६३ वर्षअघि काठमाडौंको जनसंख्या अहिलेको तुलनामा कम थियो भने अस्पतालमा बिरामीको चाप पनि कमै थियो। बर्सेनि बिरामीको चाप बढेअनुसार अस्पतालको पूर्वाधार तथा जनशक्ति विस्तार नहुँदा बिरामी व्यवस्थापनमा समस्या परेको जनाइएको छ। कान्ति बाल अस्पतालको ६३औं वार्षिकोत्सवका अवसरमा अस्पतालका निर्देशक डा. पंकज रायले यस्तो समस्या औंल्याएका हुन्।
अस्पताललाई एक हजार शड्ढया क्षमतामा विस्तार गर्ने गुरुयोजना द्रूतरूपमा अघि बढ्न नसक्नु, आवश्यक जनशक्तिको दरबन्दी पूर्ति नहुनु, पर्याप्त बजेट र आवश्यक उपकरण नहुनुले चुनौती बनेको उनले जानकारी दिए। ‘वार्षिक बजेट अनिवार्य दायित्वमै खर्च हुन्छ’, उनले भने। अन्य अस्पतालको तुलनामा नर्सिङ कर्मचारीलाई दिनुपर्ने सेवा सुविधा कम भएकाले नर्सिङ जनशक्ति सेवा छाडेर अरू अस्पताल जाने समस्या रहेको पनि निर्देशक रायले औंल्याए। ‘गंगालाल, टिचिङमा जस्तो हामीले सुविधा दिन सकेनौं, कान्ति बाल अस्पताल छाडेर अरू अस्पताल जाने प्रवृत्ति कायमै छ’, उनले भने।
आवश्यक जनशक्ति र भौतिक पूर्वाधार अभावले अहिले पनि कान्ति बाल अस्पतालका बिरामीले शल्यक्रियाका लागि लामै समय कुर्नुपर्ने, गम्भीर बिरामीलाई आइसियु र शड्ढया अभावका कारण अन्यत्र सिफारिस गर्नुपर्ने बाध्यता कायमै रहेको अस्पताल व्यवस्थापन समितिका सदस्य श्रीराम सुवेदीले बताए।
‘अस्पतालले स्थापनाको ६३ बर्से प्रौढ उमेरमा पनि अनेक उतारचढाव झेलिरहेको स्थिति छ’, सुवेदीले भने। यस अस्पतालमा जनशक्ति दरबन्दीको सर्वेक्षण गरी त्यसअनुसारको पूर्ति हुनुपर्ने उनले सुझाए। यसका साथै अस्पताल विस्तारका लागि बनेको गुरुयोजनामा विद्यमान समस्या हटाएर अघि बढ्न आवश्यक रहेको बताए। अस्पतालका निर्देशक रायले एक हजार शय्याको भवन निर्माण गुरुयोजनामा वातवरणीय प्रभाव मूल्यांकन प्रतिवेदन नभएकाले रोकिएको बताए।
राष्ट्रिय योजना आयोगका सदस्य तथा अस्पतालका पूर्व निर्देशक डा. आरपी बिच्छाले अस्पताल भवन निर्माणको गुरुयोजना पूरा गर्न राष्ट्रिय योजना आयोगबाटै नीति तथा कार्यक्रम पूरा भइसकेकाले अबको जिम्मेवारी अर्थ मन्त्रालय तथा अन्य सरोकारवाला निकायसँग रहेको बताए। ‘बजेट माग गर्न अर्थ मन्त्रालयसँग बजेट माग गरौं, अरू इआइएको समस्या हैन, भवन पुरानै जग्गामा बनाउन लागिएकाले यो आवश्यक छैन’, उनले भने। यसका साथै कान्ति बाल अस्पतालमा बिरामीको चाप कम गर्न र सहज सेवा प्रदान गर्न सातै प्रदेशमा विशिष्ट बाल अस्पताल खोल्ने योजना अघि बढाइएको डा. बिच्छाले जानकारी दिए।
