७ मंसिर २०८१ शुक्रबार
image/svg+xml
स्वास्थ्य

‘बोइलर कुखुराको कलेजो नखानू’, मापदण्डभन्दा बढी एन्टिबायोटिक

बढी मात्रामा दैैनिक उपभोग गरिने बोइलर कुखराको मासुमा मापदण्डभन्दा बढी एन्टिबायोटिकको मात्रा देखिएको पाइएको छ। पछिल्ला प्रतिवेदनहरूले कुखुराको मासुका नमुनामा एन्टिबायोटिकको मात्रा बढी रहेको औंल्याएका छन्। अझ मासुमा भन्दा कलेजोका नमुनाहरूमा एन्टिबायोटिक बढी देखिएको छ।

भेटेरिनरी गुणस्तर तथा औषधी नियमन प्रयोगशालाको २०७९/०८० को तथ्यांकअनुसार ७१ वटा नमुनामा एन्टिबायोटिक परीक्षण गर्दा चारवटा कुखुराको मासुमा जेन्टामाइसिनको तह बढी पाइएको हो। त्यो वर्ष प्रयोगशालाले ४१ वटा नमुनामा टेट्रासाइक्लिन, ४१ वटामा कोलोस्टिन र ३८ वटामा सिफ्रोफ्लाक्सिनको मात्रा परीक्षण गरेको थियो। यी सबै औषधी एन्टिबायोटिक समूहमा पर्छन्।

त्यसैगरी भेटेरिनरी गुणस्तर तथा औषधी नियम शाखाले आर्थिक वर्ष २०७८/०७९ मा गरेको इलाइजा प्रक्रियाबाट गरिएको ८० वटा नमुनामा दुईवटा कुखुराका मासु र चारवटा कलेजोमा सिफ्रोफ्लाक्सिन नामक एन्टिबायोटिक मापदण्डभन्दा बढी भेटिएको थियो। सोही प्रयोगशालाले आव २०७७/०७८ मा गरेको ८० वटा कोलोस्टिन सल्फेट र ४१ वटा टेट्रासाइक्लिन परीक्षण गरेकोमा कुनैमा पनि एन्टिबायोटिक देखिएन।

केन्द्रीय पशुपंक्षी रोग तथा अन्वेषण प्रयोगशालाले आव २०७८/०७९ मा सार्वजनिक गरेको प्रतिवेदनअनुसार कैलालीबाट संकलन गरिएको ४२ वटा कुखुराका मासुमध्ये एउटा नमुनामा जेन्टामाइसिनको मात्रा मापदण्डभन्दा बढी पाइएको थियो। उक्त नमुना कैलालीका मासु पसलहरूबाट संकलन गरिएको थियो। त्यो वर्ष प्रयोगशालाले एन्टिबायोटिक परीक्षणका लागि तीन सय ६८ वटा नमुना संकलन गरेको थियो।

केन्द्रीय प्रयोगशालाले आव २०८०/०८१ मा परीक्षण गरेका ४१ वटा नमुनामध्ये दुईवटा कुखुराको मासुको नमुनामा फ्लोरोक्विनोलोन्सको मात्रा बढी पाइएको हो । उक्त नमुना सिन्धुपाल्चोकबाट संकलन गरिएको थियो । त्यो वर्ष प्रयोगशालाले विभिन्न एन्टिबायोटिक पत्ता लगाउन तीन सय १४ वटा नमुनाको एलाइजा प्रक्रियाबाट परीक्षण गरेको थियो।

यी दुवै प्रयोगशालाको प्रतिवेदनले तीन वर्षको अवधिमा कखुराका सातवटा फल मासु र चारवटा कलेजोको नमुनामा विभिन्न प्रकारका एन्टिबायोटिकको अवशेष भेटिएको देखाएको छ। यो हिसाबले ११ वटा नमुनामा एलाइजा विधिबाट एन्टिबायोटिकको मात्रा मापदण्डभन्दा बढी देखिएको प्रतिवेदनले देखाएको छ।

