२० चैत्र २०८१ बुधबार
image/svg+xml १६:४३ अपराह्न
स्वास्थ्य

अस्पतालकै फार्मेसीमा औषधि पाउन थालेपछि बिरामीलाई राहत

भेरी अस्पतालले सञ्चालन गरेको फार्मेसी । तस्बिर: अर्जुन ओली/नागरिक

नेपालगन्जस्थित भेरी अस्पतालको फार्मेसी सुधारको प्रयास थालिएको छ । फार्मेसी व्यवस्थित नहुँदा यसअघि अस्पतालले आम्दानी नै गर्न सकेको थिएन । तर, पछिल्लो दुई महिनादेखि फार्मेसीमा क्रमिक रूपले सुधार देखिएको हो । अस्पतालको फार्मेसीमा पर्याप्त मात्रामा औषधी नराख्दा बाहिरका निजी मेडिकलले महँगोमा औषधी बिक्री गर्ने गरेका थिए । अहिले अस्पतालको फार्मेसीमा अधिकांश औषधीहरू बिरामीले पाउन थालेका छन् ।

अस्पतालले फार्मेसीमा पर्याप्त मात्रामा औषधी राखेपछि बिरामीले सुलभ मुल्यमा औषधी लिन पाएका छन्, भने बिरामीलाई औषधीका लागि बाहिर जानुपर्ने झन्झट पनि अन्त्य भएको छ । फार्मेसीमा बिरामीको चाप बढेपछि अस्पतालको आम्दानी दोब्बर भएको छ । अस्पताल प्रशासनका अनुसार यसअघि फार्मेसीले मासिक रुपमा ७० देखी ८० लाख रुपैयाँको हाराहारीमा औषधी बिक्री गर्दै आएको थियो ।

फार्मेसी व्यवस्थित भएपछि आम्दानी दोब्बर बढेको यहाँका कर्मचारी बताउँछन् । अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डेन्ट डा. निराजन सुवेदीका अनुसार फार्मेसीको आम्दानी गत मंसिरमा १ करोड ६० लाख र पुस महिनामा १ करोड ४२ लाख भएको छ । ‘हामीले अस्पतालको फार्मेसीलाई व्यवस्थित गरेपछि एकातिर बिरामीलाई राहत मिलेको छ, भने अर्कोतिर अस्पतालले पनि दोब्बर आम्दानी गरेको छ,’ डा. सुवेदीले नागरिकसँग भने ‘अहिले फार्मेसी धेरै व्यवस्थित भएको छ, हामीले फार्मेसीलाई धेरै सुधार गरेका छौँ ।’

अस्पतालले पहिलेको तुलनामा फार्मेसीमा धेरै प्रकारका औषधीको व्यवस्था गरेको जनाएको छ । अस्पतालले फार्मेसीमा कार्यरत केही कर्मचारीको जिम्मेवारी पनि फेरबदल गरेको छ । कर्मचारीको काम गर्ने शैली पनि अस्पतालको फार्मेसी अव्यवस्थित हुनुको एउटा कारण भएको कतिपयको बुझाई थियो । फार्मेसीमा कार्यरत कर्मचारीको सेटिङकै कारण भित्र पर्याप्त मात्रामा औषधी नपाउने र निजी मेडिकलको मनपरी चल्ने गरेको गुनासो सेवाग्राहीबाट आउने गरेको थियो ।

फार्मेसी अस्पतालको प्रमुख आम्दानीको स्रोत मानिन्छ । तर, यही फार्मेसी व्यवस्थित नहुँदा अस्पतालका लागि सधैं टाउको दुखाई बन्ने गर्छ । अस्पताल विकास समितिका अध्यक्ष बीरेन्द्र शाहले धेरै समयको प्रयासपछि फार्मेसी व्यवस्थित भएको बताए । फार्मेसी व्यवस्थित हुँदा अस्पतालको आम्दानी ह्वात्तै बढेको उनले सुनाए । ‘फार्मेसीमा पहिले धेरैजसो औषधी पाउँदैनथ्यो, अहिले फार्मेसीमा औषधीको प्रकार बढाएका छौँ, अहिले गुणस्तरीय औषधी पाइन्छ,’ अध्यक्ष शाहले भने ‘अहिले बिरामीले अस्पतालको आफ्नै फार्मेसीबाट खोजेको औषधी पाइरहेका छन्, फार्मेसीको आम्दानी पनि दोब्बर भएको छ ।’

फार्मेसीमा औषधी लिन जाने सेवाग्राहीका लागि बस्ने बेन्चको पनि व्यवस्था गरिएको उनले सुनाए । शाहले थपे, ‘फार्मेसीमा औषधी लिन जाने मानिसहरू लाइन लाग्नुपर्दैन, बेन्चमा बसेर पालो अनुसार औषधी पाउनु हुन्छ ।’

प्रकाशित: १७ माघ २०८१ १७:५१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App