२३ भाद्र २०८१ आइतबार
image/svg+xml
स्वास्थ्य

लुम्बिनी प्रदेशलाई पूर्ण खोपका लागि बाटो खुला

लुम्बिनी प्रदेशलाई नै पूर्ण खोप प्रदेश घोषणा गर्न बाधक बन्दै आएको कपिलवस्तुलाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपन जिल्ला घोषणा गरिएको छ। जिल्लामा रहेको १५ महिना देखि ५९ महिना सम्मका सबै बालबालिकाहरू खोपको पहुँचमा पुगेको प्रतिवेदन प्रस्तुत गदै जिल्लालाई पूर्ण खोप जिल्ला घोषणा गरिएको हो ।

यससँगै अब लुम्बिनी प्रदेशलाई नै पूर्ण खोप प्रदेश  घोषणा गर्न बाटो खुला भएको हो । जिल्ला खोप समन्वय समितिले तौलिहवामा राखेको घोषणा सभामा लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री दीपेन्द्र पुनले पानसमा दीप प्रज्वलित गर्दै कपिलवस्तुलाई पूर्ण खोप जिल्ला भएको घोषणा गरे । सो अवसरमा मन्त्री पुनले लुम्बिनी प्रदेश मै बाधक बन्दै आएको कपिलवस्तु अन्ततः पूर्ण खोप जिल्ला घोषणा भएसँगै अब लुम्बिनी प्रदेशलाई  पूर्ण खोपका लागि बाटो खुला भएको बताए । उनले  असार ३१ गते लुम्बिनी प्रदेशलाई पूर्ण खोप प्रदेश घोषणा गरिने बताए ।

 धेरै ढिला गरी कपिलवस्तु पूर्ण खोप जिल्ला भएको र यस्तो हुनुमा कर्मचारी, जन प्रतिनिधि मात्र नभै जनताहरूले समेत यसको जिम्मेवारी लिनु पर्ने उनले बताए । उनले ढिलै भए पनि कपिलवस्तु पूर्ण खोप जिल्ला घोषणा भएकोमा बधाई दिदै १६ औ चरणको अभियान सम्पन्न भएको कपिलवस्तुलाई हात्तीपाइलेको समेत निवारण गर्नु पर्ने बताए ।  कार्यक्रममा स्वास्थ्य कार्यालयका प्रमुख नारायण प्रसाद चौधरीले गत वैशाख र जेठमा संचालन गरिएको आईपिभि खोप अभियानमा ४६ हजार ९८६ बालबालिकालाई खोप लगाइएको विवरण पेस गरे । उनले छुटेका ८ सय ८३ जनालाई खोप लगाइएको र त्यसैका आधारमा जिल्लालाई पूर्ण खोप घोषणा गरिएको बताए । 

उनले ५९ महिना सम्म अब जिल्लामा कुनै बालबालिका खोपबाट वञ्चित नभएको बताए । बिभिन्न १३ प्रकारका खोप लगाइने गरिन्छ । जिल्लामा ५ वर्ष मुनिका ६४ हजार ४७१ जना बालबालिका छन् । कार्यक्रममा उमेर हद र आफ्नो स्वास्थ्य अवस्थाले काम गर्न असमर्थ गरेका ७० महिला स्वास्थ्य स्वयम सेविकालाई गम्छा ओढाई र कदर  पत्र प्रदान गरेर सम्मानित गरिएको थियो ।मन्त्री पुनले उनीहरूलाई सम्मानित गरेका थिए ।

अवकाश प्राप्त महिला स्वयम सेविकालाई सङ्घीय सरकारबाट २० हजार र प्रदेश सरकारबाट गरी ७० हजार प्रदान गरिएको स्वास्थ्य कार्यालयका प्रमुख चौधरीले बताए । जिल्ला समन्वय प्रमुख बाबुराम आचार्यले हरेक क्षेत्रमा पछि परेको कपिलवस्तुलाई बल्लतल्ल पूर्ण खोप जिल्ला घोषणा गरिएको बताए । उनले यसलाई सबै मिलेर दिगोपन राख्नु पर्ने बताए । जिल्ला समन्वय प्रमुख तथा खोप समन्वय समितिका संयोजक बाबुराम आचार्यको अध्यक्षतामा र पब्लिक हेल्थ नर्स शान्ति भण्डारीको संचालनमा भएको कार्यक्रममा शिवराज नगरपालिकाका मेयर अजय थपा, बिजयनगर गाउँपालिका प्रमुख गोपाल थापा शुद्धोदन गाउँपालिकाका प्रमुख कमलेश शरण चौधरी, प्रजिअ विश्व प्रकाश अर्यालले लगायतले मन्तव्य दिएका थिए ।  

प्रकाशित: ३० असार २०८१ २१:१६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App