१३ माघ २०८२ मंगलबार
image/svg+xml
स्वास्थ्य

'प्रशामक सेवालाई तीनै तहका सरकारले अपनत्व लिनुपर्छ'

निको नहुने तथा जीवन सीमित पार्ने दीर्घ रोगीहरूलाई अन्तिम समयसम्म गरिने हेरचाह अर्थात प्रशामक सेवालाई तीनै तहका सरकारले अपनत्व लिनुपर्ने सरोकारवाला निकायहरूको भेलाले निष्कर्ष निकालेको छ।

नेपालका सबै ग्रामीण क्षेत्रमा प्रशामक सेवाको पहुँचबाट कोही पनि नछुटोस् भन्ने नाराका साथ काठमाडौँमा बुधबार सकिएको २ दिने अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागीहरूले सरकार, समुदाय र सरोकारवाला निकायको सहभागिताबिना प्रशामक सेवा दीर्घकालीन र प्रभावकारी हुन नसक्नेमा जोड दिएका हुन्।  

स्वास्थ्यको क्षेत्रमा विगत ७३ वर्षदेखि क्रियाशील आईएनएफ नेपालको आयोजनामा भएको सम्मेलनमा पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा राजेशनाथ गोङ्गलले सङ्घीय सरकारले नै प्रशामक सेवा सम्बन्धी रणनीति परिमार्जन गरी यसको कार्यान्वयनका लागि मातहतका निकायलाई निर्देशन दिनुपर्ने बताए।  

केही समयअघि मात्र आफूहरूले यो सेवा विस्तार र निरन्तरताका लागि वागमती प्रदेश सरकारसँग सम्झौता गरिएको जानकारी दिँदै उनले सबै प्रदेशमा प्रशामक सेवाको सुरुवातका लागि सङ्घीय सरकारले नेतृत्व लिनुपर्छ भने।  

प्रशामक सेवामा लागेकाहरूको सङ्गठन नेपलिज एसोसिएसन अफ प्यालेटिभ केयरका अध्यक्ष डा विष्णुदत्त पौडेलले देशका  विभिन्न अस्पतालहरूमा प्रशामक सेवाको सुरुवात गरिएको भए पनि यो सेवाको पहुँचमा ७७ जिल्लाकै बिरामी रहून् भन्नका लागि तीनै तहका सरकारबीच अझ बलियो रूपमा समन्वय हुन आवश्यक भएको औँल्याए।

सम्मेलनमा आईएनएफ नेपालका कार्यकारी निर्देशक कृष्ण अधिकारीले आफूहरूले आईएनएफ नेपाल हरियो खर्क अस्पताल अन्तर्गत सञ्चालिन सुनिता परियोजनामार्फत कास्की, लम्जुङ, सुर्खेत र रुकुम पश्चिममा तीन वर्षभन्दा धेरै समय गरेको अभ्यासलाई स्थानीय सरकारका प्रतिनिधिले आगामी दिनमा उक्त कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता आएको बताए। अरू जिल्लामा पनि थोरै खर्चबाट उपलब्ध जनशक्तिलाई तालिम तथा अभिमुखीकरण दिएर प्रशामक सेवा सुरु गर्न सकिने उनको भनाइ थियो।  

कार्यकारी निर्देशक अधिकारीका अनुसार सुनिता परियोजनामार्फत कास्की, लम्जुङ, सुर्खेत र रुकुमपश्चिममा गरी करिब १ हजार स्वास्थ्यकर्मीलाई प्रशामक सेवाको तालिम दिइएको छ भने आइएनएफले पोखरामा सञ्चालन गरेको हरियो खर्क अस्पतालमा बालबालिकासहितको १४ शैयासहितको समुदायमा आधारित प्रशामक सेवालाई एकीकृत गरी सर्वाङ्गिण प्रशामक सेवा सुरु गरिएको छ।

उक्त परियोजनाले गरेको अनुसन्धानले नेपालको कुल जनसङ्ख्याको ३ प्रतिशत अर्थात करिब ९ लाख नेपालीहरूलाई प्रशामक सेवा आवश्यक रहेको देखाएको छ।  

सम्मेलनमा पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, आईएनएफ नेपाललगायतका निकायबाट सञ्चालन गरिएको प्रशामक सेवा, सिकाइ र आगामी दिनमा सरकार तथा सरोकारवाला निकायले सुधार गर्नुपर्ने पक्षका बारेमा दर्जनभन्दा धेरै प्रस्तुती गरिएको थियो।  

प्रशासमक सेवा सञ्चालन गरेका जिल्लाका अस्पतालका चिकित्सक तथा अरू स्वास्थ्यकर्मीले पनि आफ्नो अनुभव सुनाएका थिए।  

दुई दिने सम्मेलनमा नेपालका लागि बेलायती राजदूत रव फेनको पनि उपस्थिति थियो। सम्मेलनमा बेलायत, अफ्रिका, भारत, मलावीलगायतका देशबाट प्रशामक सेवा विज्ञ तथा सरोकारवाला निकायका प्रतिनिधिहरू सहभागी भएका थिए। सम्मेलनको सफलताका लागि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले शुभकामना सन्देश पठाएका थिए।

प्रकाशित: ८ फाल्गुन २०८१ ०७:१३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App