४ पुस २०८१ बिहीबार
image/svg+xml
स्वास्थ्य

वैद्यखाना पुगेका स्वस्थ्यमन्त्रीले भने: कच्चा पदार्थ नल्याउने ठेकेदारको विकल्प खोज्छौँ

स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले सिंहदरबार वैद्यखानामा आयुर्वेदिक औषधी उत्पादनको अवस्थाबारे अनुगमन गरेका छन्।

मन्त्री पौडेलले वैद्यखाना सुधारका लागि विशेष चासो दिँदै आएका छन्। सोहीअनुरूप विकास समितिमा नयाँ नेतृत्वलाई जिम्मेवारी दिएका मन्त्री पौडेलले सोचजस्तो उत्पादन वृद्धि नभए पछि स्थलगत अनुगमन गर्दै समस्या समाधानका लागि उपायको खोजी थालेका हुन्।

मन्त्रालयका उच्च अधिकारीसहित अनुगमनमा गएका मन्त्री पौडेलले वैद्यखानाको काम कारबाहीबारे जानकारी लिँदै आमरुपमा सुनिएका गुनासा समाधान गर्न समेत कर्मचारीहरूको ध्यानाकर्षण गराए।

पर्याप्त औषधी उत्पादन नभएकोबारे गुनासो सुने पछि मन्त्री पौडेलले उत्पादन बढाउन हर सम्भव उपाय लगाउन आग्रह गरे।

'बजारमा जति औषधी उत्पादन भए पनि वैद्यखानाको औषधी बिक्री हुने रहेछ', उनले भने, 'तपाईँहरूले उत्पादन बढाउने काममा देखिने गरी परिवर्तन ल्याउनुपर्छ।'

मन्त्री पौडेललाई कर्मचारीहरूले श्रोत अभाव भएको गुनासो गरे पछि मन्त्री पौडेलले केही समयअघि पनि वैद्यखानाका लागि बजेट गएको प्रसङ्ग निकाल्दै सार्वजनिक संस्थानहरूलाई पुँजीगत सहयोग गर्न सकिने तर तलब ख्वाउनका लागि सरकारले रकम दिन नसक्ने प्रष्ट पारे।

'तपाईँहरूको पुँजीगत क्षमता विकासका लागि के चाहिन्छ भन्नुस्,हामी सघाउँछौँ', मन्त्री पौडेलले भने, 'तर उत्पादन नबढाउने अनि सरकारसँग पैसा मागेर तलब र उत्पादन दिन सकिन्न ।'

मन्त्री पौडेलले बजारमा सिंहदरबार वैद्यखानाको औषधी किन्न खोज्दासमेत नपाइने अवस्था आएको भन्दै पर्याप्त कच्चा पदार्थ उपलब्ध नगराउने ठेकेदारलाई कालोसूचीमा राखेर नयाँ विकल्प खोज्न भने।

'प्रधानमन्त्रीज्यूको पनि वैद्यखानाले उत्पादन बढाओस् भन्ने चासो छ', मन्त्री पौडेलले भने, 'बजारमा जति उत्पादन गरे पनि बिक्ने चिज पनि हामी किन बेच्न सक्दैनौँ ?'

मन्त्री पौडेलले तीन दिनभित्र समस्या नभै समाधानसाथ उत्पादन बढाउने योजना ल्याउन पदाधिकारीलाई आग्रह गर्दै भने, 'उत्पादन बढाउने योजनामा बजेट अभाव हुन दिन्नौँ।'

प्रकाशित: ४ पुस २०८१ १२:५३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App