२६ असार २०८२ बिहीबार
image/svg+xml
स्वास्थ्य

सिकिस्त क्यान्सर बिरामीलाई घरमै हेरचाह

वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानले क्यान्सरका सिकिस्त बिरामीका लागि घरमै पुगेर हेरचाह तथा उपचार सेवा (होम प्यालिएटिभ केयर) सुरु गरेको छ।

काठमाडौं उपत्यका बाहिर पहिलोपटक सुरु गरिएको यो सेवाले अस्पताल आउन नसक्ने र अन्तिम अवस्थामा पीडादायी जीवन बिताइरहेका बिरामीहरूलाई ठूलो राहत मिल्ने अपेक्षा गरिएको छ।

प्रतिष्ठानका स्वास्थ्यकर्मीहरूको टोलीले बिरामीको घरमै पुगेर आवश्यक नियमित तथा आकस्मिक उपचार सेवा प्रदान गर्नेछ।

प्रतिष्ठानका सह-प्रवक्ता डा. अभिजीत कुमारका अनुसार, क्यान्सरका कारण कमजोर भएर घरमै थलिएका र दुखाइले छटपटाइरहेका बिरामी तथा उनीहरूका आफन्तको कठिन परिस्थितिलाई सहज बनाउन यो सेवा थालिएको हो।

सेवा लिन चाहने बिरामी वा आफन्तले प्रतिष्ठानको इन्टरनल मेडिसिन विभागअन्तर्गतको ओन्कोलोजी विभागमा समन्वय गर्न सक्नेछन्।

प्रतिष्ठानले प्रतिभिजिट शुल्क १,५०० रुपैयाँ निर्धारण गरेको छ भने विपन्न बिरामीले यो सेवा निःशुल्क पाउनेछन्। प्रारम्भिक चरणमा यो सेवा धरान उपमहानगरपालिकाभित्र मात्र उपलब्ध हुने प्रतिष्ठानले जनाएको छ।

मोबाइलबाटै ओपीडी टिकट, विद्यार्थीका लागि कल्याण इकाइ

बिरामी सेवालाई थप सहज बनाउन प्रतिष्ठानले मोबाइल एपमार्फत ओपीडी टिकट काट्न र ल्याब रिपोर्ट हेर्न सकिने सुविधासहितको नयाँ संस्करण पनि सार्वजनिक गरेको छ।

सेवाग्राहीले अब घरबाटै टिकट दर्ता गरी टोकन नम्बर लिन सक्नेछन्। यसले अस्पतालमा लाग्ने लामो लाइनको झन्झट कम गर्नेछ।

यसैगरी, प्रतिष्ठानले आफ्ना विद्यार्थीहरूको शारीरिक तथा मानसिक स्वास्थ्यलाई ध्यानमा राख्दै ‘शारीरिक तथा मानसिक स्वास्थ्य कल्याण एकाइ’ समेत गठन गरेको छ।

निमित्त उपकुलपति प्रा.डा. सञ्जीव कुमार शर्माको पहलमा मानसिक रोग विभागकी एडिसनल प्रोफेसर डा. रिंकुकुमारी गौतमको अध्यक्षतामा गठित यो एकाइले विद्यार्थीका लागि खेलकुद, व्यायामशाला, योगा तथा ध्यान केन्द्रका साथै सहज मानसिक स्वास्थ्य परामर्श सेवा पनि उपलब्ध गराउनेछ।

प्रकाशित: ६ असार २०८२ २०:१७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App