३० जेष्ठ २०८२ शुक्रबार
image/svg+xml
स्वास्थ्य

राप्ती स्वास्थ्य प्रतिष्ठानले मेशिनको रकम नतिर्दा एमआरआई सेवा ठप्प

दाङ राप्ती स्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले आइतबार एक सूचना जारी गर्‍यो — एमआरआई आइ सेवा बन्द गरिएको छ । प्रतिष्ठानले जारी गरेको सूचनामा एमआरआई सेवा बन्द हुनुको कारण मेसिन आयातकर्ता कम्पनीलाई दोषी देखाइएको छ । मेशिन सञ्चालनका लागि आवश्यक सफ्टवेयर अपडेट गरिदिनु पर्नेमा नगरिएका कारण यो सेवा बन्द हुन पुगेको प्रतिष्ठानले उल्लेख गरेको छ । तर प्रतिष्ठानले उल्लेख गरेको यो कारणमा सत्यता छैन । सफ्टवेयर अपडेट नभएको नभई मेशिन आयातकर्ता कम्पनीले सफ्टवेयरनै बन्द गरिदिएको हो । त्यो पनि प्रतिष्ठानबाट पाउनु पर्ने रकम नपाएका कारण ।

मेशिन खरिद गरेको प्रतिष्ठानले कम्पनीलाई बुझाउनु पर्ने २ करोड रुपैयाँ प्रतिष्ठानले तीन बर्ष सम्म बुझाएको छैन । फलतः कम्पनीले एमआरआई मेशिन ठप्प पारिदिएको हो । झण्डै एघार करोड रुपैयाँमा खरिद गरिएको यो मेशिन मलेसिया स्थित युनाईटेड इमर्जिङ हेल्थ केयर मार्फत खरिद भएको थियो । नेपाल स्थित यो कम्पनीको एजेण्ट कम्पनी लुम्बिनी हेल्थ केयरका अनुसार एमआरआई मेशिन खरिदका लागि ८० प्रतिशत रकम मेशिन भन्सारमा आउना साथ दिइनु पर्ने र बाँकी २० प्रतिशत रकम मेशिन जडान भई चालु भइसकेपछि उपलब्ध गराउने सम्झौता थियो ।

तर मेशिन चलेको तीन बर्ष सम्म पनि प्रतिष्ठानबाट उपलब्ध हुनुपर्ने रकम उपलब्ध हुन नसकेपछि एमआरआई सेवा बन्द गरिएको लुम्बिनी हेल्थ केयरका पोष्टराज ज्ञवालीले जानकारी दिए । ‘अहिले एमआरआई सेवा बन्द गरिदिएको मेशिन आयातकर्ता कम्पनीले हो, यो मेशिन सञ्चालनका लागि कम्पनीसँग एउटा लाइसेन्स हुन्छ, त्यो लाइसेन्स बन्द भएको हो,’ ज्ञवाली भन्छन् ‘बन्द हुनुको प्रमुख कारण भनेको मेशिन खरिद विक्रीका क्रममा भएको सम्झौता अनुसार रकम प्राप्त नहुनु नै हो, प्रतिष्ठान मार्फत उपलब्ध हुनुपर्ने २० प्रतिशत रकम उपलब्ध हुन सकेको छैन, फलतः कम्पनीले नै मेशिन बन्द गरिदिएको हो ।’

ज्ञवालीका अनुसार मेशिन खरिदका लागि प्रतिष्ठानले लक्ष्मीसनराईज बैंकमा एलसी गरेको थियो । एलसी गरिएको उक्त बैंक मार्फत कम्पनीमा रकम जानु पर्ने हो । तर रकम प्राप्त नभएको ज्ञवालीले जानकारी दिए । रकम भुक्तानीका लागि प्रतिष्ठानले बैङ्कलाई पत्र लेख्नु पर्ने हुन्छ । तर प्रतिष्ठानले भुक्तानीका लागि पत्र नलेखेका कारण बैङ्कले भुक्तानी दिन नसकेको जवाफ बैङ्कले दिने गरेको ज्ञवाली बताउँछन् । ‘एलसी गरिएको बैङ्कलाई बुझ्दा रकम भुक्तानीका लागि भनेर कुनै पत्र आएको छैन, पत्र नआउँदा हामीले कसरी दिने ?’ बैङ्कको भनाई उदृत गर्दै ज्ञवालीले भने ।

रकम भुक्तानीका लागि बैङ्कलाई पत्र लेख्नु पर्ने प्रतिष्ठानले केही समय अघि रकम नदिन भनेर पत्र लेखेको समेत स्रोत बताउँछ । बैङ्कलाई रकम भुक्तानी नगर्न भन्दै पत्र लेखिएका कारण पनि बैङ्कले रकम भुक्तानी नदिएको उक्त स्रोतले बतायो । ‘बैङ्कलाई रकम भुक्तानीका लागि पत्र लेख्नु पर्नेमा उल्टै भुक्तानी नगर्न भनेर पत्र लेखिएको रहेछ,’ स्रोतले भन्यो ‘प्रतिष्ठानबाटै रकम भुक्तानी नगर्न भनेपछि त बैङ्कले प्रतिष्ठानको खातामा जम्मा भएको रकम आफूखुसी दिने कुरै भएन ।’  तर रकम भुक्तानी नदिन किन भनियो भन्ने बिषयमा भने जानकारी नभएको उक्त स्रोत बताउँछ । 

प्रतिष्ठानको लापरबाहीका कारण अस्पतालको अत्यावश्यक उपचार सेवा बन्द भएपछि प्रतिष्ठानले आफ्नो दोष ढाकछोप गर्न मेशिन आयातकर्ता कम्पनीलाई दोषी देखाइदिएको छ । केही दिन देखि बन्द गरेको एमआरआई सेवा कहिले खुल्छ भन्नेमा समेत यकिन छैन । किनकि मेशिन आयातकर्ता कम्पनीले रकम भुक्तानीका लागि अदालतमै मुद्दा दायर गरेको छ । अब यो मुद्दा किनारा लागेपछि मात्रै यो सेवा सुरु हुने सम्भावना देखिन्छ । अदालतमा मुद्दा विचाराधीन रहेकाले अदालतको आदेश नआउँदै मेशिनको रकम भुक्तान गर्न नसकिने बताउँछ ।

मेशिन खरिद गरेर रकम भुक्तानीका लागि विलम्ब गरिदिएको प्रतिष्ठान नेतृत्वका कारण बिरामीहरूले पाउनु पर्ने सेवा पाउनबाट वञ्चित भएका छन् । ‘यो त साह्रै हेलचक्र्याइँ भयो नि, प्रतिष्ठान वा बैंक वा कम्पनी जसले गल्ती गरेको भएपनि मारमा त बिरामी पर्ने भएनि,’ सेवाग्राही भन्छन् ‘यसरी सेवा नै बन्द गरेर बसिदिएपछि आम नागरिकले कसरी सहज रुपमा सेवा पाउन सक्छन् ।’ एमआरआई सेवा बन्द हुँदा डाइग्नोशिस सेवा नै ठप्प भएको छ । 

प्रकाशित: २१ वैशाख २०८२ १७:४० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App