स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र विश्व स्वास्थ्य सङ्गठन, ‘द प्याण्डामिक फण्ड’को आर्थिक र प्राविधिक सहयोगमा पोखरामा सञ्चालित दुईदिने अस्पताल विपद् तयारी र प्रतिकार्य योजना कार्यशाला आइतबार सम्पन्न भएको छ।
कार्यशालामा गण्डकी प्रदेशका १२ स्याटेलाइट अस्पतालका स्वास्थ्यकर्मी र प्रशासनिक कर्मचारी सहभागी थिए। ती अस्पतालमा बुर्तिबाङ अस्पताल, बागलुङ, मुस्ताङ प्रादेशिक अस्पताल, जोमसोम, दमौली अस्पताल, तनहुँ, पुतलीबजार प्रादेशिक अस्पताल, स्याङ्जा, लमजुङ जिल्ला अस्पताल, बेनी प्रादेशिक अस्पताल, चामे प्रादेशिक अस्पताल, मनाङ, कुस्मा प्रादेशिक अस्पताल, पर्वत, आमपिपल अस्पताल, गोरखा, मध्यविन्दु प्रादेशिक अस्पताल, नवलपुर, मातृ शिशु मितेरी प्रादेशिक अस्पताल, कास्की, र जनरल तथा सरुवा रोग प्रादेशिक अस्पताल, कास्की छन्।
सहभागीले विज्ञ प्रशिक्षकको मार्गदर्शनमा ‘हस्पिटल सेफ्टी इनडेक्स प्लस एप’ प्रयोग गरी आफ्ना अस्पतालको ‘एचडिपिआरपी’ योजना बनाए। उनीहरूलाई जनस्वास्थ्य आपत्काल, समन्वय, सञ्चार, ‘एचइओसी’ सञ्जाल, हब र स्याटेलाइट अस्पताल सञ्जालबारे जानकारी दिइयो। सहभागीले बनाएका योजनाको ‘टेबलटप’ अभ्यास पनि गरे।
यी योजना अब हरेक अस्पतालमा लागू गरिनेछ। कर्मचारीलाई अद्यावधिक गरी प्रभावकारी कार्यान्वयनमा सहयोग पुर्याइने र यसले विपद् तयारीमा सुधार ल्याउने बताइएको छ। स्वास्थ्य मन्त्रालयका प्रवक्ता एवम् स्वास्थ्य आपत्कालीन कार्यसञ्चालन केन्द्रका प्रमुख डा। प्रकाश बुढाथोकीको अध्यक्षतामा समापन कार्यक्रम भएको थियो। उनले आपत्कालीन अवस्थालाई सम्बोधन गर्न तयारी गरिएको बताए। प्रादेशिक स्वास्थ्य निर्देशनालयका महानिर्देशक खिमबहादुर खड्का, नेपाली सेना स्वास्थ्य विज्ञान प्रतिष्ठानका डा। विकल श्रेष्ठ र डा. सुवाष न्यौपानेले प्रशिक्षण दिएका थिए। रासस
प्रकाशित: ८ वैशाख २०८२ १०:५७ सोमबार





