नेपालमा विवाहित जोडीमध्येमा ७० प्रतिशतमा यौन दुर्बलता रहेको एक अध्ययनले देखाएको छ। सन् २०२४ मा सोलिड नेपाल (स्थानीय एकीकृत समाज नेपाल र परिवार कल्याण महाशाखा) र संयक्त राष्ट्रसंघीय विकास कोषको सहयोगमा भएको अध्ययनले यस्तो तथ्यांक प्रस्तुत गरेको हो।
राष्ट्रिय योजना आयोगका सदस्य आरपी बिच्छाको उपस्थितिमा सोमबार सार्वजनिक गरिएको अध्ययन प्रतिवेदनअनुसार विवाहित ३० वर्षमाथिका ७२ प्रतिशत पुरुष र ६७ प्रतिशत महिलामा यौन दुर्बलता पाइएको हो। तीन वटै भौगोलिक क्षेत्रका ३४ वटा जिल्लाका ३३ सय ८२ जोडीलाई नमुना बनाई अध्ययन गरिएको थियो। यौन दुर्बलता भएका ७२ प्रतिशत पुरुषमध्ये ५ प्रतिशतमा गम्भीर प्रकारको यौन दुर्बलता, ३२ प्रतिशतमा सामान्य प्रकारको र ८४ प्रतिशतमा सम्भोगबाट सन्तुष्टि गर्न नसक्ने खालको यौन दुर्बलता देखिएको छ।
त्यस्तै ९२ प्रतिशतले यौन चाहना नै नभएको पनि बताएको अध्ययनले देखाएको छ। यो स्थितिले पुरुषहरूको जीवन तनावपूर्ण रहेको र स्वास्थ्यमा कुनै न कुनै समस्या रहेको संकेत गरेको अध्ययनको निष्कर्ष छ। अध्ययनअनुसार यौन दुर्बलता भएका ६७ प्रतिशत महिलामध्ये ६६ प्रतिशतमा यौन सम्पर्कमा दुखाइ महसुस हुने, ९४ प्रतिशतमा यौन उत्तेजना नै नहुने र ८६ प्रतिशतमा यौनांग सुक्खा हुने समस्या देखिएको छ।
यौन चाहना भएर सम्बन्ध राखेकामध्ये पनि प्रत्येक चार जनामा तीन जनाले यौन सुख प्राप्त गर्न सकेका छैनन्। प्रत्येक पाँच महिलामध्ये तीन जना र चार जना पुरुषमध्ये तीन जनाले चरम सुख प्राप्त गर्न सक्दैनन्। यौन दुर्बलताले गर्दा जोडीमा झैझगडा भई घरेलु कलह बढ्दै जाने, त्यसले हिंसाको रूप लिने र अन्तत: सम्बन्ध विच्छेद हुने स्थितिसम्म पुग्छ।
बढी दुर्बलता मधेस र कर्णालीमा
सर्वेक्षणअनुसार सबैभन्दा बढी यौन दुर्बलता भएका जोडी मधेसमा ७३ प्रतिशत र कर्णालीमा ७१ प्रतिशत छन्। तथ्यांकले विकासमा पछि परेको ठाउँमा पनि यौन दुर्बलता बढी हुने गरेको देखिएको हो। अध्ययनकर्ता कार्कीका अनुसार यी ठाउँमा गरिबी र अविकासका कारण तनाव हुने हुनाले यौन दुर्बलता बढी देखिएको हो।
बालविवाह गरेका जोडीमा यौन दुर्बलता बढी
