२ जेष्ठ २०८२ शुक्रबार
image/svg+xml
स्वास्थ्य

मातातीर्थ आयुर्वेद तथा वैकल्पिक चिकित्सालयमा शल्यक्रिया सुरु

चन्द्रागिरि नगरपालिका–८ स्थित मातातीर्थ आयुर्वेद तथा वैकल्पिक चिकित्सा अस्पतालमा शल्यक्रिया सेवा सुरुआत भएको छ । स्थानीय तहमा सञ्चालित उक्त अस्पतालमा नि:शुल्क रूपमा शल्यक्रिया सेवाको सुरुआत भएको हो 

चन्द्रागिरि नगरपालिकाद्वारा सञ्चालित सो अस्पतालले पञ्चकर्म र क्षारसुत्र सेवालाई अझ गुणस्तरीय बनाउन शल्यक्रिया सेवा सञ्चालनमा ल्याइएको जनाएको छ । यो अस्पताल नि:शुल्क शल्यक्रिया सेवा थालनी गर्ने पहिलो भएको बताइएको छ ।

नगरपालिकाको आन्तरिक स्रोेतबाट करिब रु दश लाखमा अस्पतालको शल्यक्रिया कक्ष र शल्यक्रिया पछि बिरामी राख्ने श्यया निर्माण गरिएको अस्पतालका प्रमुख डा नारायण आचार्यले जानकारी दिए।

चन्द्रागिरि नगरपालिकाका प्रमुख घनश्याम गिरीले शल्यक्रिया कक्षको आज शुभारम्भ गर्दै नगरले ‘एलोपेथिक’ उपचार र आयुर्वेद चिकित्सा दुवै सेवालाई एकै साथमा अगाडि बढाउँदै ‘स्वस्थ नगर र स्वस्थ नगरवासी’ बनाउने उद्देश्यसहित सेवालाई उच्च प्राथमिकता दिइएको बताए।

चन्द्रागिरि–८ का वडाध्यक्ष प्रल्हाद रिजालले अगामी दिनमा अस्पतालको सेवा विस्तार गरिने जानकारी दिए। कार्यक्रममा नगर प्रवक्ता कृष्णप्रसाद खड्गी, चन्द्रागिरि–१५ का वडाध्यक्ष एवं सामाजिक विकास समितिका संयोजक घनश्याम लुइँटेल, चन्द्रागिरि–१३ का वडाध्यक्ष श्रीकृष्ण खत्रीलगायतको सहभागिता थियो ।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्र थापा मगरले मातातीर्थ आयुर्वेद तथा वैकल्पिक चिकित्सा अस्पतालको सेवालाई अझ विस्तार गर्न नगरले उच्च प्राथमिकता दिँदै योजनाबद्ध काम गर्ने बताए।

अस्पतालका प्रमुख डा आचार्यले शल्यक्रिया कक्ष सञ्चालन भएसँगै अस्पतालले थप विशेषज्ञ सेवासमेत प्रदान गर्ने बाटो खुला भएको उल्लेख गरे। उनका अनुसार अस्पतालमा पञ्चकर्म सेवाअन्तर्गत पाइल्स, फिस्टुला र फिसरको शल्यक्रिया हुन्छ । उनले भने, “हामीले पहिलो चरणमा साताको एकदिन शल्यक्रियाको व्यवस्था मिलाएका छौँ, बिरामीको चाप र मागका आधारमा क्रमश: दैनिक शल्यक्रियाको व्यवस्था मिलाउने योजना बनाएका छौँ । ”

अस्पतालले दैनिक बहिरङ्ग सेवा (ओपिडी) र सातामा एकदिन विशेषज्ञ सेवा प्रदान गर्दै आएको छ । पञ्चकर्मअन्तर्गत (बमन, बिरेचन, वस्तिकर्म, नश्य कर्म र रक्तमोक्षण) पूर्व कर्मका विभिन्न सेवा अस्पतालले प्रदान गरिरहेको प्रमुख डा आचार्यले जानकारी दिए। उनका अनुसार अस्पतालको आफ्नै जडीबुटी उद्यान पनि छ ।

प्रमुख डा आचार्यले महिनावारी स्वच्छता, हातधुने अभ्यास, प्राथमिक उपचारसम्बन्धी अभिमुखिकरण, किट वितरण, कपडाको प्याड बनाउने अभ्यास, जनरल तथा आयुर्वेद मोबाइल हेल्थ शिविरलगायत सेवा सञ्चालन भइरहेका बताए। आगामी दिनमा प्रभावकारी र थप गुणस्तरीय सेवाका लागि योजनाबद्ध रूपमा काम गरिने उनले उल्लेख गरे। 

प्रकाशित: २५ वैशाख २०८२ १५:१२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App