२८ मंसिर २०८१ शुक्रबार
image/svg+xml
स्वास्थ्य

जाडो बढेसँगै डेंगी घट्यो

जाडो बढेसँगै डेंगी संक्रमण घटेको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ। महाशाखामा देशभरबाट प्राप्त डेंगी संक्रमितहरूको संख्या तीन सातादेखि घट्दै गएर यो साता निकै कम संख्यामा नयाँ संक्रमित भेटिएको महाशाखाको कीटजन्य शाखाका प्रमुख गोकर्ण दाहालले जानकारी दिएका हुन्।

तथ्यांकअनुसार डेंगी संक्रमितहरूको ४२औं नम्बरको तथ्यांक अभिलेखबाट घट्दै गएको देखिन्छ, जसमा ४२औं नम्बरको प्रतिवेदनअनुसार नयाँ संक्रमित तथ्यांक २५ सय ८२ जना थियो भने ४३औं सातामा २२ सय ८ जना, ४४ प्रतिवेदनमा आधाभन्दा बढी घटेर एक हजार ७१ जना मात्र नयाँ संक्रमित थिए।

आगामी ४५औं साताको प्रतिवदेनमा पनि झनै घटेको तथ्यांक रहेको प्रारम्भिक संक्रमणको परिणामबाट देखिएको छ। शुक्रबार घोषणा हुने ४५औं श्रेणीमा दुई दिनको लगातार तथ्यांक हेर्दा स्वात्तै घटेको स्थिति रहेको डा. दाहालले बताए। तथ्यांकअनुसार सोमबार अर्थात् कात्तिक १९ गते ४५ जना र बुधबार ९४ जना नयाँ संक्रमित पुष्टि भएका छन्।

तापक्रम हवात्तै घटेकाले अब आउने प्रतिवदेनमा पनि बढ्ने सम्भावना नभएको डा. दाहालले बताए। बुधबारसम्म काठमाडौंको औसत तापक्रम २२ डिग्री सेल्सियस छ। डेंगी सार्ने एडिस एजिप्टाई लामखुट्टेले १८ डिग्रीभन्दा कम तापक्रममा प्रजनन क्रियामा सहभागी हुन नसक्ने भएकाले लामखुट्टेको वृद्धि रोकिने हुन्छ।

३० डिग्रीभन्दा बढी तापक्रममा पनि यो लामखुट्टे बाँच्न नसक्ने भएकाले यी दुवै तापक्रम नेपालको हावापानीमा नरहने भएकाले लामखुट्टेको वृद्धि स्वतः रोकिने डा. दाहाल बताउँछन्। ‘लामखुट्टेको प्रजनन क्रम घट्नेबित्तिकै डेंगी संक्रमण स्वतः घट्छ’, उनले भने।

डेंगी संक्रमण घट्दै गएपछि संक्रमण बाँकी रहेका ठाउँका मानिसहरू सचेत हुन भने आवश्यक रहेको डा. दाहालले बताए। डेंगी संक्रमणको तथ्यांक घटेपछि प्रभावित जिल्लाका जनस्वास्थ्य प्रमुखहरूसँग केही दिनमै बैठक बसी डेंगीको स्थितिका बारेमा थप यकिन गर्ने तयारी भएको दाहालले जानकारी दिए।

तथ्यांक अनुसार गत वर्षको तुलनामा नेपालमा यो वर्ष कम मानिसमा डेंगी संक्रमण पुष्टि भएको महाशाखाको तथ्यांकले औंल्याएको छ। तथ्यांकअनुसार डेंगी संक्रमण चुचुरोमा पुग्दा गत वर्षको अगस्टमा १४ हजार ५ सय ३४ जना संक्रमित थिए भने यो वर्ष अगस्टमा १० हजार ५ सय ९५ जना संक्रमित थिए। यो वर्ष देशभर १२ जनाको डेंगी संक्रमणको कारण मृत्यु भएको छ भने ७६ जिल्लामा संक्रमण फैलिएको छ।

प्रकाशित: २२ कार्तिक २०८१ ०९:०२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App