यो अवधिमा परीक्षण भएका कुखुराको कलेजोमा बढी मात्रामा एन्टिबायोटिकको मात्रा फेला परेको भेटेरिनरी गुणस्तर तथा औषधी नियमन प्रयोगशालाले जनाएको छ। प्रयोगशालाले एन्टिबायोटिकलाई तीनवटा समूहमा राखेर परीक्षण गर्दै आएको छ। तीमध्ये समूह बीको एन्टिबायोटिक बढी मात्रामा परीक्षण गर्ने गरिएको छ। एन्टिबायोटिकको अवशेष भेटिएका यी नमुना प्रयोगशालाले बजारमा बिक्रीका लागि राखिएका मासुबाट संकलन गरेको थियो।

कुखुराको कलेजोमा र्‍यापिड र इलाइजा परीक्षण दुवै गर्दा एन्टिबायोटिकको मात्रा बढी पाइएको हो। कुखुराको कलेजोमा सल्फा र इमुनिग्लोकोसाइटको मात्रा बढी पाइएको भेटरिनरी तथा औषधी नियमन प्रयोगशालाकी पशु चिकित्सक डा. सुजिता पोखरेलले बताइन्। ‘फल मासुमा भन्दा कलेजोमा एन्टिबायोटिकको अवशेष धेरै देखिन्छ’, उनले भनिन् । सुरुमा र्‍यापिड टेस्ट कीटबाट नमुना परीक्षण हुने र त्यसमा पोजिटिभ देखिएकै नमुनालाई इलाइजा विधिमा परीक्षण गरिएको उनले बताइन्।

र्‍यापिडबाट परीक्षण गर्दा एन्टिबायोटिकको मात्रा कलेजो र फल मासु दुवैमा देखाए पनि यसको परिणाम भरपर्दो नभएकाले इलाइजा परीक्षण हुने गरेको प्रयोगशालाले जनाएको छ। तर बेलाबखत संकलन गरिएका सीमित नमुनाका भरमा आएको नतिजाका आधारमा मुलुकभर एन्टिबायोटिकको स्थिति यकिन गर्न नसकिने पशु चिकित्सकहरू बताउँछन्।

बजारमा बिक्रीका लागि राखिएका कुनै पनि मासुमा एन्टिबायोटिकको मात्रा यकिन गर्न ठूलो संख्यामा परीक्षण गर्नुपर्ने केन्द्रीय पशुपंक्षी अन्वेषण तथा प्रयोगशालाका पशु चिकित्सक रामचन्द्र सापकोटाले बताए। ‘कुनै पनि मासुमा यस्तो हुनु हुँदैन, हामीकहाँ के–कति एन्टिबायोटिकको मात्रा छ भनेर यकिन थाहा पाउनका लागि बृहत् रूपमा नियमित परीक्षण हुनुपर्छ तर यस्तो हुन सकेको छैन’, उनले भने ।

‘धेरै परीक्षण भएमा थप संख्यामा एन्टिबायोटिकको मात्रा पत्ता लाग्छ’, त्रिभुवन विश्वविद्यालय माइक्रोबायोलोजी विभागका सहप्राध्यापक डा. मेघराज बन्जाराले भने।

सोही विचार भेटेरिनरी तथा औषधी नियमन प्रयोगशालाका पशु चिकित्सक डा. सुजाता पोखरेल बताउँछिन् । ‘अहिलेको परीक्षणका आधारमा एन्टिबायोटिकको मात्रा कति छ भन्न सकिँदैन,थप परीक्षण हुनुपर्छ’, उनले भनिन्।

सबै प्रदेशमा ठूलो संख्यामा नमुना परीक्षण गरिएमा मात्र यकिन अवस्था आउने भएकाले त्यसतर्फ सरकारको ध्यान जान आवश्यक रहेको भेटेरिनरी तथा औषधी नियमन प्रयोगशालाकी निर्देशक डा. सलिना मानन्धरले बताइन्। नेपालमा तीन सयदेखि चार सयवटा नमुनाहरूको इलाइजा परीक्षण हुने गरेको प्रतिवेदनले औंल्याएको छ। नेपालमा तीन वर्ष अघिसम्म इलाइजा परीक्षणको अभ्यास थिएन। सरकारले तीन वर्षदेखि विभिन्न भागबाट नमुना संकलन गरी कुखुरा, दूध तथा अन्य मासुको परीक्षण गर्दै आएको छ।

