२० पुस २०८२ आइतबार
image/svg+xml
स्वास्थ्य

एचपिभी खोप लिन नमिलेका महिला पाठेघरको मुखको क्यान्सरको जोखिममा

'नियमित स्वास्थ्य परीक्षणले बच्न सकिन्छ'

सरकारले चालु आर्थिक वर्षमा १० देखि १४ वर्ष उमेरमुनिका १४ लाख ५६ हजार एक सय ६३ जना किशोरीलाई एचपिभी खोप दिन थालेको छ। अन्य उमेर समूहका महिला भने यो खोप लिनेमा परेका छैनन्। पछिल्लो तथ्यांक अनुसार नेपालमा एक करोड ३४ लाख ४४ हजार नौ सय ७६ महिला एचपिभी खोप नलिएका छन्। यो खोप नलिएका वा लिन नमिलेका महिला पाठेघरको मुखको क्यान्सरको जोखिममा छन्।

ग्लोबोक्यानको सन् २०२० को तथ्यांकअनुसार नेपालमा प्रतिवर्ष दुई हजार दुई सय ४४ जना महिलामा पाठेघरको मुखको क्यान्सर देखिने गरेको छ। पाठेघरको मुखको क्यान्सर फोक्सोपछि दोस्रो नम्बरमा पर्छ। प्रत्येक दिन चार महिलाको मृत्यु पाठेघरको मुखको क्यान्सरका कारणले हुने गरेको छ।

यो क्यान्सरको जोखिमबाट जोगिन सरकारले चालु आर्थिक वर्षदेखि १० देखि १४ वर्ष उमेर समूहका किशोरीलाई एचपिभी खोप नियमति कार्यक्रमअन्तर्गत राखेको हो। त्यसो भए अन्य उमेर समूहमा परेका महिलाले पाठेघरको मुखको क्यान्सरबाट बच्न के गर्ने त? यसमामा धेरै महिला अन्योलमा रहेको नेपाल क्यान्सर केयर फाउन्डेसनकी मेडिकल निर्देशक स्त्रीरोग विशेषज्ञ डा. सरिता घिमिरे बताउँछिन्। उनका अनुसार एचपिभी खोप नलिएका महिलाले नियमित स्वास्थ्य जाँच गराए क्यान्सरबाट बच्न सकिन्छ।

घिमिरेका अनुसार १५ वर्ष उमेरमाथिका तर यौन सम्बन्धमा नभएका महिलाले एचपिभी खोप युवा उमेरमै लिन सक्छन्। तर तुलनात्मक रूपमा १५ वर्षमाथिका महिलामा यो खोपको प्रभावकारिता कम हुने घिमिरे भन्छिन्। परिवार कल्याण महाशाखाअन्तर्गतको खोप शाखाका प्रमुख डा. अभियान गौतमका अनुसार १५ वर्ष उमेरमाथिका महिलाले एचपिभी खोप लिए पनि त्यसको प्रभाव कम हुने भएकाले नियमित स्वास्थ्य जाँच नै क्यान्सरबाट बच्ने उपाय हो। ‘१५ वर्ष उमेरमुनिकालाई मात्र यो खोपले काम गर्ने भएकाले उनीहरूलाई मात्र दिइएको हो, अन्यले नियमित स्वास्थ्य परीक्षण गरेमा क्यान्सरबाट जोगिन सकिन्छ,’ उनले भने।

पाठेघरको मुखको क्यान्सर लागेको र पछि लाग्न सक्नेबारे थाहा पाउन गरिने विभिन्न परीक्षण नेपालमै पाइने डा. घिमिरे बताउँछिन्। तीन प्रकारको परीक्षण गर्दा क्यान्सर लागेको सुरुमै थाहा हुन्छ। घिमिरेका अनुसार पाठेघरको मुखको क्यान्सरको कारक यौन सम्बन्ध वा अन्य कारणले पाठेघरमा प्रवेश हुने ह्युमन पेपिलोमा भाइरस हो। यो भाइरस मलद्वारको छेउमा बस्छ र यौन सम्पर्कमार्फत पाठेघरको मुखमा प्रवेश गर्छ। त्यसैकारण पाठेघरको मुखमा क्यान्सर हुन्छ।

