१९ आश्विन २०८१ शनिबार
image/svg+xml
स्वास्थ्य

बालबालिकालाई ‘स्वर्णविन्दु प्राशन’ गराउँदै

चितवनको रत्ननगरस्थित आयुर्वेद तथा वैकल्पिक चिकित्सालयले प्रत्येक महिना बालबालिकालाई स्वर्णविन्दु प्राशन गराउँदै आएको छ । बागमती प्रदेश, स्वास्थ्य मन्त्रालयको वार्षिक कार्यक्रमअन्तर्गत स्वर्णविन्दु प्राशन कार्यक्रम राखिएको हो ।

चिकित्सालयका प्रमुख डा कोपिला अधिकारीका अनुसार गत आर्थिक वर्षबाट सुरु गरिएको यो कार्यक्रममा पछिल्लो पटक पाँच सय बढी बालबालिका सहभागी हुँदै आएका छन् । चिकित्सालयले चौथो पटक कार्यक्रम सञ्चालन गरिसकेको छ । कार्यक्रम सुरुआत गर्दा पहिलोपटक दुई सय ९६ बालबालिकालाई प्राशन गराइएकामा चौथो पटक पाँच सय एकजनालाई स्वर्णविन्दु प्राशन गराइएको हो ।

स्वर्णविन्दु प्राशन, जसलाई सुवर्ण प्राशन वा स्वर्ग प्राशन पनि भनिन्छ । यो एक परम्परागत आयुर्वेदिक औषधि हो । यसले बालबालिकाको समग्र स्वास्थ्य र प्रतिरक्षा (युमिनिटी) प्रणालीलाई सबल बनाउने डा अधिकारीको भनाइ छ । उनले भनिन, ‘यसलाई स्वर्ण ९सुनको० भस्मका साथमा ब्राह्मी घृत, मह मिलाएर खुवाइन्छ ।’ बालबालिकाको उमेरअनुसार दुईदेखि पाँच थोपा खुवाइन्छ । ब्राह्मी एउटा जडीबुटी रहेको र जसले बालबालिकाको मानसिक विकासमा सकारात्मक प्रभाव पार्ने उनले बताइन।

उनले भनिन, ‘यसले बालबालिकाको प्रतिरक्षा प्रणालीको सुधार गर्नाका साथै बुद्धिको विकास, स्मरण शक्ति बढाउँछ । बालबालिकाको पाचन शक्ति राम्रो गराउँछ भने बल र आयु बढाउँछ । समग्र शारीरिक र मानसिक स्वास्थ्य प्रवर्द्धनमा स्वर्णविन्दु प्राशन महत्वपूर्ण मानिन्छ ।’

उनका अनुसार स्वर्णविन्दु प्राशन महिनामा एक पटक खाली पेटमा दिनुपर्छ । यो ३० मात्रासम्म खान राम्रो मानिन्छ । यो सामान्यतया छ महिनादेखि पाँच वर्षको उमेरसम्मका बालबालिकालाई ख्वाउने गरिन्छ । होमियोप्याथी, एलोप्याथी जस्ता अन्य औषधिसँगै स्वर्णविन्दु प्राशन गराउन सकिने चिकित्सालयका प्रमुख डा अधिकारी बताइन ।‘नियमित लगाउनुपर्ने अन्य खोपहरु लगाइरहे जस्तै स्वर्णविन्दु प्राशन पनि नियमित खुवाउनु पर्दछ, एक पटक मात्रै खुवाएर हुँदैन’, उनले भनिन।(रासस)  

प्रकाशित: २२ श्रावण २०८१ १४:१८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App