जोखिममा मानव स्वास्थ्य

मासुमा हुने एन्टिबायोटिकले मानव स्वास्थ्य जोखिममा पार्ने कीटाणुविज्ञ तथा पशु चिकित्सकहरू बताउँछन्। एन्टिबायोटिकसहितको मासु खाएमा नचाहिएका बेलामा एन्टिबायोटिक संकलन हुन्छ। ‘बिरामी नभइकन मासुका माध्यमबाट एन्टिबायोटिकको मात्रा खानु भनेको अनावश्यक डोज खानु हो’, त्रिभुवन विश्वविद्यालय माइक्रोबायोलोजी विभागका सहप्राध्यापक डा. मेघराज बन्जाराले भने।

मासुमा एन्टिबायोटिकको मात्रा धेरै भएको मासु खाएमा शरीरमा एन्टिबायोटिक रेसिस्टेन्सको समस्या आउने भेटेरिनरी गुणस्तर तथा नियमन प्रयोगशालाकी निर्देशक डा. शर्मिला मानन्धर बताउँछिन्।

‘बोइलर कुखुराको कलेजो नखानू’

कुखुराको शरीरमा कुन–कुन भागमा एन्टिबायोटिकको अवशेष केकति छ भनेर परीक्षण गर्दा कलेजोमा सबैभन्दा बढी भेटिएकाले बोइलर कुखुराको कलेजो नखान पशु चिकित्सकहरूले सुझाएका छन्। यसका साथै कलेजोमा अन्य खानेकुराका विषाक्त पनि जम्मा हुन्छ। ‘सकेसम्म बोइलर कुखुराको कलेजो नखानू, त्यसलाई हामी मासु भन्दैनौं’, डा. पोखरेलले भनिन्।

बजारमा बोइलर कुखुराको कलेजो प्रयोगकर्ता विपन्न वर्गका उपभोक्ता भएको पाइएको भेटेरिनरी गुणस्तर तथा औषधी नियमन प्रयोगशालाका भेटेरिनरी अधिकृत शशिधर सेढाईं बताउँछन्। ‘नमुना संकलन गर्न जाँदा सस्तोमा पाइने भएकाले मासुभन्दा पहिल्यै कलेजो बिक्री भइसकेको पाइयो’, उनले भने ।

कुनै रोग लागेका कुखुरालाई एन्टिबायोटिक प्रयोग गरेमा पाँच या सात दिनमा त्यसको अवशेष नरहने भएकाले यसपछि मासु खान सकिने पशु चिकित्सकहरू सुझाउँछन्।

नियम छ, पालना छैन सरकारले एन्टिबायोटिकको अनावश्यक प्रयोग रोक्नका लागि एन्टिबायोटिकमा रातो धर्का लगाएर मात्र औषधी कम्पनीले बिक्री गर्न पाउने गरी सन् २०२३ मा राजपत्रमा प्रकाशित गरी प्रतिबन्ध लगाएको छ। कुखुराको दानामा एन्टिबायोटिक समावेश गर्न प्रतिबन्ध लगाइसकेको छ, तर कुखुरा व्यवसायी र एग्रोभेटको तहमा यी नियमको पूर्ण पालना नहुनुले अहिले पनि कखुरामा अनवाश्यक रूपमा एन्टिबायोटिक प्रयोग भइरहेको माइक्रोबाइलोजिस्ट डा. बन्जारा बताउँछन्।

परीक्षण नगरी कुखुरालाई एन्टिबायोटिक नखुवाउनु र खुवाएको सातदिने गर्ने प्रवृत्ति अहिले पनि कायम रहेकाले यसो नगरी चिकित्सकको सुझावमा मात्र औषधी प्रयोग गर्न केन्द्रीय पशुपंक्षी तथा औषधी अन्वेषण प्रयोगशालाका पशु चिकित्सक डा. रामचन्द्र सापकोटा बताउँछन्। 

प्रकाशित: २५ श्रावण २०८१ ०७:०३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App