बाँकेमा हात्तीपाइले रोगको जीवाणु समुदाय स्तरमा कायमै रहेको पाइएको छ।
सरकारले राष्ट्रिय अभियान अन्तर्गत बाँकेमा २०६६ सालदेखी हात्तीपाइले रोगविरुद्धको आमऔषधी सेवन कार्यक्रम सञ्चालन गर्दै आएको छ। तर पनि, बाँकेका चार स्थानीय तहमा हात्तीपाइले रोगको जीवाणु समुदाय स्तरमा यथावत् रहेको पाइएको हो।
स्वास्थ्यकर्मीका अनुसार एउटा वडामा तीन जना भन्दा बढी व्यक्तिमा हात्तीपाइले रोगको जीवाणु रहेको पुष्टि भएमा त्यसले समुदाय स्तरमा जनस्वास्थ्य समस्याका रुपमा असर पुर्याउने सम्भावना हुन्छ।
बाँकेको नेपालगन्ज, डुडुवा, नरैनापुर र बैजनाथका केही वडाभित्र तीन जनाभन्दा बढी व्यक्तिमा हात्तीपाइले रोगको जीवाणु भेटिएको पुष्टि भएपछि रोग निवारणमै चुनौती थपिएको छ।
स्वास्थ्य कार्यालय बाँकेले सन् २०२४ मा गरेको एक सर्वेक्षण अनुसार सबैभन्दा बढी नेपालगन्ज उपमहानगरपालिकामा हात्तीपाइले रोगका सङ्क्रमित फेला परेका छन्।
त्यसपछि डुडुवा, नरैनापुर र बैजनाथ रहेका छन्। कार्यालयको तथ्याङ्क अनुसार कुल १९ जना सङ्क्रमित फेला परेको नेपालगन्ज उपमहानगरपालिकाभित्र वडा नम्बर-१४ मा ४ जना, वडा नम्बर-१५ मा ३ जना, वडा नम्बर-१६ मा ३ जना, वडा नम्बर-२१ मा ३ जना तथा वडा नम्बर-४ मा २ जना, वडा नम्बर-२ मा १ जना, वडा नम्बर-११ मा १ जना, वडा नम्बर-१३ मा १ जना र वडा नम्बर-१७ मा १ जना रहेका छन्।
यस्तै डुडुवा गाउँपालिकामा फेला परेका कुल ८ जना मध्ये वडा नम्बर-२ का ६ जना तथा वडा नम्बर-१ र ४ का १/१ जना रहेका छन्।
यसैगरी नरैनापुरमा फेला परेका कुल ७ जना सङ्क्रमित मध्ये वडा नम्बर-३ र ५ मा २/२ जना तथा वडा नम्बर-२, ४ र ६ का १/१ जना रहेका छन्।
यसैगरी बैजनाथ गाउँपालिका वडा नम्बर-४ मा पनि ३ जना व्यक्तिमा हात्तीपाइले रोगको संक्रमण रहेको पाइएको छ।
नेपाल सरकारले यसअघि सन् २०२० सम्म हात्तीपाइले रोग निवारण गर्ने लक्ष्य राखेको थियो। उक्त समयभित्र रोग निवारण नभएपछि हाल दिगो विकास लक्ष्य अनुसार सन् २०३० सम्ममा निवारण गर्ने पुनः लक्ष्य लिइएको छ।
उक्त अभियान अनुसार नागरिक स्तरबाट नियमित रुपमा औषधी सेवन नगरिँदा निवारणमा चुनौती देखिएको हो। स्वास्थ्य कार्यालयले गरेको सर्वेक्षण अनुसार मधेसी, मुस्लिम, थारु समुदायका साथै निरक्षर दलित, शिक्षित वर्ग, सहरी क्षेत्रका बासिन्दा लगायतले औषधी सेवन गरेका छैनन्। यस्तै व्यापारी, स्वास्थ्यकर्मी, शिक्षक लगायतले पनि औषधी सेवन नगरेको तथ्याङ्कमा उल्लेख छ।
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. यदुचन्द्र घिमिरेका अनुसार बाँकेसँगै अभियान सुरु गरेका मुलुकभरका अन्य ७६ वटा जिल्लालाई भने यसअघि नै हात्तीपाइले रोग निवारण भएको घोषणा गरिसकिएको छ।
बाँकेमा रहेका ८ वटा स्थानीय तह मध्ये नेपालगन्ज, डुडुवा र नरैनापुरमा लक्ष्य अनुसारको आमऔषधी सेवन हुन सकेको छैन। बाँके जिल्ला हात्तीपाइले रोग निवारण घोषित हुन नसक्दा सिङ्गो राष्ट्रलाई नै घोषित गर्न नसकिएको डा. घिमिरेले सुनाए।
स्वास्थ्य कार्यालय बाँकेका प्रमुख अंगतबहादुर शाहीले केही पालिकाभित्र रहेका वडामा हात्तीपाइले रोग विरुद्धको औषधी सेवन नगर्दा जिल्लालाई रोग निवारण गर्न नसकिएको बताए। ‘हात्तीपाइले रोग विरुद्धको औषधी सेवन नगरेकै कारण बाँके जिल्ला फेल भयो, अब पनि औषधी सेवन गर्नुको विकल्प छैन,’ उनले भने।
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका वरिष्ठ जनस्वास्थ्य अधिकृत रामकुमार महतोले औषधी नखाँदा बाँकेमा समुदाय स्तरमा हात्तीपाइले रोगको परजीवी फैलिने क्रममा रहेको खतरा औँल्याए। ‘हात्तीपाइले रोग विरुद्धको औषधी सेवन गरेपछि मात्र संक्रमण दर घट्ने हो, नत्र अझ बढ्ने जोखिम छ,’ उनले भने।
सरकारले हात्तीपाइले रोग विरुद्धको आम औषधी सेवन अभियान सुरु गर्ने क्रममा बाँकेमा संक्रमण दर २२ प्रतिशत रहेकोमा अहिले २.५ प्रतिशतमा झरेको महाशाखाले जनाएको छ।
बाँके जिल्लाका कारण राष्ट्रिय निवारण कार्यक्रम नै प्रभावित हुने भएपछि स्वास्थ्य मन्त्रालय र विभागले यसपटक अभियान सफल पार्न विशेष जोड दिएका छन्।
जोखिममा रहेका बाँकेका यी वडामा सचेतनामूलक कार्यक्रमसँगै पुनः औषधी खुवाउने अभियान आगामी फागुन ५ गते देखी सुरु गरिँदै छ।
सर्वसाधारण नागरिकलाई हात्तीपाइले रोग विरुद्धको औषधी सेवन गराउन स्वास्थ्य तथा जनसंख्यामन्त्रीसहित मन्त्रालय र विभागका उच्च अधिकारी नेपालगन्ज आउने भएका छन्।
स्वास्थ्य कार्यालय बाँकेका हात्तीपाइले रोग नियन्त्रण फोकल पर्सन दुर्गा गौतमका अनुसार फागुन ५ गते नेपालगन्ज र फागुन ७ गते डुडुवा, नरैनापुर तथा बैजनाथका जोखिमयुक्त वडामा औषधी खुवाइनेछ।
प्रकाशित: ३० माघ २०८१ २०:५८ बुधबार