स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले अहिलेको स्थितिमा बिरामीको चापको उचित व्यवस्थापन गर्न अन्य सरकारी तथा सामुदायिक अस्पतालसँग सहकार्य र समन्वय गर्न सुझाए। उनले भने, ‘यहाँ आएका बिरामीलाई खाली हात फर्काउनु हुँदैन, अरू अस्पतालमा शय्याको व्यवस्था गरेर मात्र पठाउनुपर्छ’, उनले भने। यसका साथै अस्पतालमा फार्मेसीमा जेनेरिक नाममै सबै औषधी उपलब्ध हुनुपर्ने र बिरामीलाई अहिलेकै स्रोत साधनबाट पनि गुणस्तरीय सेवा दिने अस्पतालकै चिकित्सक र कर्मचारीको भूमिका आवश्यक हुने बताए।
मन्त्री पौडेलले सेवा विस्तारका लागि आवश्यक जनशक्ति पूर्ति र भौतिक पूर्वाधार विकासका लागि पनि प्रयास गर्ने बताए। त्यसैगरी उपचारविना बिमा खर्च लिने अस्पताललाई कारबाही हुने उनको भनाइ छ। थोरै खर्च तिरेर धेरै उपचार लिने एक मात्र उपाय बिमा प्रणाली नै भएकाले यसको रकम पाँच लाख पुर्याउने तयारी भएको उनले बताए। ‘सुझाव प्रतिवेदन आइसकेको छ, अब मन्त्रिपरिषद्मा पेस गर्छु’, उनले भने। सीमित स्रोत साधनका भरमा पनि कान्ति बाल अस्पतालले ६३ वर्षको अवधिमा धेरै सेवा विस्तार गरेको जनाइएको छ।
गत आर्थिक वर्षमा अस्पतालबाट एक लाख ८० हजार बिरामीले सेवा लिएका छन्। पछिल्लो अवधिमा अस्पतालले बाल इन्डोक्राइन सेवा, निःशुल्क क्यान्सर सेवा, बाल मुटुरोग सेवा, बाल नाक कान घाँटी सेवा, चर्मरोग, बाल क्यान्सर सेवा, सिटी स्क्यान, एमआरआई सेवा, बहिरंग तथा अन्तरंग मानसिक सेवा, नवजात शिशु स्वास्थ्य सेवा विस्तार गरेको छ। गत आर्थिक वर्षमा अस्पतालबाट दुई हजार १० जनाले शल्यक्रिया सेवा पाएका छन्।
निकट दिनमा मोडुलर ओटीको निर्माण, मानवीय संसाधन तथा व्यवस्थापन सर्वेक्षण गर्नुपर्ने, अस्पताल पूर्वाधार विकास तथा नयाँ प्रविधि अपडेट गर्नुपर्ने, पेडियाट्रिक कार्डियोलोजीका लागि इको मेसिन खरिद गरी सञ्चालन गर्नुपर्ने, प्रयोगशाला सेवा विस्तार गर्नुपर्ने काम गर्ने योजना रहेको अस्पतालले जनाएको छ।
मस्तिष्कघातको उपचार निःशुल्क
स्वास्थ्य तथा जनसंख्या प्रदीप पौडेलले मस्तिष्कघातको उपचार निःशुल्क हुने बताएका छन्। सोमबार कान्ति बाल अस्पतालको वार्षिकोत्सवका अवसरमा यस्तो कार्यक्रमको घोषणा गरेका हुन्। ‘मस्तिष्कघातका लागि निःशुल्क दिने गरी गृहकार्य भइसकेको छ, छिटै घोषणा गर्छौं’, उनले भने। यसअघि मन्त्री पौडेलले बाल क्यान्सर उपचार सेवा निःशुल्क घोषणा गरिसकेका छन्।
प्रकाशित: २३ पुस २०८१ ०९:०२ मंगलबार