तथ्यांकअनुसार बालविवाह गरेका जोडीमा पनि यौन दुर्बलता बढी देखिएको छ। जसमा १८ वर्षभन्दा कम उमेरमा विवाह गरेका जोडीमा ६८ प्रतिशत र २५ वर्षपछि विवाह गरेका जोडीमा ६५ प्रतिशत यौन दुर्बलता भएको देखिएको छ। बालविवाहले महिला तथा पुरुषको यौन जीवनमा पनि प्रभाव परेको देखिएको अध्ययनले औंल्याएको हो। बालविवाहपछि छिटो बच्चा जन्माउँदा महिलाको यौनांगमा समस्या आउने, पाठेघर खस्ने जस्ता स्वास्थ्यको समस्या आउँछ नै। निर्णायक उमेरअघि नै बालबच्चा जन्मिसकेको अवस्थामा उनीहरूको व्यवस्थापन गर्न नसक्दा दम्पती तनावमा पर्न गई यौन दुर्बलता आउने अध्ययनका संयोजक डा. खेम कार्की बताउँछन्।
अस्वस्थ खाना पनि कारक
अस्वस्थ खाना खाने जोडीमा पनि यौन दुर्बलता बढी देखिएको अध्ययनले औंल्याएको छ। तथ्यांकअनुसार नियमित खानामा चार सय ग्राम सागसब्जी र फलफूल समावेश गरेका जोडीमा ६५ प्रतिशत र अस्वस्थकर खाना खानेमा ६८ प्रतिशतमा यौन दुर्बलता देखिएको छ। स्वस्थ खानाले शरीर तन्दुरुस्त रहने र मधुमेह, उच्च रक्तचाप, कोलस्ट्रोलजस्ता रोगहरू नियन्त्रणमा हुने र यस्ता जोडीमा यौन दुर्बलता कम हुने डा. कार्की बताउँछन्। ‘कम्तीमा दिनको चार सय ग्राम फलफूल र सागसब्जी खाएको हुनुपर्छ,’ उनी भन्छन्।
तनाव पनि कारण
उल्लिखित कारणबाहेक विवाहित जोडीमा यौन दुर्बलता हुनुको ९० प्रतिशत कारण तनाव रहेको डा. कार्की बताउँछन्। रोजगारीको अवसरको कमी, जीवनसँग असन्तुष्ट, पारिवारिक कलहजस्ता कारणले तनाव हुने र तनावका कारण यौन जीवनमा सक्रिय हुन नसक्ने उनी बताउँछन्। साथै बढ्दो नसर्ने रोगको प्रभाव पनि यौन जीवनमा परेको छ।
मानसिक तनाव, अस्वस्थ खाना, नसर्ने रोगहरूको वृद्धिजस्ता कारणले यौन दुर्बलतामा वृद्धि आएको अध्ययनले औंल्याएको छ। आपसी यौन दुर्बलताको कारण दाम्पत्य जीवनमा झैझगडा, सम्बन्ध विच्छेद, यौन हिंसा, घरेलु हिंसा तथा अन्य खालका हिंसात्मक क्रियाकलापसमेत हुने गरेको अध्ययनका संयोजक डा. कार्कीले बताए। यसका निमित्त स्वस्थ खाना र तनावरहित जीवनशैली अपनाउनुपर्ने चिकित्सकको सुझाव छ।
नेपालमा यौन दुर्बलताको उपचार गर्ने व्यवस्थित स्वास्थ्य प्रणालीको कमीले बिरामी गैर तथा गलत स्वास्थ्य संस्थामा पुग्ने गरेको अध्ययनले देखाएको छ। विज्ञापनको भरमा औषधी सेवन गर्ने गरेको पनि पाइएको छ। यौन जीवन मानिसको स्वास्थ्य प्रणालीभित्रै रहेको महत्वपूर्ण पक्ष भएकाले यसको सम्बोधन उसको स्वास्थ्य प्रणालीबाटै हुनुपर्ने अध्ययनको सुझाव छ। सरकारले एकीकृत प्रणालीभित्र यौन दुर्बलताको उपचार गर्ने गरी नीति निर्माण गर्नुपर्ने सुझाव पनि अध्ययनले दिएको छ।
प्रकाशित: ३ असार २०८२ ०७:२१ मंगलबार





