२७ भाद्र २०८१ बिहीबार
image/svg+xml
स्वास्थ्य

'बाँकेको नैरनापुरमा मृत्युको कारण झाडापखाला नहुन सक्छ’

फाइल तस्बिर

बाँकेको नैरनापुर गाउँपालिका वडा नम्वर ३ गैगलमा तीन दिनको अवधिमा चार जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ६० वर्षीया शान्ति पासी, १० वर्षाीया युसुफ अली, २५ वर्षीय नन्दनी पासी र २५ वर्षीय रुसी पासी छन् । मृतक मध्येमा भदौ १४ गते शान्ति पासी, १५ गते रुसा पासी र नन्दनी पासी र १६ गते युसुफ अलीको मृत्यु भएको हो ।  

गाउँपालिका वडा नम्वर ३ का अध्यक्ष अजयकुमार मिश्रका अनुसार तीन दिनको अवधिमा चार जनाको मृत्यु भएको हो । अत्यन्तै छोटो अवधिमा उनीहरुको मृत्यु भएको बताउँदै मिश्रले उनीहरुमा सुरुमा टाउको दुख्ने र पखाला लाग्ने भएको केही एक दिन नकट्दै मृत्यु भएको देखिएको जानकारी दिए । 

संगै बिरामी परेकामध्ये एक जनालाई  राप्ती अस्पताल रेफर गरेकोमा उनको भने स्वास्थ्यमा सुधार देखिएको छ । उक्त गाउँमा कुल १५ जनामा एकै प्रकारको लक्षण देखिएको छ । बिरामी र गाउँले सबैले स्थानीय धाराको पानी पिउने गरेका छन् ।  

घटनालगत्तै इपिडिमोलोजी तथा रोेग नियन्त्रण महाशाखाले अध्ययनका लागि स्थानीय स्वास्थ्य कार्यालय, स्थानीय निकायसँग सम्पर्क गरेको जनाएको छ । सम्पर्कको क्रममा बिरामी सीमाना नजिकैको भारतीय अस्पतालमा उपचार भएकोले यकिन कारण थाहा हुन नसकेको महाशाखा महामारी व्यवस्थापन शाखाका प्रमुख डा. मुकेश पौडेलले बताए ।  

पौडेलले झाडापखालाका कारण यति छोटो अवधिमा मृत्यु हुनु नपर्ने भएपनि कारण भने यकिन हुन नसकेको उल्लेख गरे । झाडापखाला नै भए बिरामी भएको केही दिनपछि मात्रै उनीहरु चिकित्सकको सम्पर्कमा आएको हुन सक्ने उनको भनाइ छ ।  

झाडापखाला या हैजा भएमा पनि पर्याप्त पानी पिउन पाएमा संक्रमितको मृत्यु छिटो नहुने उनको भनाइ छ । ‘उनीहरुको मृत्युको कारण फुडप्वाइजन पनि हुन सक्छ, थप परिक्षण र खोजी भइरहेको छ’ उनले भने ।  

प्रकाशित: १७ भाद्र २०८१ १८:०० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App