१० मंसिर २०८१ सोमबार
image/svg+xml
स्वास्थ्य

काभ्रेका पाँच स्थानीय तहद्वारा पूर्ण खोप सुनिश्चित घोषणा

काभ्रेपलाञ्चोकमा हालसम्म पाँच स्थानीय तहले पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरेका छन्। जन्मदेखि २३ महिनासम्म तथा नियमित खोप तालिकामा छुटेका सम्पूर्ण बालबालिकालाई खोप लगाइसकेपछि ती तहले पूर्ण खोप सुनिश्चितता घोषणा गरेका हुन्।

काभ्रेमा ६ नगरपालिका र ७ गाउँपालिका छन्। हालसम्म तीन नगर र दुई गाउँपालिकाले पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरेका हुन्। शुक्रबार भुम्लु गाउँपालिकाले एक कार्यक्रम आयोजना गरी अध्यक्ष प्रेमबहादुर भुजेल, जिल्ला समन्वय समिति उपप्रमुख रिमबहादुर तामाङ, गाउँपालिका उपाध्यक्ष जितेन्द्रमान तामाङ, जनस्वास्थ्य कार्यालय प्रमुख रागीश्री कक्षपती श्रेष्ठ लगायत सरोकारवालाको उपस्थितिमा घोषणा गरिएको हो। गाउँपालिकाभित्रका जन्मदेखि २३ महिनासम्म करिब चार सय बालबालिकालाई पूर्ण खोप प्रदान गरिएको स्वास्थ्य शाखा संयोजक सुदर्शन भट्टराईले जानकारी दिए।

यस्तै पनौती नगरलाई साउन पहिलो साता पूर्णखोप सुनिश्चित स्थानीय तह घोषणा गरिएको थियो। नगरलाई १६ महिनादेखि ५९ महिनासम्मका सबै बालबालिकालाई १५ महिनाको उमेरभित्र पाउनुपर्ने सबै खोप दिलाई पूर्ण खोप दिलाएको सुनिश्चितता प्रमाणपत्रसमेत प्रदान गरिएको थियो। राष्ट्रिय पूर्ण खोप निर्देशिकाबमोजिम सम्पूर्ण प्रक्रिया पूरा गरेको पनौती नगरलाई जिल्ला खोप समन्वय समितिले प्रमाणपत्र प्रदान गरेको हो।

काभ्रेको पनौतीसहित पाँच स्थानीय तहले आफ्नो पालिका पूर्ण खोप सुनिश्चित घोषणा गरेका हुन्। यसअघि धुलिखेल नगर, नमोबुद्ध नगर र रोशी गाउँपालिकाले पूर्ण खोप सुनिश्चित स्थानीय तह घोषणा गरेका हुन्। जिल्लाका अन्य बाँकी आठ स्थानीय तह घोषणाको तयारीमा जुटिरहेको जनाइएको छ।

गत असार दोस्रो साता धुलिखेल नगरलाई जिल्लामा पहिलो ‘पूर्ण खोप सुनिश्चितता दिगोपना’ नगर घोषणा गरिएको थियो। बर्सेनि पूर्ण खोप सुनिश्चितता नगर घोषणा गर्दै आएको धुलिखेल पहिलो स्वस्थ नगर घोाषणा तयारीमा रहेको जनाइएको छ। ‘धुलिखेल नगर नेपालकै पहिलो स्वस्थ नगर घोषणाको तयारीमा छौं’, नगर प्रमुख अशोक ब्याञ्जुले भने।

उनले स्थानीय नागरिकको घरपरिवार सर्वेक्षणमार्फत सबै खालका रोग, समस्या तथा स्वास्थ्य सेवाको आवश्यकताबारे जानकारी लिंदै स्वास्थ्य सेवाको पहुँचमा पुर्‍याउने गरी असक्त, अपांगता भएका, गरिब, दलित, सीमान्तकृत तथा ज्येष्ठ नागरिकका हकमा विशेष व्यवस्था गरिएको बताए।

धुलिखेलले पहिलोपटक २०६४ सालमै पूर्ण खोप सुनिश्चित भएको नगर घोषणा गरेको थियो। हाल १५ महिनादेखि दुई वर्षसम्मका सम्पूर्ण बालबालिकालाई पूर्ण खोप लगाएको वडास्तरबाट घोषणा हुँदै नगरलाई पूर्ण खोप सुनिश्चितता भएको हो।

सात प्रदेशमध्ये पूर्ण खोप सुनिश्चित घोषणा गर्न बाँकी बागमती प्रदेशभित्रको जिल्लास्थित स्थानीय तहहरूमा घोषणाको तयारी भइरहेको जनाइएको छ। नेपालमा सन् २०१२ बाट पूर्ण खोप सुनिश्चितताको सुरुआत भएको थियो।

–रासस

प्रकाशित: २६ श्रावण २०८१ १३:३६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App