१९ मंसिर २०८२ शुक्रबार
image/svg+xml
स्वास्थ्य

बालस्वास्थ्यका खातिर खुत्रुकेमा दैनिक एक कप चिया

काठमाडौं उपत्यकामा धेरै चिया पसल छन्। ती धेरै चिया पसलमध्ये फरक चिया पसलको नाम हो, आमा डेरी एन्ड बेकरी क्याफे। काठमाडौं महानगरपालिका–३२ पेप्सीकोला हिमताज मार्गस्थित यो सामान्य चिया पसलले ठुलो काम गरेर होइन, सानो कामले नै फरक परिचय बनाएको हो।

यो चियापसलले दैनिक एक कप चियाको रकम (३० रुपैयाँ) असहाय र विपन्न बालबालिकाको निःशुल्क स्वास्थ्य उपचारका लागि सहयोग रकम जम्मा गरेर फरक पहिचान बनाएको हो।

क्याफे सञ्चालिका सकिला कार्की थोपाथोपा मिलेर समुद्र बन्छ भन्ने हिसाबले आफूले सकेको सानो सहयोगको अभियान चलाएको बताउँछिन्। उनका अनुसार यसका लागि एक दिनमा ३० रुपैयाँ चियापसलमा राखेको माटोको खुत्रुकेमा खसालिन्छ। यसका लागि उनले पसलमै ठुलो एउटा माटोको खुत्रुके राखेकी छन्। त्यसमा उनले मार्करले बाल स्वास्थ्यका लागि सहयोगलगायत व्यहोरा लेखेकी छन्। त्यसको अर्थ उनी चियापसलमा आएका ग्राहकलाई सहयोग रकम राख्न लगाउँदैनन्। बरु आफैं नियमित रूपमा दैनिक एक कप चिया बराबरको पैसा खुत्रुकेमा खसाल्छिन्।

‘सहयोग सानो होस् या ठुलो, सफा मन र दिलले दिएको जति भए पनि ठुलो हुन्छ होला जस्तो लाग्छ,’ उनले नागरिकसँग भनिन्, ‘सहयोगीको मन कस्तो रहेछ भन्नेमा फरक हुन्छ। कुनै सहयोग यस्तो हुन्छ, अंक सुन्दा थोरै लाग्छ तर भावनात्मक रूपमा त्यसले ठुलो अर्थ राख्छ।’

 पसल खोलेको चार महिनापछिबाट यो अभियान थालेको कार्की सम्झिन्छिन्। पहिलो पटक आफूले एक कप चियाको पैसा बराबर एक वर्षसम्म जम्मा भएको पैसा बाल अस्पताललाई छुट्याएर हस्तान्तरण गरिसकेको उनले सुनाइन्।

उनले डा. भगवान् कोइरालाको नेतृत्वमा निर्माण भइरहेको काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थ अस्पताललाई दैनिक एक कप चियाको पैसा जम्मा गरेर हस्तान्तरण गरेको सुनाइन्।

‘पहिला एक कप चियाको २५ रुपैयाँ लिन्थें । त्यस हिसाबले एक वर्षमा नौ हजार एक सय २५ रुपैयाँ जम्मा भयो,’ क्यालकुलेटरमा हिसाब देखाउँंदै उनले भनिन्, ‘चानचुन हुने गरी नगरौं भनेपछि मैले त्यसमा आठ सय ७५ रुपैयाँ थप गरेर १० हजार पुर्‍याएर सहयोग रकम हस्तान्तरण गरें।’

क्याफे सञ्चालिका कार्कीले काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थ अस्पतालका सञ्चालक डा. कोइरालालाई हालसम्म संकलित १० हजार रुपैयाँ सहयोग हस्तान्तरण गरेको सुनाइन्। ‘ठुल्ठुला बिजनेस हाउसले सामाजिक उत्तरदायित्वअन्तर्गतको रकम सामाजिक क्षेत्रमा खर्च गर्ने प्रवृत्ति रहे पनि ससाना व्यवसायमा यो खाले चलन छैन,’ कार्कीले भनिन्, ‘हामीले सानै रकम भए पनि सामाजिक उत्तरदायित्वका लागि छुट्याएर केही गर्न सकिन्छ भन्ने सन्देश दिन खोजेका हौं।’

क्याफेमा दैनिक बिक्री हुने चियामध्ये एक कपको पैसा जम्मा गरिराखिएको र सोही रकम अस्पताल निर्माणमा हस्तान्तरण गरिएको उनको भनाइ छ।

‘ससानो सहयोगबाटै ठुलो रकम जम्मा हुने भएकाले हरेक चिया पसलले दिनको एक कप चियाको रकम मात्र छुट्याउँदा पनि ठुलो हुन्छ भन्ने सन्देश दिन खोजिएको हो,’ सञ्चालिका कार्कीले भनिन्, ‘यसले डा. कोइरालाको अभियानमा ठुलो सहयोग पुग्न सक्छ।’

पछिल्लो समय चिया पसल सञ्चालनको लहर चलिरहेका बेला बाल अस्पताल निर्माणका लागि अभियान चलाउन सकिए २० हजार चिया पसलले दिनको एक कप चिया (३० रुपैयाँ) मात्र छुट्याउँदा पनि एक वर्षमा दुई अर्ब बढी संकलन हुने हिसाब उनले निकालिन्। ‘त्यसैले बाल अस्पताल निर्माणका लागि हरेक चिया पसलले दिनको एक कप चियाको रकम दिने वातावरण मात्र मिलाउन सके अरू कहीँबाट उठाउनैपर्दैन। डा. कोइरालाको अभियानको नेतृत्व गर्न म तयार छु,’ सञ्चालिका कार्कीले भनिन्।

अस्पताल निर्माण सम्पन्न नभएसम्म आमा डेरी एण्ड क्याफेले नियमित रूपमा सहयोग गर्ने उनको भनाइ छ। त्यसका लागि डा. कोइराला आफैंले पनि एक कप चियाको ३० रुपैयाँ जम्मा गरिसकेको उनले सुनाइन्। आफूले जस्तो अभियान अरूले पनि गरुन् भन्ने इच्छा उनको छ तर उनी अनिवार्य गर्न दबाब भने दिन्नन्। साथै भगवान् कोइरालालाई नै दिनुपर्छ भन्ने नभई कुनै अन्य सामाजिक कार्यमा पनि खर्च गर्न सकिने सम्भावना उनी औल्याउँछिन्। समाज कल्याण परिषदन्तर्गतको राष्ट्रिय ज्येष्ठ नागरिक कोष भृकुटीमण्डप काठमाडौंका पूर्वप्रमुख उनका पिता वसन्तराज कार्की छोरीको सामाजिक भावनाप्रति मक्ख छन्। भन्छन्, ‘यस्ती छोरी पाएकोमा गर्वको महसुस गर्छु।’

प्रकाशित: ८ असार २०८२ ०९:४६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App