१४ चैत्र २०८२ शनिबार
image/svg+xml
स्वास्थ्य

जानकी गाउँपालिकाले सिकलसेल बिरामीको निःशुल्क बिमा गर्ने

कैलालीको जानकी गाउँपालिकाले सिकलसेल बिरामीका घरपरिवारको निःशुल्क स्वास्थ्य बिमा गरिदिने भएको छ । गाउँपालिकाले सार्वजनिक सूचना जारी गरी सिकलसेल रोग भएका व्यक्तिहरुलाई निवेदन पेश गर्न माग गरेको छ । 

सार्वजनिक सूचना अनुसार यही जेठ १८ गते भित्र निवेदन पेश गर्न भनिएको छ । निःशुल्क स्वास्थ्य बिमाका लागि गाउँपालिकामा स्थायी बसोबास हुनुपर्ने बताइएको छ ।

गाउँपालिकाले यसका साथै प्रमाण खुल्ने कागजात वा रोग प्रमाणित भएको प्रयोगशाला रिपोर्ट, वडा कार्यालयको सिफारिस, चिकित्सकको प्रमाणित कागजात र नागरिकता, राष्ट्रिय परिचय पत्र, जन्मदर्ता समेत निवेदन साथ संलग्न हुनुपर्ने सूचनामा उल्लेख गरेको छ ।

गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत आशिष चौधरीले एक जनाको बिमाले थप चार जनाको एक वर्षमा एक लाख रुपैयाँ बराबरको उपचार गर्न मिल्ने बताए । उनले स्वास्थ्य बिमा गरे बापत लाग्ने रकम सिकलसेल बिरामीका हकमा गाउँपालिकाले भुक्तानी गरिदिने जानकारी दिए ।

सो सूचनामा सबै वडा कार्यालयहरूलाई सिफारिस गरिदिन र स्वास्थ्य संस्थाहरूलाई समन्वयका लागि पहल गरिदिन भनिएको छ ।

गाउँपालिकामा २६ जना सिकलसेल रोगका बिरामी छन् । यो संख्या बढ्न सक्ने गाउँपालिका स्वास्थ्य शाखा प्रमुख जीतबहादुर चौधरीले जानकारी दिए । उनले स्वास्थ्य बिमा सहयोगी मार्फत थप बिरामीको पहिचानको पहल भइरहेको बताए । 

सिकलसेल अहिलेसम्म थारु समुदायका व्यक्तिहरूमा मात्रै देखिएको रोग हो । यो पश्चिम नेपालका कैलाली र कञ्चनपुरका धेरै व्यक्तिमा देखिएको छ । सरकारले सिकलसेल रोग भएका बिरामीहरूको लागि उपचार सुविधा प्रदान गर्दै आएको छ । बिरामीहरू सरकारले प्रदान गर्दै आएको सुविधा पर्याप्त नभएको गुनासो गर्दै आएका छन् ।

प्रकाशित: ७ जेष्ठ २०८२ ११:३२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App