काठमाडौं महानगरपालिका वडा नं २२ ले बिहीबार ‘मानसिक स्वास्थ्य आजको आवश्यकता’ नाराका साथ एकदिने मानसिक स्वास्थ्य सचेतना कार्यक्रम आयोजना गरेको छ। सत्व माइन्ड क्लिनिकको सहकार्यमा आयोजित कार्यक्रममा मानसिक स्वास्थ्यका विविध पक्षबारे जानकारी दिइएको थियो।
कार्यक्रममा वडाध्यक्ष चिनीकाजी महर्जनले मानसिक स्वास्थ्यलाई संवेदनशील विषयका रूपमा लिँदै वडाले आगामी दिनमा पनि यस्ता कार्यक्रम सञ्चालन गर्ने बताए। वडावासीसमक्ष मानसिक स्वास्थ्यसम्बन्धी जानकारी पुर्याउन जरुरी रहेको उनको भनाइ छ।
सुरज शाक्यले मानसिक स्वास्थ्य जनजीवनसँग जोडिएकाले स्वस्थ मानसिकता भएका व्यक्तिले आफ्नो क्षमता बुझ्ने, तनावको सामना गर्ने र समुदायमा सक्रिय भूमिका खेल्ने बताए। उनी भन्छन्, ‘विश्वभर ४८ प्रतिशत मानसिक स्वास्थ्यसम्बन्धी समस्या १८ वर्षको उमेरमै देखा पर्छन्, तर धेरैजसो केस समयमै पत्ता नलाग्दा उपचार नै नगरिएको अवस्थामा रहन्छन्।’
विशेषज्ञहरूले मानसिक स्वास्थ्य तथा मनोसामाजिक समस्याका विभिन्न लक्षण रहेका छन्– एक्लोपनको अनुभूति, साथी वा परिवारबाट टाढा रहने प्रवृत्ति, ध्यान केन्द्रित गर्न नसक्ने, निद्रामा गडबडी, छिटै थकान महसुस हुने, टाउको वा पेटका समस्या देखा पर्ने, निराशाजनक सोच बढ्दै जाने, आत्महत्याको विचार आउने आदि रहेका छन्।
स्वस्थ मानसिकताका लागि विभिन्न उपाय छन्। जस्तै– नियमित रूपमा शारीरिक व्यायाम, योग र ध्यान गर्ने, दैनिक कार्यतालिका बनाएर जीवन व्यवस्थित राख्ने, सजिलोसँग पच्ने पोषणयुक्त खानेकुरा खाने आदि रहेका छन्।
मानसिक स्वास्थ्यसम्बन्धी चेतना फैलाउन यस्ता कार्यक्रम निरन्तर सञ्चालन गर्नुपर्ने र विद्यालय तहदेखि नै मानसिक स्वास्थ्यसम्बन्धी पाठ्यक्रममा जोड दिनुपर्ने सुझाव कार्यक्रमका सहभागीहरूले राखेका थिए। यस्ता सचेतनामूलक कार्यक्रमलाई अन्य वडामा पनि विस्तार गर्ने तयारी भइरहेको कार्यक्रम संयोजकले जानकारी दिएका थिए। आयोजकका अनुसार विद्यालय, युवा समुह तथा अभिभावकलक्षित थप कार्यक्रम आयोजना गरिने छ।
मानसिक स्वास्थ्यको महत्व, मनोसामाजिक समस्या तथा उपचारका उपायबारे स्वास्थ्य विज्ञहरूले जानकारी गराएका थिए। कार्यक्रममा तनाव व्यवस्थापन, सकारात्मक सोचको विकास, सक्रिय जीवनशैली तथा बालबालिका तथा किशोर–किशोरीको मानसिक स्वास्थ्यका विषयमा गहन छलफल गरिएको थियो। त्रिवि शिक्षण अस्पताल महाराजगन्जका प्रा.डा. सरोजप्रसाद ओझा, मनोविद् सुरज शाक्यको सहभागिता रहेको सो कार्यक्रममा मानसिक स्वास्थ्य विज्ञहरूले पनि आआफ्नो धारणा राखेका थिए।
प्रकाशित: २ फाल्गुन २०८१ १०:०४ शुक्रबार





