गत वर्ष झैं यस वर्ष पनि डेंगी महामारीको उच्च जोखिम रहेकाले सुरुमै लामखुट्टेको वृद्धि रोक्न इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले सुझाएको छ। शुक्रबार राजधानीमा एक अन्तरक्रिया कार्यक्रम गरी कीटजन्य शाखाका प्रमुख डा. गोकर्ण दाहालले डेंगी सार्ने लामखुट्टे बढ्न नदिन कुनै पनि भाँडामा जम्मा भएको पानी सात दिनभन्दा बढी राख्न नहुने सुझाएका छन्।
डा. दाहालका अनुसार लामखुट्टृेको लार्भा सात दिनपछि लामखुट्टे नै बन्छ। त्यसअघि नै पानीको भाँडा सफा गरेमा लार्भामै मृत्यु हुन्छ र लामखुट्टे वृद्धि हुन पाउँदैन। यो लामखुट्टे विशेषगरी गाडीका टायर, फालिएका प्लास्टिक र कागजका बट्टा, गमलाका थाली, घरभित्र खुला राखिएका ड्रम र रिजर्व ट्याङ्कीमा बस्ने तथा वृद्धि हुने भएकाले यस्ता ठाउँमा जम्मा भएका पानी सात दिनभित्र सफा गर्नुपर्छ।
यसका साथै रिजर्व ट्यांकी या ड्रम या बाल्टिनमा पानी जम्मा गर्नुपरे छोप्ने, गमलाका थाली सातसात दिनमा सफा गर्ने गरे यो लामखुट्टेको जीवनचक्रले पूर्णता पाउँदैन। लामखुट्टेको संख्या कम हुनेबित्तिकै डेंगी संक्रमणमा पनि कमी आउने छ।
‘डेंगी महामारीबाट बच्ने मुख्य उपाय भनेको यसको जीवनचक्र नै रोक्नु हो। त्यसका लागि पनि सात दिनभित्र जम्मा गरिएको पानी फेर्नुपर्छ र घरवरिपरि यस्ता भाग छन् भने पुर्नुपर्छ’ उनले भने।
कुनै पनि लामखुट्टेको टोकाइबाट बच्न राति झुल प्रयोग गर्ने, घरका झ्यालढोकामा जाली राख्ने, घरभित्र बस्दा शरीर छोप्ने लुगा लगाउने, शरीरका खुला भागमा लामखुट्टेविरुद्धको मलम ओडोमस या स्पे्र लगाउने गर्न सकिन्छ।
महाशाखाले सम्भावित डेंगी जोखिमको पूर्वसन्ध्यामा सञ्चारकर्मीसँग अन्तरक्रिया गर्दै यस्तो जानकारी दिएको हो। हालसम्म उपत्यकाका विभिन्न भाग तथा उपत्यकाबाहिर गरी ७३ जिल्लामा डेंगी संक्रमण पुष्टि भइसकेको र १० जिल्लामा उल्लेखनीय संंख्यामा संक्रमण देखिएकाले व्यक्तिगत र संस्थागत रूपमा लामखुट्टे नष्ट अभियान जारी राख्नुपर्ने उनले सुझाए।
व्यक्तिगत रूपमा सबैले आफ्नो घर र कार्यालय सफा राख्ने, सरकारले सार्वजनिक स्थलमा सफाइ गरेमा डेंगी नियन्त्रण गर्न सकिने डा. दाहालको सुझाव छ। ‘हरेक नागरिकले व्यक्तिगत रुपमा सफाइमा ध्यान दिएमा धेरै लामखुट्टे स्वतः नियन्त्रण हुन्छ’, डा. दाहालले भने।
महाशाखाका अनुसार गत वर्षजस्तै यो वर्ष पनि पानी पर्न रोकिएपछि बढ्ने संक्रमणको जोखिम र व्यवस्थापनका लागि समयमै सञ्चार र बजेट विनियोजन भइसकेको उनले बताए। यो वर्षका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले डेंगी नियन्त्रण कार्ययोजना जारी भइसकेकाले त्यसअनुसार हरेक निकाय सक्रिय हुन आवश्यक रहेको उनले सुझाए।
यो कार्ययोजनाअन्तर्गत महाशाखाले जोखिमयुक्त स्थानीय निकायलाई लामखुट्टे नियन्त्रणका लागि घरदैलो कार्यक्रम, लामखुट्टेको बासस्थान खोज र नष्ट गर कार्यक्रम सुरु भइसकेको बताए।
डेंगीको सेरोटाइप परीक्षणका लागि सातै प्रदेशमा इटोमोलोजिस्टको व्यवस्था गरिएको महाशाखाले जनाएको छ। ‘प्रत्येक स्थानीय तहलाई पत्राचार गरिसकेका छौं, त्यसअनुसार कार्यान्वयन गर्ने अपेक्षा लिएका छौ’, दाहालले भने। ६ महिनाको अवधिमा १४ सय ३२ जनामा डेंगी संक्रमण पुष्टि भइसकेको छ।
प्रकाशित: २२ असार २०८१ १०:३० शनिबार