जुम्लाको सिंजा गाउँपालिकाका स्वास्थ्य संस्था पोषणमैत्री वडा घोषणा भएका छन्। सिंजा गाउँपालिका, वडापालिका र स्वास्थ्य शाखाको पहलमा एकै दिन ६ वटा स्वास्थ्य संस्थालाई पोषणमैत्री स्वास्थ्य संस्था घोषणा गरिएको हो।
सिंजा गाउँपालिका स्वास्थ्य संयोजक ललितबहादुर रोकायाका अनुसार पोषणका आधारभूत सूचक अनुसार काम भएपछि पोषणमैत्री संस्था घोषणा भएका छन्। उनका अनुसार सिंजा गाउँपालिका-३ को नराकोट स्वास्थ्यचौकी, १ को धापा स्वास्थ्य चौकी, वडा ५ स्थिति शनिगाउँस्थित स्वास्थ्य चौकी पोषणमैत्री स्वास्थ्यचौकी घोषणा गरिएका हुन्।
यसैगरी आधारभूत स्वास्थ्य केन्द्र वडा नम्बर २ को बिष्टबाडा, आधारभूत स्वास्थ्य केन्द्र वडा नम्बर ४ को देविडाडा, आधारभूत स्वास्थ्य केन्द्र वडा नम्बर ६ को दातमा समेत पोषणमैत्री स्वास्थ्य संस्था घोषणा गरिएका हुन्। गाउँपालिका अध्यक्ष पूर्णप्रसाद धिताल, उपाध्यक्ष सितली रोकाया, प्रमुख प्रशासकीय अधिकृत टेकबहादुर शाही, वडाध्यक्ष, कार्यपालिका सदस्य, स्वास्थ्यकर्मी, साझेदार निकाय विभिन्न स्वास्थ्य चौकीमा सहभागी भई पोषणमैत्री स्वास्थ्य संस्था घोषणा भएका हुन्।
स्वास्थ्य संयोजक रोकायाले आधारभूत पोषणका सूचकहरूमा मिहिनेतका साथ काम भएको बताए। सबै संस्था घोषणा भएपछि ९ गते सिंजा गाउँपालिका नै पोषणमैत्री गाउँपालिका घोषणा गरिने कार्यक्रम तय भएको छ। यसका साथै पोषण प्रदर्शनी मेला समेत गरिने छ। यस अभियानमा साझेदार संस्था प्लान नेपाल र पेस नेपालले लामो समयदेखि स्वास्थ्य संस्थालाई सहयोग गरिरहेका छन्।
शनिगाउँ स्वास्थ्य केन्द्रमा गाउँपालिका अध्यक्ष पूर्णप्रसाद धितालले मानिसको पोषण मानव जीवनसँग जोडिएको महत्वपूर्ण विषय भएकाले गाउँपालिकाले पोषणमैत्री गाउँपालिकामा जोड दिएको बताउँदै यस अभियानमा लाग्ने सबै स्वास्थ्यकर्मी र साझेदार निकायलाई विशेष धन्यवाद दिए। स्वास्थ्यचौकीहरूका अनुसार गर्भवती महिलाले विभिन्न समयमा जाँच गर्ने, आईरन चक्की र फोलिक एसिड चक्की खाएको प्रतिशत, स्वास्थ्य संस्थामा सुत्केरी गराएको प्रतिशत, स्वास्थ्य संस्थामा जन्म भएका बालबालिका, जन्मेको एक घण्टामा स्तनपान सुरुवात गर्ने शिशु, भिटामिन ए क्याप्सुल, नियमित वृद्धि अनुगमन लगायतका विभिन्न सूचक पूरा भएपछि पोेषणमैत्री स्वास्थ्य संस्था घोषणा गरिएका छन्।
आठ स्थानीय तहमध्ये सिंजा गाउँपालिका स्वास्थ्य संस्था पोषणमैत्री घोषणा गर्ने पहिलो गाउँपालिका हो।
प्रकाशित: ५ असार २०८२ १२:०६ बिहीबार