाउँपालिका स्वास्थ्य संयोजक ललितबहादुर रोकायाका अनुसार यस अगाडि सिंजा गाउँपालिका-३ को नराकोट स्वास्थ्यचौकी, वडा नम्बर-१ को धापा स्वास्थ्य चौकी, वडा ५ स्थिति शनिगाँऊस्थित स्वास्थ्य चौकी पोषणमैत्री स्वास्थ्यचौकी घोषणा गरिएका थिए। यस्तै आधारभूत स्वास्थ्य केन्द्र वडा-२ को बिष्टबाडा, आधारभूत स्वास्थ्य केन्द्र वडा नम्बर ४ को देविडाडा, आधारभूत स्वास्थ्य केन्द वडा नम्बर ६ को दाँतको आधारभूत सूचक तयार गरी पोषणमैत्री स्वास्थ्य संस्था घोषणा भएका थिए। तोकिएका १६ वटा सूचकहरूलाई पूरा भइसकेका छन्।
दिगो विकास लक्ष्यअनुसार सन् २०३० सम्म नेपालमा सबै प्रकारका कुपोषण अन्त्य गरी पोषणमैत्री मुलुक घोषणा गर्ने संकल्प छ। घरमा हुने सुत्केरी दरलाई शून्यमा झार्ने र पूर्ण सरसफाइ युक्त वडा तथा वडापालिका घोषणाको तयारी छ।
दिगो विकास र समृद्धिका लागि प्लान इन्टरनेश्नल नेपाल र पेस नेपालले गरेको योगदान तथा सहयोग समन्वय प्रसंशायोग्य देखिएको उनले बताए। घोषणा समारोहलाई सन्देशमूलक बनाउनका लागि कार्यक्रम स्थलको बाहिर स्वास्थ्य संस्थाहरूको पोषण प्रदर्शनी स्टल राखिएको थियो। भने कार्यक्रमको बिचबिचमा पोषण सम्बन्धी सन्देशमूलक गीत तथा नृत्यहरू प्रस्तुत गरिएको थियो।
कार्यक्रममा महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका, स्वास्थ्यकर्मीहरू विभिन्न क्षेत्रबाट सहयोग गर्नेहरूलाई सम्मान गरिएको थियो।
प्रकाशित: १० असार २०८२ १०:४६ मंगलबार





