१ श्रावण २०८२ बिहीबार
image/svg+xml
स्वास्थ्य

रक्सी नपिउनेमा पनि कलेजोको समस्या

केही वर्षअघिसम्म रक्सी पिउनेलाई मात्र लिभरसिरोसिस (कलेजो बिग्रिने) रोग लाग्छ भनिन्थ्यो। तर पछिल्लो समय रक्सी नपिउनेहरूमा पनि यो रोग बढ्दै गएको पाइएको छ। यो रोगबाट केही वर्षभित्रै धेरै प्रभावित हुने आकलन कलेजो रोग विशेषज्ञहरूले गरेका छन्।

नेपाल मेडिसिटी अस्पतालका ग्यास्ट्रोजिस्ट डा. सुनिलकुमार शर्माले चीन, भारतजस्ता देशमा पहिल्यै रक्सी नपिउनेहरू (ननअल्कोहोलिक) मा यो रोग देखिएको र नेपालमा पनि अबको केही वर्षमै यसका बिरामी पर्याप्त देखिने बताए। ‘अबको पाँचदस वर्षमा नेपालमै उल्लेखनीय संख्यामा ननअल्कोहलिक लिभरसिरोसिस देखिनेछ,’ उनले भने।

वीर अस्पतालका निर्देशक तथा हेपाटोलोजिस्ट डा. दिलीप शर्माका अनुसार पछिल्लो समय अस्पतालमा मोटोपना, उच्च रक्तचापजस्ता रोग लिएर उपचारमा आउने बिरामीमध्ये २० प्रतिशतमा ननअल्कोहलिक फ्याटी लिभर (रक्सी सेवन नगर्नेमा कलेजोमा बोसो जम्ने समस्या ) देखिएको छ। यी बिरामीमध्येमा १ देखि २ प्रतिशतमा लिभरसिरोसिस (कलेजो बिग्रेको समस्या) देखिएको छ। डा. शर्मा भन्छन, ‘ननअल्कोहोलिक फ्याटी लिभर नेपालमा दिनहुँ बढ्दो संख्यामा देखिन्छ,’ उनले भने।

मेडिसिटी अस्पतालका हेपाटोलोजिस्ट डा. उमिद श्रेष्ठले आजको जीवनशैलीले फ्याटी लिभर बढाएको र बेवास्ताका कारण लिभरसिरोसिसको अवस्थामा पुग्ने बताए। विशेष गरी अत्यधिक मात्रामा मोटोपना, व्यायामको कमीले यस्तो रोग बढ्दै गएको उनले औंल्याए। ‘ननअल्कोहोलिक फ्याटी लिभर बढ्दै गएको छ। भविष्यमा उनीहरूको कलेजो बिग्रिन सक्र्छ,’ उनले भने।

डा. शर्माका अनुसार चीनमा गरिएको एक अध्ययनले रक्सी सेवन गर्नेबाहेक नगर्नेमा पनि लिभरसिरोसिस देखिएको छ। कारण अस्वस्थकर जीवनशैली हो। अत्यधिक चिल्लो खानेकुरा, आरामदायी जीवनशैली, व्यायामको कमी, पत्रुखाना (जंकफुड) को प्रयोगलगायत कारण नेपालमा रक्सी नपिए पनि लिभरसिरोसिस हुन थालेको चिकित्सक बताउँछन्।

नेपालमा अस्वस्थकर जीवनशैली बढ्दै जाँदा रक्सी सेवन नगर्नेमा पनि लिभरसिरोसिस समस्या देखिने डा. रामबाबु शाह बताउँछन्। उनका अनुसार विशेष गरी मोटोपना हुने, तौल बढी हुने, उच्च रक्तचापबाट ग्रसित, टाइप टु मधुमेह हुने, अस्वस्थकर खाना खाने, खाना खानेबित्तिकै सुत्ने, पत्रुखाना खाने, चिल्लो, गुलियो धेरै खाने व्यक्तिमा ननअल्कोहलिक फ्याटी लिभरको समस्या पाइएको छ।

फ्याटी लिभरको समयमै उपचार नगरे या हेरचाह नभए कलेजोमा फाइब्रोसिस हुने र यसको पनि समयमै उपचार नभए लिभरसिरोसिस हुन्छ। यस्तो अवस्थामा लिभरसिरोसिस मात्र नभएर लिभरको क्यान्सरसमेत हुन सक्ने डा. दिलीप शर्मा बताउँछन्।

चिकित्सकका अनुसार पेट दुख्नु, थकाइ लाग्नु, खाना खान मन नलाग्नु, पेटमा पानी भरिनु, मुखबाट रगत बग्नु, कालो दिसा हुनु, शरीर गल्दै जानु, बेहोस हुनुजस्ता सामान्यदेखि कडा लक्षण लिभरसिरोसिस हुँदा देखिन्छन्।

स्वस्थ जीवनशैली अपनाएर समयमै उपचार तथा हेरचाह गरे लिभरसिरोसिको जोखिमबाट बच्न सकिने चिकित्सक सुझाउँछन्। चिकित्सकका अनुसार नियमित व्यायाम गर्ने, स्वस्थ तथा सन्तुलित खाना खाने गरे लिभरसिसको जोखिमबाट बच्न सकिन्छ। साथै चिल्लो, गुलियो खाना नखाने, बढी कार्बोेहाइडेटजन्य खाना नखाने, खानामा सागपात तथा फलफूल समावेश गर्ने गरे कलेजोमा बोसो जम्नबाट बच्न सकिन्छ। बोसो नजमेको कलेजोले मात्र नियमित काम गर्न सक्छ र बिग्रिने जोखिम कम हुन्छ।

प्रकाशित: ३१ जेष्ठ २०८२ १३:५६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App