२८ पुस २०८१ आइतबार
image/svg+xml
स्वास्थ्य

बर्थिङ् सेन्टरमा बच्चा जन्माउने महिलाको चाप बढ्यो

सुनसरी हरिनगरका महिलाहरु बच्चा जन्माउनका लागि सुरक्षित स्थान रोज्न थालेका छन् । अहिले हरिनगर क्षेत्रको बच्चा जन्माउने सुरक्षित स्थानको रुपमा घुस्की स्वास्थ्य केन्द्रमा खोलिएको बर्थिङ् सेन्टर रोजाइमा पर्न थालेको छ। २०७८ चैत १८ गते खुलेको यो स्वास्थ्य केन्द्रमा महिलाहरु बच्चा जन्माउन पुग्ने गर्दछन्। यस केन्द्रमा पहिलो समय हरेक महिना सरदर २५ जनाले बच्चा जन्माउने गरेका छन् ।

बर्थिङ् सेन्टरकी सिनियर अनमी अञ्जुकुमारी साहका अनुसार यहाँ हरिनगरसँगै देवानगञ्ज, भोक्राहा नरसिंह र भारतबाट समेत महिलाहरु आउने गरेका छन् । घुस्की स्वास्थ्य चौकीमा खोलिएको बर्थिङ् सेन्टरमा सबैभन्दा बढी मुस्लिम समुदाय नै बच्चा जन्माउनका लागि आउने गरेका छन् । मुस्लिमपछि क्रमशः यादव, ऋषिदेव, उराव समुदायका महिलाहरु आउने गरेका छन् । बर्थिङ् सेन्टरमा चार जना खटिने गरेका छन् । यस सेन्टरमा चालु आर्थिक वर्षको साउनदेखि मंसिरसम्म १०४ जना महिलाले बच्चा जन्माएका छन् । अघिल्लो आर्थिक वर्ष २०८०/०८१ मा २१० जना महिलाले बर्थिङ् सेन्टरमा बच्चा जन्माएका थिए ।

यस्तै, बर्जु वडा नं. ६ मा चिमडी स्वास्थ्य चौकीमा पनि व्यवस्थित बर्थिङ् सेन्टरको सुविधा छ । २०६५ चैत २ गते देखि बर्थिङ् सेन्टरबाट सेवा दिन थालेपछि यहाँका महिलाहरूले पूर्वकै नाम चलेका विराटनगरका सुविधा सम्पन्न अस्पतालको सट्टा आफ्नै ठाउँमा बच्चा जन्माउने जाने गरेका छन्  ।

चिमडी स्वास्थ्य चौकीको बर्थिङ् सेन्टरमा राम्रो सुविधा भएकैले गर्दा गाउँका महिलालाई सहज भएको जगीयादेवी रामले बताइन् । यहाँ बच्चा जन्माउनेले अहिलेसम्म कुनै समस्या भोग्नु परेको छैन ।

दुई वर्षअघि भने बर्जु वडा नं. ५ की एक महिलाको गर्भमै बच्चाको मृत्यु हुन पुग्यो । यसबाहेक अहिलेसम्म केही नभएको चिमडी स्वास्थ्य चौकीले जनाएको छ ।

यहाँ मुस्लिम, ऋषिदेव, चौधरी, यादव, मेहतालगायतका जातजातिका महिला बच्चा जन्माउन आउने गरेका छन् । क्षेत्री तथा बाहुन समुदायका भने नगन्य आउने गरेका छन् । क्षेत्री तथा बाहुन समुदायको बसोबास नै कम भएकाले गर्दा पनि नगन्य आउने गरेको अनमी निसा राजवंशीले बताइन् ।

यहाँको स्वास्थ्य चौकीमा ल्याब सेवा, भिडियो एक्सरे, डिजिटल एक्सरे, भिडियोलोजी, इसिजी, खोप तथा पोषणलगायतका सुविधा छ । जसले गर्दा पनि बर्थिङ् सेन्टरमा महिला लोभिने गरेको चिमडी स्वास्थ्य चौकीका प्रमुख इन्द्रनारायण यादवले बताए । यहाँ बर्थिङ् सेन्टरमा बच्चा जन्माउन कुनै जटिलता देखा परेमा विराटनगर नजिकै पर्ने गरेको बिरामीलाई रेफर गर्ने गरिएको छ ।

भोक्राहा नरसिंह वडा नं. २ मा सञ्चालित स्वास्थ्य चौकीको बर्थिङ् सेन्टरमा जहिल्यै चाप हुने गरेको  छ ।  मुस्लिम बस्तीमा परिवार नियोजन गर्ने र परिवार नियोजनको साधन प्रयोग गर्ने अनि बर्थिङ् सेन्टरमै बच्चा जन्माउने क्रम पुरै बढेको हो । मुस्लिम समुदायलाई लक्षित गरेर  गाउँमै सुरक्षित प्रसूति सेवा उपलब्ध गराउन भोक्राहा नरसिंह वडा नं. २ को स्वास्थ्य चौकीमा १३ वर्षदेखि बर्थिङ् सेन्टर छ  । सुरुवातमा नगन्य मात्र बर्थिङ् सेन्टर जान्थे । तर पछिल्लो समय पुरै जमघट हुने गरेको छ । 

प्रकाशित: २८ पुस २०८१ १७:४४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App