१३ आश्विन २०८१ आइतबार
image/svg+xml
स्वास्थ्य

नेशनल कार्डियक सेन्टरद्वारा सशस्त्र प्रहरीलाई सीपीआर तालिम प्रदान

नेशनल कार्डियक सेन्टरले सशस्त्र प्रहरीलाई कार्डियोपल्मोनरी रिससिटेशन (सीपीआर) तालिम दिएको छ । उक्त तालिमले आकस्मिक अवस्थामा मुटुले काम गर्न छोडेको बेला मानिसको कसरी जीवन रक्षा गर्न सकिन्छ भन्ने बारेमा ज्ञान तथा सीप प्रदान गर्दछ ।

विश्व मुटु दिवस २०२४ को सन्दर्भ पारेर नेशनल कार्डियक सेन्टर बसुन्धाराले सशस्त्र प्रहरीका ५० जनासहित करिब २५० जना सर्वसाधारणलाई बेसिक लाइफ सपोर्ट र अन्य आपत्कालीन परिस्थितिमा पीडितको जीवन रक्षाको लागि उदाहरणसहित आवश्यक जानकारी समेटिएको प्रस्तुति दिइएको थियो ।

ह्दयघात भएको, अचानक मुटुको धड्कन तथा श्वास प्रश्वास रोकिएको अवस्थामा सीपीआर आवश्यक हुन्छ । त्यस्तै मानिस डुबेर अचेत वा श्वासप्रश्वास बन्द भएको, विद्युत्को झट्का लागेको, दुर्घटना वा अन्य कारणले अत्यधिक रक्तस्राव तथा गम्भीर चोटपटक लागेको बेलामा स्वास्थ्यकर्मी र स्वास्थ्य संस्थाको पहुँचमा नरहेको स्थितिमा तुरुन्तै सीपीआर गर्दा जीवन रक्षा गर्न सहयोग हुन्छ । यसले रक्त सञ्चार कायम राख्ने, मस्तिष्कमा आवश्यक अक्सिजन पु¥याउनुका साथै श्वास प्रश्वासलाई पुनः सुरु गर्न मद्दत पुर्‍याउँछ ।

दुर्घटना तथा प्राकृतिक विपद्का बेला उद्दारका निम्ति तुरुन्तै घटनास्थलमा सुरक्षाकर्मी पुग्ने भएकाले स्वास्थ्य हेरचाहमा दक्ष बनाउन सो तालिम प्रदान गरिएको थियो । अनुसन्धान अनुसार सीपीआर दिने व्यक्तिले सही तालिम प्राप्त गरेको र प्रभावकारी ढंगले दिन सक्ने हो भने मानिसको बाँच्ने सम्भावनालाई तीन गुणासम्म बढाउन सकिन्छ ।

तालिम प्रदान गर्दै वरिष्ठ मुटुरोग विशेषज्ञ डा.ओममूर्ति अनिलले अटोमेटेड एक्सटर्नल डिफ्रिब्लेटर (एईडी)को  प्रयोग नेपालमा सार्वजनिक स्थानहरुमा आवश्यकता भएको बारेमा जोड दिए । यो ‘कार्डियक एरेस्ट’ भएको व्यक्तिलाई विद्युतीय झड्का दिनका लागि प्रयोग गरिन्छ । जसको मद्दतले मृत्युको मुखमा पुगेको व्यक्तिलाई जोगाउन सकिन्छ । विकसित राष्ट्रहरूमा सर्वसुलभ भए पनि हाल नेपालमा भने एईडीको उपलब्धता दुर्लभ छ ।

तालिमका सहभागी सशस्त्र प्रहरी उपरीक्षक धीरेन्द्रराज न्यौपानले सीपीआर तालिमले आपत्कालीन अवस्थामा धैर्यता, आत्मविश्वास र सही निर्णय क्षमता विकास गर्न सहयोग पुगेको बताए । उनले तालिम उपयोगी भएको र यसलाई बृहत् रुपमा सुरक्षाकर्मी र आम मानिसको लागि आवश्यक रहेको बताए ।  

जनताको सुरक्षाको मात्र होइन, आकस्मिक स्वास्थ्य सेवाको पनि जिम्मेवारी लिन सक्ने क्षमता देखाउँदा समुदायमा सुरक्षाकर्मीप्रतिको विश्वास बढ्नुका साथै जनसेवा गर्न मद्दत पुग्ने भन्दै सरकारी वा निजी संस्थाले यस्ता कार्यलाई व्यापक बनाउँदै लैजानुपर्ने अर्को सशस्त्र प्रहरी उपरीक्षक माधव रेग्मीको भनाइ छ । नेशनल कार्डियक सेन्टरले जीवन रक्षा तालिमसँगै अन्य आपत्कालीन स्वास्थ्य सीपको तालिम प्रदान गर्दै आएको छ । विभिन्न अवसरमा सेन्टरले मुटुरोगका कारणहरूको स्क्रिनिङ, निःशुल्क मुटु जाँच, स्वास्थ्य शिविर, सचेतनामूलक कार्यक्रम सञ्चालन गर्दै आएको छ ।

प्रकाशित: १३ आश्विन २०८१ १६:५४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App