चिकित्सकका अनुसार ह्युमुन पेपिलोमा भाइरस प्रवेश गरेको १५ देखि २० वर्ष उमेरपछि मात्र क्यान्सर देखिन्छ। यो भाइरस पाठेघरको मुखमा छ या छैन भनेर पहिचान गर्नका लागि एचपिभी डिएनए परीक्षण गर्न सकिन्छ।

यो भाइरस दुई सातासम्म जीवित रहने भएकाले दुर्गमबाट पनि नमुना संकलन गरी प्रयोगशालामा पठाउन सकिन्छ। यो भाइरस पाठेघरको मुखमा प्रवेश गरेपछि क्यान्सर कति छिटो हुन्छ वा कहिल्यै हुँदैन भन्ने कुरा शरीरको रोगसँग लड्ने क्षमतामा भर पर्छ।

शरीरमा भाइरस आए पनि रोग प्रतिरोधात्मक क्षमता भएमा त्यसले चार/पाँच वर्षमा भगाइदिन्छ। एचआइभी, विभिन्न औषधि सेवन गरिरहेका व्यक्तिमा यो भाइरस चाँडै सक्रिय हुन्छ। रोगसँग लड्ने क्षमता कसको शरीरमा कति छ भनेर थाहा नहुने भएकाले ३० वर्ष उमेरमाथिका सबै महिलाले पाठेघरको मुखको परीक्षण गराउनुपर्छ।

त्यस्तै भिआइए टेस्ट (भिजुअल इन्सपेक्सन अफ सर्भिक्स) बाट पनि पाठेघरको मुखको क्यान्सर थाहा पाउन सकिन्छ। चिकित्सकका अनुसार पाठेघरको मुखमा साधारण झोल लगाएर हेरिन्छ। पाठेघरको मुखमा एसिडिक एसिड राखेको एक मिनेटपछि नतिजा आउँछ। यो राखेपछि क्यान्सरको प्रभाव छ भने टाटा देखिन्छ। यो परीक्षण चिकित्सकबाहेक तालिमप्राप्त अन्य स्वास्थ्यकर्मीले पनि गर्न सक्छन्। नेपाल सरकारले हाल यो परीक्षणलाई राष्ट्रिय कार्यक्रममै समावेश गरेको छ।

प्यापस्मेयर टेस्ट (पाठेघरको मुखको पानीको जाँच) बाट पनि पाठेघरको मुखको क्यान्सर पहिचान गर्न सकिन्छ। यसअन्तर्गत पाठेघरको मुखबाट पानी निकालेर विशेष परीक्षण गरिन्छ। जसबाट क्यान्सर हुन लागेको स्थिति देखिन्छ। तर यो परीक्षण आफैंमा जटिल प्रक्रिया हो। यो परीक्षण तीन/चार तह पार गरेर हुने भएकाले ठिक समयमा ठिक परीक्षण हुन सकेमा मात्र सही परिणाम देखिन्छ। ‘बिचमा एउटा व्यक्तिबाट प्रक्रियामा त्रुटि भएमा सही परिणाम आउँदैन,’ डा. घिमिरेले भनिन्।

यो विधिको तुलनामा नेपाल जस्ता गुणस्तर सुनिश्चितता नभएका देशमा माथिका दुई परीक्षण प्रभावकारी हुने घिमिरे बताउँछिन्।

नेपाल जस्ता देशको लागि एचपिभी डिएनए परीक्षण उपयुक्त हुने डा. घिमिरे सुझाउँछिन्। यो परीक्षण पाँच वर्षमा एक पटक गरे पुग्ने र जस्तोसुकै स्वास्थ्य संस्थामा पनि गर्न सकिने भएकोले प्रभावकारी मानिन्छ। तर गर्मी ठाउँमा केही विचार पुर्‍याउनुपर्छ।

