२१ आश्विन २०८१ सोमबार
image/svg+xml
स्वास्थ्य

स्नातकोत्तर तहको अध्यापनको लागि शिक्षक दरबन्दी थप्ने निर्णय

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय चिकित्सा शिक्षा स्नातकोत्तर तहमा नर्स तथा चिकित्सा अध्यापनको लागि शिक्षक दरबन्दी थप्ने निर्णय गरेको छ।

आइतबार स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदिप पौडेलको उपस्थितिमा राष्ट्रिय चिकित्सा विज्ञान प्रतिष्ठानको सिनेटको ३१ औं  बैठक बसी उक्त निर्णय गरेको हो।

न्याम्स अन्तर्गतका सरकारी मेडिकल तथा नर्सिङ कलेज स्नातकोत्तर  चिकित्सक तथा नर्स अध्यापनको लागि आवश्यक दरबन्दी स्वीकृत गरेको हो। मन्त्री पौडेलले गत साउन २७ गते सार्वजनिक गरेको योजना तथा प्राथमिकतामा दक्ष चिकित्सक अभाव कम गर्न सरकारी मेडिकल कलेजहरूमा पोस्ट ग्र्याजुएट विद्यार्थीको कोटा थप्न पहल गर्ने निर्णय गरेका थिए। न्याम्स अन्तर्गत चार  सय जना स्नातकोत्तर तहमा विद्यार्थी  थप्ने गरी शिक्षक कोटा वृद्धि गर्ने गरी दरबन्दी लिने निर्णय भएको हो।

चिकित्सा शिक्षा स्नातकोत्तर तहमा देखा परेको दक्ष चिकित्सकको अभावलाई पुरा गर्ने उद्देश्यले दरबन्दी थप्ने निर्णय गरेको स्वास्थ्य तथा जनसंख्या मन्त्री पौडेलले बताए। बैठकमा मन्त्री पौडेलले देशमा दक्ष चिकित्सक अभाव कम गर्नका लागि यस निर्णय ऐतिहासिक हुने विश्वास व्यक्त गर्दै यसको प्रभावकारी कार्यान्वयनका लागि प्रतिष्ठानलाई निर्देशन दिएका थिए।

यससँगै अब देशैभरका सरकारी चिकित्सा तथा नर्सिङ कलेजमा ४ सय सम्म स्नातकोत्तर तहका विद्यार्थीलाई थप अध्ययन गराउन सकिने प्रतिष्ठानका उपकुलपति प्राध्यापक  डाक्टर भुपेन्द्रकुमार बस्नेतले जानकारी दिए।

‘सरकारी कलेजमा पोस्ट ग्र्याजुएट विद्यार्थीको अध्ययन कोटा कम भएको अवस्थामा यो निर्णयले ठूलोसंख्यामा विद्यार्थी थप गराउन सघाउनेछ,’ उनले भने।

अहिले प्रतिष्ठानमार्फत शैक्षिक आबद्धता लिएका सरकारी मेडिकल तथा नर्सिङ कलेजहरूमा एक सय १२ जना विद्यार्थी वार्षिक रुपमा स्नातक अध्ययन गरिरहेका छन्। शिक्षक अभावमा दक्ष चिकित्सा जनशक्ति अभाव भए पनि विद्यार्थी थप गर्न नसकिएको अवस्थामा यो निर्णयले सहायता पुग्ने विश्वास गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर प्रकाश बुढाथोकीले जानकारी दिए।

बैठकले यसअघि न्याम्सअन्र्तगत शैक्षिक आबद्धता लिएका आंगिक कलेज भरतपुर अस्पताल कोशी अस्पतालसँगै नारायणी र भेरीमा अस्पताललाईसमेत आबद्धता दिने निर्णय गरेको छ।

ती सबै अस्पतालका लागि आवश्यक शिक्षक दरबन्दी स्वीकृत भएको छ। यसैगरी, मेची आँखा अस्पताल, गेटा आँखा अस्पताल, सशस्त्र प्रहरी अस्पताल, नेपाल अथोप्डिक अस्पतालका लागिसमेत पोस्ट ग्र्याजुएट अध्ययनमा विद्यार्थी थप्न सघाउने गरी शिक्षक दरबन्दी थप भएको छ।

नर्सिंङ क्याम्पस, भरतपुर नर्सिङ क्याम्पस, कान्ति नर्सिङ क्याम्पस, निजामती नर्सिङ क्याम्पस तथा सशस्त्रको नर्सिङ क्याम्पसका लागिसमेत शिक्षक दरबन्दी स्वीकृत गरिएको उपकुलपति बस्नेतले जानकारी दिए।

बैठकले प्रतिष्ठानले एमबीबीएस अध्ययन थाल्नेसमेत निर्णय गरेको छ। प्रतिष्ठान अन्तर्गत रहेका वीर अस्पताल, ट्रमा सेन्टर तथा नर्सिङ क्याम्पसलाई अब एमबीबीएस अध्ययन थाल्नसमेत यस निर्णयले बाटो खुला भएको उपकुलपति बस्नेतले जानकारी दिए।

प्रकाशित: २१ आश्विन २०८१ १७:१३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App