वि.स. २०४५ साल भन्दा अघिसम्म नेपालमा सरुवा रोग, मातृशिशु मृत्युदर, प्रजनन स्वास्थ्यको अवस्था जीर्ण थियो। यिनै समस्यालाई घटाउन स्वास्थ्य सेवामा महिला स्वास्थ्य स्वयंसेविकाको भूमिका सुरु भएको थियो। तर अहिले उनीहरूको भूमिका त्यो रुपमा सीमित छैन।
गर्भवती, सुत्केरीको घरमा पुग्नुदेखि नसर्ने रोगको जनचेतना वृद्धिमा उनीहरूकै योगदान सुरु भएको छ। लामो समयको योगदान स्वरूप राज्यले कदर नगरेको गुनासो उनीहरुले गरेका छन्। बिहीबार महिला स्वास्थ्य स्वयंसेविका दिवसमा सहभागी कीर्तिपुर– ४ की उमादेवी दाहाल २०४५ सालदेखि महिला स्वास्थ्य स्वयंसेविका बनेकी हुन। उनले काम गर्ने ताका महिला स्वास्थ्य स्वयंसेविकाको काम अत्यन्त थोरै थियो। गर्भवतीको घरमा पुग्नु, सुँढेनीको काम गर्नु परिवार नियोजनको साधन वितरण गरे पुग्थ्यो।
अहिले यसको तुलनामा धेरै गुणा काम उनको भागमा पर्छ। गर्भवतीको घरमा जानु, आइरन चक्की तथा जिङ्क चक्की वितरण गर्नु, बालबालिकालाई भिटामिन ए र पोलियो खोप दिनु, नवजात शिशुको हेरचाह, परिवार नियोजनको साधन वितरण गर्नु,घर–घरमा क्लिनिक चलाउनु, वडाको स्वास्थ्य केन्द्रमा सघाउनु जस्ता सबै काम स्वयंसेविकाको भागमा पर्छ। तर यतिका काम गरेपनि उचित मूल्याकंन नहुनु दुःखको कुरा भएको दाहालले बताइन। ‘महिना भरी खट्नु पर्छ, त्यो अनुसारको सरकारबाट उचित सुविधा छैन’उनले भनिन। कुनै कार्यक्रम सञ्चालन गरेबापत एक दिनको चार सय र वर्षमा १२ हजार भत्ता बाहेक कुनै सुविधा नभएको उनले बताइन।
कार्यक्रममा नै भेटिएकी काठमाडौ महानगरपालिका वडा नम्बर ६ की सीता लुइँटेल पनि २०५२ सालदेखि नै महिला स्वास्थ्य स्वयंसेविका बनेकी हुन। स्वयंसेविका सेवामा बिताएका तीस वर्षको अवधिमा थुप्र नयाँ काम थपिएका छन्। पहिला बालबालिकालाई पोलियो थोपा र भिटामिन ए खुवाउने र परिवार नियोजनको साधन वितरण गरे पुग्थ्यो। अहिले यी काम सहित १७ वटा यस्ता कार्यक्रमको जिम्मेवारी पुरा गर्नु पर्छ। यो काममा रात बिहान नभनी खट्नु पर्ने उनी सुनाइन। ‘ कोही राति बिरामी परेमा राति नै अस्पताल लैजानु पर्छ’ उनले भनिन। कोही बाटोमा अलपत्र परेका मानिसलाई पनि अस्पतालमा लैजाने काम उनकै भागमा परेको छ। पछिल्लो समय डेंगी, हात्तीपाइले रोगको काम पनि थपिएको लुइँटेलले सुनाइन। ‘सबै कामको लिखित अभिलेख बुझाउनु पर्ने अनिवार्य नियमले झनै सकस परेको छ’ उनले भनिन।
मध्यपुर नगरपालिका – ५ की महिला स्वास्थ्य स्वयंसेविका लक्ष्मी केशरी श्रेष्ठले कामको दायरा बढी भएर पुरै जसो समय यतै बित्ने गरेको बताइन। मातृशिशु सुरक्षा सम्बन्धी काम, खोप दिनु पर्छ भन्ने काम, आमा समुहमा गएर स्वास्थ्य सचेतनाको काम गर्ने गरेको सुनाइन। ‘सरसफाइ सम्बन्धी काम गर्ने, बेवारिसे बिरामीलाई स्वास्थ्य संस्थामा पुर्याउने र मानसिक स्वास्थ्यको सचेतना काम पनि गर्छु’उनले भनिन। आइपर्ने समसामयिक सरुवा रोगको व्यवस्थापनको काममा पनि खट्ने गरेको उनले बताइन।

स्वास्थ्य स्वयंसेविका दिवसमा सम्मानित भएकी नेपाल स्वास्थ्य स्वयं सेविका सङ्घकी अध्यक्ष वसन्ती महर्जनले स्वयंसेविकाको नाममा काम धेरै भएकोले सरकारबाटै श्रम शोषण भएको बताइन। ‘यति धेरे काम महिला स्वास्थ्य स्वयंसेविकाले काम गरेका छन् कि यसको अनुगमन गरेर हेर्नुहोस्,’ उनले सरकारका प्रतिनिधीलाई लक्षित गर्दै भनिन। निःशुल्क काम गरेर सरकारको आर्थिक भार घटाएका स्वयंसेविकाको योगदानमा आधारित सामाजिक सुरक्षा हुनु पर्ने उनको माग राखिन।
सोही क्रममा स्वास्थ्य स्वयंसेवक सङ्घकी अध्यक्ष गीता थिङ पौडेलले राज्यले हरेक वर्ष महिला स्वास्थ्य स्वयंसेविकालाई धन्यवाद दिएर आलटाल गरेको गुनासो गरिन। स्वसेविकाको भूमिका विना सामुदायिक स्वास्थ्यमा परिवर्तन सम्भव नभएको र पछिल्लो समय उनीहरूको कामको भार बढे अनुसार प्रोत्साहन नहुनुले राज्यबाटै श्रम शोषण भएको बताइन।
पछिल्लो समय देशमा बढ्दो नसर्ने रोग नियन्त्रणको लागि पनि महिला स्वास्थ्य स्वयंसेविकाको भूमिका हुने गरी नीति नियम बन्न लागेको स्वास्थ्य तथा जनसङ्ख्या सचिव रोशन पोखरेलले बताए। पुराना र नयाँ स्वास्थ्य स्वयंसेविका बिच फरक रहेकोले शैक्षिक तह अनुसार शिक्षा र तालिम दिएर व्यवस्थापन गर्न सकिने बताए। ‘कसरी अपनत्व गर्ने भनेर गृहकार्य भइरहेको छ,’ डा. पोखरेलले भने।
कार्यक्रममा नर्सिङ तथा सामाजिक सुरक्षा महाशाखाकी निर्देशक हिरा कुमारी निरौलाले महिला स्वास्थ्य स्वयंसेविकाको अतुलनीय योगदान रहेको बताइन। ‘स्वस्थ समाज निर्माणमा स्वास्थ्य स्वयंसेविकाको भूमिका बढेको छ, जीवनजल वितरणदेखि नसर्ने रोग नियन्त्रणमा समेत उनीहरूको योगदान छ’उनले भनिन। देशभरिमा ५१ हजार ७२४ जना महिला स्वास्थ्य स्वयंसेविका छन्।
प्रकाशित: २० मंसिर २०८१ १८:५१ बिहीबार





