आफ्ना पेशागत मागहरूप्रति स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय उदासीन बनेको भन्दै सरकारी रेडियोग्राफी संघले सडक आन्दोलनको घोषणा गरेको छ।
संघले मंगलबार काठमाडौंको माइतीघर मण्डलामा विरोध प्रदर्शन गर्ने निर्णय गरेको हो। संघका अध्यक्ष दामोदर रोक्काले मन्त्रालयको निरन्तर बेवास्ता र अकर्मण्यताका कारण आफूहरू सडकमा उत्रन बाध्य भएको बताए।

देशभरका रेडियोग्राफर तथा रेडियोग्राफी टेक्नोलोजिस्टहरू गत बिहीबारदेखि कालोपट्टी बाँधेर काम गरिरहे पनि मन्त्रालयले संवादका लागि समेत चासो नदेखाएको उनको आरोप छ।
‘हामीले अनुशासित रूपमा विरोध गर्यौं, तर हाम्रो आवाज सुनिएन,’ अध्यक्ष रोक्काले भने, ‘अब सेवा नै रोकेर आन्दोलन गर्नुपर्ने दिशामा हामीलाई धकेलिँदैछ, यो अत्यन्त दुर्भाग्यपूर्ण हो।’

संघले प्रस्तावित संगठन तथा व्यवस्थापन (ओएनएम) सर्वेक्षणमा आफ्ना पेशागत मागहरूलाई समेटेर संशोधन गर्नुपर्ने मुख्य माग राखेको छ। नीति निर्माताहरूको संवेदनहीनताका कारण स्वास्थ्य प्रणालीमै गम्भीर असर पर्ने खतरा बढेको संघको ठहर छ।
‘यदि सरकारले अझै पनि सुनुवाइ गरेन भने आन्दोलन थप सशक्त हुनेछ र त्यसको सम्पूर्ण जिम्मेवारी स्वास्थ्य मन्त्रालयले लिनुपर्नेछ,’ रोक्काले चेतावनी दिए।

संघले मंगलबार दिउँसो १२ बजेदेखि १ बजेसम्म हुने प्रदर्शनमा देशभरका सरकारी रेडियोग्राफर, टेक्नोलोजिस्ट, विद्यार्थी तथा सरोकारवालाहरूलाई सहभागी हुन आह्वान गरेको छ।
प्रकाशित: ९ असार २०८२ १८:२५ सोमबार