९ जेष्ठ २०८२ शुक्रबार
image/svg+xml
स्वास्थ्य

‘स्वास्थ्य क्षेत्रमा काम गर्नेलाई सरकारले सहयोग गर्छ’

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले स्वास्थ्य क्षेत्रमा काम गर्ने स्वयंसेवीलाई सरकारले सहयोग गर्ने बताएका छन्।

सहिद दिवसका अवसरमा नेपाली कांग्रेस टोखा नगर कार्यसमितिले जनकल्याण सामाजिक केन्द्रसँगको सहकार्यमा बुधबार आयोजना गरेको निःशुल्क आँखा शिविरको उद्घाटन गर्दै उनले स्वास्थ्य क्षेत्रमा सेवा गर्नेलाई सरकारले सहयोग गर्ने प्रतिबद्धता जनाए। “स्वास्थ्य क्षेत्रमा शिविर राख्नका लागि आवश्यकपर्ने जनशक्ति र औषधि सरकारले सहयोग गर्छ”, उनले भने।

स्वास्थ्यमन्त्री पौडेलले काठमाडौं निर्वाचन क्षेत्र-५ अन्तर्गत पर्ने सबै वडामा निःशुल्क आँखा शिविर सञ्चालन गर्नका लागि कांग्रेसले अगुवाई गर्नसमेत बताए। आँखा शिविरबाट शल्यक्रिया गर्नुपर्ने बिरामीको सूची बनाएर शल्यक्रियाका लागि शिविर गरिने उनको भनाइ थियो।

कांग्रेस टोखा नगरपालिकाका सभापति ओमकृष्ण विमलीले टोखाका बासिन्दालाई स्वस्थ राख्न आगामी दिनमा टोखाभरि यस्ता कार्यक्रम सञ्चालन गरिने जानकारी दिए।

नेपाल नेत्रज्योति सङ्घ र आँखा अस्पताल तथा अध्ययन केन्द्रसँगको सहकार्यमा भएको निःशुल्क स्वास्थ्य शिविरमा चार सय ५० व्यक्तिले आँखाको जाँच गरेको र तीन सय ५० जनालाई निःशुल्क चश्मा वितरण गरिएको जनकल्याण सामाजिक केन्द्रका अध्यक्ष विकासकुमार दासले जनाए।

काठमाडौंको टोखामा सञ्चालित जनकल्याण सामाजिक केन्द्रले हालसम्म काठमाडौं उपत्यकासहित देशभरका विभिन्न स्थानमा पुगेर तीन सय ५२ पटक निःशुल्क स्वास्थ्य शिविर गरिसकेको छ।

प्रकाशित: १६ माघ २०८१ २०:१२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App