२७ भाद्र २०८१ बिहीबार
image/svg+xml
स्वास्थ्य

भक्तपुरमा मुटुको सेवा छ,सुविधा छैन

भक्तपुरमै हृदयघात (हट एटेक) को उपचार सेवा भए पनि जिल्लावासी यो सुविधा पाउनबाट वञ्चित भएका छन् । शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र दुधपाटी भक्तपुरमा यो सेवा भए पनि सुविधा भने पाएका छैनन् ।

केन्द्रको मुटु फोक्सो तथा नशा विभागका प्रमुख डा सञ्जित शाह (विभागीय कारबाहीमा परेका) डा पुकारको सङ्कीर्ण सोचका कारण मुटु सेवा हुँदा हुँदै पनि सुविधा विहीन भएको बताउँछन् । सामान मात्रै करोडौँ होइन, अर्वाेका छन्, जनशक्ति पनि छ, उनले भने, छोटोमा सबै छ, तर सुविधा छैन।

केन्द्रमा मृर्गाैला , कलेजो, मुटु, फोक्सो तथा नशाको मुख्य सेवा छन् । तर यहाँ सुविधा मृर्गाैला र कलेजोको मात्रै भएको उनी सुनाउँछन् । यही कारण धेरै भक्तपुर बासीहरू हृदयघातबाट अकालमा ज्यान गुमाउन बाध्य भइरहेको उनले सुनाए ।

मृत्युपछि मानिसका आठ वटा अङ्ग प्रत्यारोपण गर्न सकिन्छ, तर यहाँ मृर्गाैला र कलेजको मात्रै प्रत्यारोपण भइरहेको छ, भक्तपुर डाक्टर एसोसिएसनका अध्यक्षसमेत रहेका डा शाहले थपे । केन्द्र सञ्चालनमा आएको १२ वर्षमा औलामा गन्न सकिने मानिसले मात्रै केन्द्रमा मुटुको सेवा पनि छ भनेर थाहा पाएको उनको भनाई छ ।

एक जना पीडित विकास बज्राचार्यले घर नजिकै सेवा भए पनि सुविधा नभएको भन्दै दुःख व्यक्त गरे । जिल्लामै सुविधा लिन नपाउँदा आफ्ना भाइको अकालमा ज्यान गएको दुःख उनले बिसाए । यही कारण वर्षाैदेखि सचेत समूहले यसबारे ध्यानाकर्षण गराइरहेको उनले बताए ।

केन्द्रको तथ्याङ्क अनुसार हालसम्म एक हजार तीन सय जनाको मिर्गौला प्रत्यारोपण गर्न केन्द्र सफल भएको छ । सो केन्द्रमा हालसम्म २८ जनाको कलेजो प्रत्यारोपण भएको पनि तथ्याङ्क छ । गत आर्थिक वर्ष २०८०÷८१ मा एक सय ९६ जनाको मिर्गौला र १५ जनाको कलेजो गरी जम्मा दुई सय ११ जनाको प्रत्यारोपण शतप्रतिशत सफलताका साथ सम्पन्न गरेको केन्द्रले जनाएको छ। केन्द्रले एक हजार तीन सय जनाको मिर्गौला र २८ जनाको कलेजो प्रत्यारोपण सफलतापूर्वक सम्पन्न गरेको खुसीयाली पनि मनाएको छ ।

केन्द्रका प्रमुख प्रशासकीय अधिकृत हरिहर पोखरेल जनशक्ति अभावका कारण सुविधा दिन नसकेको बताउँछन् । विभागीय प्रमुख डा सञ्जित शाह विभागीय कारबाहीमा परेकोले प्रमुख चिकित्सकको अभावमा मुटुको शल्यक्रिया सेवा दिन नसकेको उनले बताए । हामीले धेरै पटक जनशक्ति माग गरी विज्ञापन गरयौं, उनले भने, तर पनि पाएका छैनौँ । 

यस विषयका विशेषज्ञ चिकित्सक नेपालमै पनि दुई चार दर्जनमै सीमित भएकोले जनशक्ति नपाएको उनको भनाई छ । यसबाहेक कार्यालय समयमा मुटुको सामान्य सेवा दिइरहेको उनले जनाए । मुटुको बिरामीका लागि प्राथमिक सेवाको रुपमा रहेको फिजिसियन सेवा रहेको उनको भनाई हो ।   

प्रकाशित: १८ भाद्र २०८१ २०:५० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App