१० मंसिर २०८१ सोमबार
image/svg+xml
स्वास्थ्य

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा श्रमदान सुरु

जुम्लाको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा श्रमदान सुरु गरिएको छ। प्रतिष्ठानका उपकुलपति डा. मंगल रावलको संयोजकत्वमा श्रमदान सुरु गरिएको हो।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको हाताभित्र रहेको फोहोर हटाउने र एकेडेमी भवन परिसरमा रहेका ढुंगा र माटो उठाइ व्यवस्थापन गर्ने काम शनिबार भएको जनाइएकाे छ।

प्रतिष्ठानको प्रथम दीक्षान्त समारोह तथा नयाँ शैक्षिक भवन उद्घाटनको समय नजिकिँदै गर्दा उपकुलपति डा. रावलको नेतृत्वमा श्रमदान सुरु गरेको हो।

श्रमदानलाई प्रतिष्ठानको सरसफाइ अभियानका रूपमा अघि बढाउने उपकुलपति डा. रावल बताउँछन्। रावलले भने,‘भदौ यहीँ १६ देखि २१ गतेसम्म अन्तरमेडिकल कलेज खेलकुद सप्ताह हुँदै छ, जसका लागि पनि श्रमदानले राम्रो योगदान दिने विश्वास गरिएको छ।

उपकुलपतिका अनुसार, ‘श्रमदानले सकारात्मक सन्देश फैलाउन सकिन्छ भन्ने मान्यता स्थापित गर्न थालिएको छ।’ श्रमदानमा प्रतिष्ठानका रजिष्ट्रार नृपेन्द्र महत, शिक्षाध्यक्ष डबलबहादुर धामीलगायत पदाधिकारीहरू, शिक्षक तथा चिकित्सकहरू, कर्मचारी, सेक्युरिटीहरू, हेल्परहरूदेखि सबै विभागका विद्यार्थी सहभागी थिए।

डा. रावलले हरेक शनिबार श्रमदान गर्ने वातावरण बनाउन पहल हुने बताए। प्रतिष्ठानको प्रथम दीक्षान्त समारोह भदौ २३ गते हुँदैछ। प्रधानमन्त्री तथा कुलपति केपी शर्मा ओली लगायतको टोली जुम्ला आउनेछ।

दीक्षान्त समारोहमा प्रधानमन्त्री ओलीसँगै सहकुलपति समेत रहेका स्वास्थ्यमन्त्री प्रदीप पौडेल, चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष प्रोफेसर डा.अन्जनी कुमार झा र स्वास्थ्य सचिव डा. रोशन पोखरेल पनि जुम्ला आउँदैछन्।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान स्वास्थ्य पर्यटनको केन्द्र बन्न सक्ने भएकाले श्रमदानबाट पनि सुन्दर बनाउने प्रयास भइरहेको प्रतिष्ठानले जनाएको छ।

सधैं आला बोकेर बिरामीको उपचार गर्ने चिकित्सक, किताब बोकेर पढाउने शिक्षक र प्रशासनिक कामकाजमा व्यस्त प्रतिष्ठान पदाधिकारीहरू श्रमदानमा सरसफाइ अभियानमा जुटेको देख्दा स्थानीयहरु उत्साहित छन्।

पछिल्लो समयमा श्रमदानको चलन हराउँदै जान थालेको छ। रावलले श्रमदानले पनि ठूलठूला काम गर्न सकिन्छ भन्ने सन्देश फैलाउन सुरु गरेको बताए।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला विसं २०६८ साल देखि सञ्चालनमा आएको हो। अहिले एमबीबीएस तथा नर्सिङका अन्य कार्यक्रम समेत सुरु भएका छन्।

प्रकाशित: ८ भाद्र २०८१ १३:२८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App