२१ चैत्र २०८१ बिहीबार
image/svg+xml २:५३ पूर्वाह्न
स्वास्थ्य

पूर्वाधारले बेहाल दुर्गमका बर्थिङ सेन्टर

सुरक्षित र गुणस्तरीय प्रसूति सेवा दिने भन्दै सरकारले दुर्गममा स्थापना गरेका प्रसूति केन्द्र (बर्थिङ सेन्टर) ले जनशक्ति र उपकरण अभाव झेलिरहेका छन्। कालिकोटको पलाँता गाउँपालिकामा रहेका ६ मध्ये तीनवटा बर्थिङ सेन्टरमा वर्षमा मुस्किलले १५ देखि २० जना प्रसूतिको लागि आउने गरेका छन्। जीर्ण भवन, जनशक्ति र उपकरण अभावमा स्थापना भएकाले यहाँका बर्थिङ सेन्टर नाम मात्रका बन्न पुगेका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आमा तथा नवजात शिशु सुरक्षा कार्यक्रम निर्देशिका, २०६५ (तेस्रो संशोधन २०७३) अनुसार बर्थिङ सेन्टरमा अक्सिजनसहित एक सय चार प्रकारका उपकरण सामग्री, २१ प्रकारका औषधि, दुई अनमीसहितको जनशक्ति हुनुपर्छ। तर बर्थिङ सेन्टर पायक पर्ने ठाउँमा छैनन्, तिनमा पनि सुविधा छैन। ‘पलाँताको भूगोल पनि त्यस्तै छ। स्थानीय सरकारले ध्यान दिएर पायक पर्ने ठाउँमा बनाउनुपर्ने हो, तर पालिका नेतृत्वले स्वास्थ्यका कुरामा चासो लिएर सुन्दैन,’ पलाँता स्वास्थ्य चौकी धौलागोहका इन्चार्ज विनोद न्यौपाने बताउँछन्। सात वर्षअघि स्थापना भएको बर्थिङ सेन्टरको अवस्था नाजुक रहेको उनको भनाइ छ।

कालिकोट जिल्लाभर ४० वटा बर्थिङ सेन्टर छन्। अहिले धेरै बर्थिङ सेन्टरले प्रभावकारी सेवा दिन सकेका छैनन्। स्वास्थ्य सेवा कार्यालय कालिकोटका बर्थिङ सेन्टर फोकल पर्सन मिरा शाहीले कालिकोटजस्तो जिल्लामा अहिले पनि स्थानीय तहले चासो नदिएको बताइन्। उनले भनिन्, ‘बर्थिङ सेन्टरको रेखदेख गर्ने जिम्मा स्थानीय तहको हो, तर स्थानीय सरकारले लगानी गर्न सकिरहेको छैन। जसले गर्दा औजार र उपकरण अभाव हुने गरेको छ।’ जीर्ण भवन, पानी, शौचालयलगायत अति आवश्यक पूर्वाधार पनि अभावै रहेको उनको भनाइ छ।

यस्तै, नरहरिनाथ गाउँपालिका वडा नं ७ उत्सव आधारभूत स्वास्थ्य सेवा केन्द्रमा रहेको बर्थिङ सेन्टरले चार वर्षदेखि स्वीकृतिबिना सेवा सञ्चालन गरेको छ। बर्थिङ सेन्टरमा चवन, पूर्वाधार र उपकरण अभाव झेलिरहेको अनमी कमला भट्टराईले बताइन्। उनले भनिन्, ‘स्वीकृत भएर कानुनी मान्यता पाएको छैन, भरपर्दो स्वास्थ्य उपकरणबिना काम गरिरहेका छौं। औषधि र उपकरण अभाव छ। त्यही भएर पनि सेवाग्राही खासै आउँदैनन्। सुत्केरी भएपछिको समयमा अप्ठ्यारो भएका महिलालाई केही समय निगरानीमा राख्नुपर्ने हुन्छ। त्यसका लागि बेड छैन। प्रसूति गराउने स्वास्थ्यकर्मीलाई पनि बर्थिङ सेन्टरमा आवासीय व्यवस्था हुनुपर्ने हो, त्यो पनि छैन।’

रातको समयमा व्यथा लागेर बर्थिङ सेन्टरसम्म पुग्ने र त्यसपछि आफूहरूलाई बोलाउने गरेको उनको भनाइ छ। प्रसूति गर्ने तालिम प्राप्त कर्मचारीलाई आवासीय व्यवस्थादेखि उपकरण सबै उपलब्ध हुनुपर्नेमा जस्तापाताले छाएका र कच्ची घरबाट सेवा दिनुपर्दा बर्थिङ सेन्टर नै असुरक्षित अवस्थामा रहेको कर्मचारीको भनाइ छ।

प्रकाशित: १८ चैत्र २०८१ ०९:३४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App