२२ आश्विन २०८१ मंगलबार
image/svg+xml
स्वास्थ्य

जुम्ला कारागारमा एचआइभी र क्षयरोगको निःशुल्क शिविर

कैदीलाई परिक्षण गरिदै तस्बिर : गोल्डेन बुढा जुम्ला/नागरिक

जिल्ला कारागार जुम्लामा एचआइभी र क्षयरोगको निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको छ।

कारागारभित्र रहेका कैदी बन्दीलाई एचआइभी र क्षयरोगको निःशुल्क शिविर चलाएर स्वास्थ्य परीक्षण गरिएको हो। सबै कैदी बन्दीलाई एकै पटक अस्पताल पुर्‍याउन  नसकिने भएकोले एक दिने शिविर नै राखेर एचआइभी र क्षयरोगको परीक्षण गरिएको हो।

कारागार प्रमुख गयाप्रसाद पाण्डेले ९० जना पुरुष र ५ जना महिला कैदी बन्दीको एचआइभी तथा क्षयरोग परीक्षण गरिएको बताए। जिल्ला कारागार जुम्लामा एक बच्चा सहित ७ जना महिला र १ सय १६ जना पुरुष गरेर १ सय २३ जना कैदी बन्दी छन्। 

जिल्ला प्रहरी कार्यालय जुम्लाको आयोजना र जनस्वास्थ्य सेवा कार्यालय जुम्लाको समन्वयमा कैदी बन्दीको स्वास्थ्य परीक्षण गरिएको प्रहरी नायब उपरीक्षक छेदीलाल कामतीले बताए । 

यही असोज ३० गते ६९ औँ प्रहरी दिवसकाे पूर्वसन्ध्यामा निःशुल्क एचआइभी तथा क्षयरोग शिविर चलाइएको उनको भनाइ छ।

पछिल्लो समयमा कैदी बन्दीको स्वास्थ्यलाई जिल्ला प्रहरी कार्यालय जुम्लाले गहन रुपमा लिइएको छ।

यसअघि पनि निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेर कैदी बन्दीको स्वास्थ्य परीक्षण गरिएको थियो।

प्रमुख जिल्ला अधिकारी रामबहादुर शाहीले कैदी बन्दीको स्वास्थ्य अवस्था बारेमा नियमित जानकारी लिनुपर्ने बताए। कारागारमा स्वास्थ्य सेवाको पहुँच बढाउन र कैदी बन्दी बसेकै स्थानबाट स्वास्थ्य सेवा प्रदान गर्नु अहिलेको आवश्यकता हो,प्रमुख जिल्ला अधिकारी शाहीले भने, ‘प्रहरी कार्यालय जुम्लाले कैदीकन्दीको स्वास्थ्य अवस्था बुझ्न सहज बनाइरहेको छ।

रोग अनुसारको औषधि प्रयोग गर्न समेत सहज बनाएको छ। यो राम्रो पक्ष हो।’जटिल प्रकारका रोगहरू समयमै पत्ता लगाएर अस्पताल र उपयुक्त विशष्टिकृत अस्पतालमा रेफर गर्न स्वास्थ्य शिविरले महत्त्वपूर्ण काम गर्ने समेत अपेक्षा गरिएको छ।

उनले पारिवारिक वातावरणमा बसेर आगामी जीवन सुधारमूलक बनाउन समेत आग्रह गरे।यता जिल्ला समन्वय समितिका प्रमुख गौरीनन्द आचार्यले सामूहिक बसाइ,खानपान,जीवनशैली परिमार्जन गर्दै व्यक्तिगत सरसफाई,खानपिन र जीवन शैलीमा सुधार ल्याउने समेतका बिषयमा प्रहरीले देखाएको सक्रियताको प्रशंसा गरे। 

कैदी बन्दीलाई लक्षित गर्दै स्वास्थ्य परीक्षणको व्यवस्था मिलाउनु राम्रो पक्ष भएकोमा जोड दिए। जनस्वास्थ्य सेवा कार्यालय जुम्लाका जनस्वास्थ्य निरीक्षक प्रेम सुमाइले कैदी बन्दीको स्वास्थ्य परीक्षण गरिएको बताए । यसअघि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाका चिकित्सकहरूले  कैदी बन्दीको स्वास्थ्य परीक्षण गरेका हुन । साथै रोग अनुसारको औषधि समेत प्रदान गरिएको थियो।

प्रकाशित: २२ आश्विन २०८१ १८:५२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App