१३ चैत्र २०८२ शुक्रबार
image/svg+xml
स्वास्थ्य

विवाहमा २० वर्षे उमेर हदको विकल्प नखोज्न आग्रह

पछिल्लो समय विवाह गर्ने उमेरको हद घटाउने विषयमा चर्चा चलेको छ। तर जनस्वास्थ्यविद् भने सानो उमेरको विवाहले महिला स्वास्थ्यमा गम्भीर समस्या निम्तिने भन्दै कुनै पनि हालतमा विवाहको उमेर घटाउन नहुने सुझाउँछन्। पछिल्लो समय संसद्को कानुन तथा मानव अधिकार समितिले विवाहको उमेर घटाउने विषयमा छलफल गरेका थिए।

यसका लागि उनीहरूले तीनवटा प्रदेशमा छलफल गरी विवाहको उमेर घटाउने, कम उमेरमा मिलेमतोमा विवाह गर्नेको हकमा सजाय कम गर्नेलगायत सुझाव पेस गरेका थिए। यो सुझावसँगै विवाहको उमेर २० बाट घटाएर १८ वर्ष तोक्ने विषयमा छलफल चलेको थियो। यो पनि लागु नहुने देखिएपछि समितिले यस्तो घटनामा सजाय घटाउनतिर लागेको छ। २०७५ मा बनेको विवाहसम्बन्धी संशोधित ऐनले भने केटा र केटी दुवैको २० वर्ष हुनुपर्ने व्यवस्था गरेको थियो।

पछिल्लो समय सानो उमेरमा विवाहले युवामा बालविवाह र बलात्कारको मुद्दा लागेर सुधार केन्द्रमा बस्नुपरेको घटनासँगै संसद्को कानुन तथा मानव अधिकार समितिले विभिन्न प्रदेशमा गरेको अध्ययन प्रतिवेदन पेस गरेपछि विवाह उमेर घटाउने बिषयमा छलफल भएको थियो।

जनस्वास्थ्यविद् तथा चिकित्सक भने कुनै पनि बहानामा कम उमेरमा विवाह हुनु घातक भएको बताएका छन्। राजधानीमा ‘यौन तथा प्रजनन स्वास्थ्य शिक्षा’ को विषयमा प्रस्तुति दिँदै जनस्वास्थ्यविद् लक्ष्मी तामाङले यस्तो विवाहले महिलाको प्रजनन स्वास्थ्यमा गम्भीर असर पर्ने बताइन्। उनले भनिन्, ‘कुनै पनि बहानामा २० वर्षमुनि विवाह हुनुहुँदैन,’ उनले भनिन्।

स्वास्थ्य मापदण्डअनुसार १० देखि १९ वर्षभित्रको उमेर समूह किशोर–किशोरी उमेर समूहमा पर्छन्। यो उमेरमा विवाह गर्दा महिलाको प्रजनन तथा मानसिक स्वास्थ्यमा गम्भीर असर पर्छ। डा. तामाङका अनुसार यो उमेरमा शारीरिक तथा मानिसक विकास नहुने भएकाले यौन सम्बन्धकै बखत योनीभित्रको अंगमा घाउ भई पछि गएर यौन सम्बन्धमा दुख्ने समस्या हुन्छ।

२० वर्षपहिला गर्भधान गर्दा र प्रसूति हुँदा आमा र शिशु दुवैको स्वास्थ्य जोखिममा हुन्छ। यस्तो बखत आमा या शिशुको मृत्युसमेत हुने परिवार कल्याण महाशाखा मातृ तथा नवजात शिशु शाखाकी प्रमुख डा. गौरी प्रधान बताउँछिन्।

सानो उमेरमा बच्चा जन्माउँदा कम तौलको शिशु जन्मिने, शिशुको बाँच्ने क्षमता कम हुने, गर्भमै मृत्यु हुने सम्भावना हुन्छ। नेपाल जनसांख्यिक तथा स्वास्थ्य सर्वेक्षण २०२२ अनुसार १५ देखि १९ वर्षका १४ प्रतिशत किशोरीले कुनै न कुनै समयमा गर्भवती भएका थिए भने १० प्रतिशतले बच्चा जन्माइसकेका छन्। ४ प्रतिशत सर्वेक्षणकै क्रममा गर्भवती थिए। किशोरी उमेरमा सबैभन्दा बढी गर्भधारण गर्न कणाली प्रदेशमा २९ प्रतिशत छन्। आर्थिक वर्ष २०८०/८१ मा कुल आमा तथा गर्भवती मृत्यु २०४ जना आमामध्ये १९ जना किशोरी आमा रहेको तथ्यांक छ।

यसका साथै यो उमेरमा यौनसम्बन्धको क्रममा पुरुषमार्फत महिलाको पाठेघरको मुखमा एचपिभी (ह्युमन पेपिलोमा भाइरस) प्रवेश हुन्छ। यो भाइरसले पछि गएर पाठेघरको मुखको क्यान्सर हुन्छ। नेपालमा धेरैजसो पाठेघरको मुखको क्यान्सर हुनेमा कम उमेरमा विवाह गरेका महिला रहेको डा. प्रधान बताउँछिन्। डा. प्रधान यो उमेरमा मानसिक विकास नभएको हुनाले किशोर–किशोरी सही निर्णय गर्न सक्दैनन्। अर्कोतिर भविष्य निर्माण गर्ने उमेर भएकाले यो उमेरमा विवाह गर्दा शिक्षा तथा सीप विकासमा अवरोध आई अलपत्र पर्छन्। ‘यो उमेरमा विवाह गर्दा आत्मनिर्भर भइसकेका हुँदैनन्,’ उनले भनिन्।

कम उमेरमा विवाह सम्बन्धमा जानुको कारण बृहत् यौनिक शिक्षाको कमीको कारण रहेको र यसलाई लागु गर्न सके सानो उमेरमा हुने विवाह र बलात्कार दुवै कम हुने भएकाले सरकारको ध्यान यतातिर जानुपर्ने डा. तामाङ बताउँछिन्।

 ‘उमेरको हदबन्दी घटाउन खोज्नुको कारण युवा बलात्कारको मुद्दामा सुधारकेन्द्रमा गए, पढ्ने र बढ्ने उमेरमा मुद्दा खेपे भन्ने देखिन्छ। यसको कारण बृहत् यौन शिक्षाको कमी हो, सरकारले यौन शिक्षामै जोड दिनुपछर्,’ उनले भनिन्।

प्रकाशित: ७ जेष्ठ २०८२ ०९:१२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App