९ आश्विन २०८१ बुधबार
image/svg+xml
स्वास्थ्य

खाडीबाट फर्किने अधिकांशमा मिर्गौलाको समस्या

वैदेशिक रोजगारीमा गएकाहरू आर्थिक उपार्जन गरेर मात्र फर्किरहेका छैनन्, स्वास्थ्य समस्यासमेत बोकेर आइरहेका छन्। त्यसमा पनि विशेष गरी मिर्गाैलासम्बन्धी समस्या लिएर नेपाल फर्कनेको संख्या धेरै छ। मिर्गाैलासम्बन्धी समस्या बोकेर आउनेमा ९५ प्रतिशत पुरुष छन्।

वैदेशिक रोजगार बोर्डको तथ्यांकअनुसार गत आर्थिक वर्ष २०८०/८१ मा मात्रै रोजगारीका लागि विभिन्न मुलुक पुगेका ८७ जना श्रमिकहरू मिर्गौला खराबीको समस्या बोकेर नेपाल फर्किएका थिए भने सातजनाको मृत्यु भएको थियो। त्यसअघिको आव २०७९/८० मा ५९ जना मिर्गाैलासम्बन्धी लिएर अएका थिए भने दुईजनाको मृत्यु भएको थियो। चालु आव २०८१÷८२ असोज मा पनि एक जना मिर्गाैला समस्या लिएर स्वदेश फर्केका छन् भने तीनजनाको मृत्यु भइसकेको छ।

यो संख्या वैदेशिक रोजगार बोर्डबाट आर्थिक सहायता लिएकाहरूको मात्रै हो। मिर्गौला खराब भई फर्केर पनि बोर्डबाट आर्थिक सहायता नलिएकाहरूको संख्या उत्तिकै छ। तर यस्ताको संख्या कति हो भन्ने आँकडा सरकारसँग छैन।

वैदेशिक रोजगारीमा जाँदाखेरि नै व्यक्ति चनाखो हुनुपर्ने बोर्डका सूचना अधिकारी टीकाराम ढकाल बताउँछन्। वैदेशिक रोजगारीका लागि जाने देशको हावापानी र रहनसहनबारे व्यक्ति स्वयं पनि जानकार हुनुपर्ने उनको भनाइ छ। खाडी मुलुकबाट फर्केका ४० वर्षमुनिका पुरुष र महिला मिर्गाैला समस्या लिएर आउने गरेको उनी बताउँछन्। खाडी मुलुक र मलेसियामा रोजगारका लागि पुगेका युवामा मिर्गाैला र मुटुको समस्या अत्यधिक मात्रामा देखिएको सूचना अधिकारी ढकालले जानकारी दिए। विभिन्न अध्ययन–अनुसन्धानअनुसार खाडीको चर्को गर्मीमा एकदमै कडा परिश्रम गर्ने युवाहरूमा मिर्गौला खराबीको समस्या बढ्दो देखिएको उनले बताए।

‘अत्यधिक तापक्रम भएका खाडी मुलुक तथा मलेसियामा काम गर्ने ठुलो संख्याका श्रमिकहरूमा मिर्गौला खराब हुने समस्या देखिएको छ,’ ढकालले भने, ‘दिनभरि चर्को घाममा काम गर्छन्  र एसीमा आएर सुत्छन्। खाडीमा राम्रो पिउने पानी नभएका कारण प्रायः श्रमिक आफैं पानी किनेर पनि खान्छन्। कम तलब हुने उनीहरू पानी प्रशस्त किनेर खान सक्दैनन्। कम पानी खान्छन्।’

खाडी मुलुकको तातोमा काम गर्ने नेपालीहरूमा मिर्गाैलाको समस्या भयावह बन्दै गएको उनी बताउँछन्। वैदेशिक रोजगारीमा गएका श्रमिकहरू विभिन्न रोगले थलिएर, बिरामी भएर, सडक दुर्घटनामा परेर अंगभंग भई नेपाल फर्कने गरेका घटना थुप्रै छन्। त्यसैगरी हृदयाघात, क्यान्सर रोगको सिकार भएर फर्कनेहरू र कार्यस्थल दुर्घटनामा परेर अंगभंग भई नेपाल फर्कनेको संख्या पनि दैनिक हुने गरेको बोर्डका अधिकारीहरू बताउँछन्।

वैदेशिक रोजगार नियमावली २०६४ अनुसार वैदेशिक रोजगारीमा गएका श्रमिकहरूको करार अवधि सकिएको एक वर्षभित्र कुनै कारणले मृत्यु तथा अंगभंग भए, गम्भीर बिरामी भए बोर्डले आर्थिक सहायता उपलब्ध गराउँछ। बोर्डले वैदेशिक रोजगारीका क्रममा विभिन्न किसिमका रोग तथा बिरामी भएर फर्केकाहरूलाई आर्थिक सहायता उपलब्ध गराउँदै आएको छ। यस्तो सहायता वैदेशिक रोजगारीमा जाने क्रममा श्रमिकहरूले जम्मा गरेको कल्याणकारी कोषको रकमबाट उपलब्ध गराइन्छ।

बोर्डले विदेशबाट फर्केका श्रमिकको अंगभंग वा रोगको प्रकृति हेरेर बिरामी वा घाइते व्यक्तिलाई बोर्डले २५ हजारदेखि सात लाख रूपैयाँसम्म आर्थिक सहायता उपलब्ध गराउँदै आएको छ। वैदेशिक रोजगारबाट फर्किएका कतिपयलाई यस्तो सुविधाबारे जानकारी रकम पाउनबाट वञ्चित हुने गरेका छन्।

पछिल्लो समय सरकारले वैदेशिक रोजगारीका क्रममा मृत्यु भएका श्रमिकका परिवारलाई दिइने आर्थिक सहायता बढाउने आश्वासन दिइरहेको छ। तर बिरामीको सहायता बढाउने विषय भने उठेको छैन। वैदेशिक रोजगारीमा जाने कतिपय युवालाई म्यानपावर तथा एजेन्टले शरीरिक समस्या हुँदाहुँदै पनि स्वास्थ्य संस्थाहरूसँग कुराकानी मिलाएर नक्कली कागजात बनाएर पठाउने गरेका हुन्छन्। जसले गर्दा विदेश पुगेका युवाहरूमा यावत् रोगले च्याप्ने गरेको छ।

वैदेशिक रोजगारीबाट मिर्गाैला समस्या बोकेर फर्किएका श्रमिकहरूले तोकिएको समयभन्दा बढी दैनिक काम गर्ने र महिनाको एक दिन पनि बिदा लिने नगरेको बोर्डका अधिकारीहरू बताउँछन्।

त्यस्तै वैदेशिक रोजगारमा गएका व्यक्तिमध्ये पनि न्यून आय भएका र सूचनाको पहुँचमा नभएका दूरदराजका व्यक्ति बढी भएको सरकारी तथ्यांक छ। यसरी मिर्गाैला रोगी दिनप्रतिदिन बढ्दै जाँदा पालिका, स्थानीयस्तर र सरकारबाट जनचेतनामूलक कार्यक्रम प्रभावकारी रूपमा सञ्चालन गर्नुपर्ने देखिन्छ।

प्रकाशित: ९ आश्विन २०८१ ०८:२३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App