नेपालमा यो परीक्षण सरकारी र निजी दुवै अस्पतालमा गरिन्छ। गत वर्ष मात्र यो परीक्षण ४० हजार महिलामा गरिएको थियो। यसैगरी भिआइए परीक्षण पनि प्रभावकारी मानिन्छ। यो परीक्षण पनि सवैजसो सरकारी स्वास्थ्य संस्थामा उपलब्ध छ। स्वास्थ्य शिविरमा पनि यो परीक्षण भइरहेको डा. घिमिरे बताउँछिन्।

परीक्षणका क्रममा एचपिभी भाइरस देखा परिहालेमा पनि आत्तिनु नपर्ने घिमिरे बताउँछिन्। यो भाइरस देखिएको २० वर्षपछि मात्र क्यान्सर हुने जोखिम हुन्छ। तर यो अवधिमा सकारात्मक सोचसहित उचित खानपान, व्यायाम गर्ने, योगध्यान गर्ने गरेमा शरीरमा प्रतिरक्षा प्रणालीको विकास भई क्यान्सरवाट बच्न सकिने घिमिरेको भनाइ छ। ‘स्वस्थ जीवनशैली अपनाएमा भाइरस भए पनि क्यान्सर भइहाल्दैन,’ उनले भनिन्।

यो जाँच हरेक पाँच वर्षमा एक पटक गरे हुने भएकाले सस्तो मानिन्छ। निजी अस्पतालमा चार/पाँच हजार रूपैयाँ लाग्ने भए पनि सरकारीमा भने दुई हजार रूपैयाँमै यो सेवा पाउन सकिन्छ। भिआइए परीक्षण ५० वर्ष उमेरमाथिका महिलामा गर्न गाह्रो हुन्छ। किनभने त्यो उमेरमा पाठेघरको मुख खुम्चिन्छ। तर एचपिभी डिएनए जाँच जुनसुकै उमेरका महिलामा पनि गर्न सकिन्छ।

पाठेघर फाल्दैमा क्यान्सर नलाग्ने होइन

महिलामा पाठेघर निकालेर फालेपछि पाठेघरको क्यान्सर हुँदैन भन्ने बुझाइ गलत भएको डा. घिमिरे बताउँछिन्। ह्युमन पेपिलोमा भाइरस छ भने पाठेघर निकालेर फालेपछि पनि जहाँ भाइरस रहेको हुन्छ, त्यहाँ क्यान्सर हुने उनको तर्क छ।

उनका अनुसार पाठेघरको मुखमा रहेको भाइरस पाठेघर फाले पनि योनीद्वारको छालामा बसेको हुन्छ। सिलाएको छालामा पनि यो भाइरस बसिदिन्छ। हामीले पाठेघर निकाल्दा जुन प्वाल सिलाइन्छ, त्यही प्वालमा पनि भाइरस बस्ने भएकाले पछि गएर क्यान्सर हुन सक्ने डा. घिमिरे बताउँछिन्। पाठेघर निकालेको १५ वर्षपछि पनि क्यान्सर भएर अस्पताल आएका महिला छन्। सुरुमै पहिचान भए उपचार सम्भव छ तर क्यान्सर छिप्पिसकेपछि पहिचान भए जुनसुकै विधिबाट उपचार गरे पनि निको हुन गाह्रो हुन्छ।

सुरुमा क्यान्सरले लक्षण नदेखाउने

सुरुको अवस्थामा क्यान्सरले कुनै लक्षण देखाउँदैन। पाठेघरको मुखबाट मासु पलाएर वरिपरि फैलिन सुरु भएपछि लक्षण देखिन्छ।  

प्रकाशित: २९ वैशाख २०८२ ०७:५९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App