१७ असार २०८१ सोमबार
image/svg+xml
स्वास्थ्य

सहरी स्वास्थ्य क्लिनिकबाटै मानसिक स्वास्थ्य सेवा

महानगरभित्रका सहरी स्वास्थ्य क्लिनिकमार्फत अन्य स्वास्थ्य सेवा प्रदान गर्दै आएकोे काठमाडौं महानगरले मानसिक स्वास्थ्य सेवा पनि दिने भएको छ। नयाँ आर्थिक वर्षसँगै सहरी स्वास्थ्य केन्द्रमार्फत सेवा सुरु हुने काठमाडौं महानगरले जनाएको छ।

सहरी स्वास्थ्य क्लिनिकमा रहेका स्वास्थ्य जनशक्तिमार्फत नै मानसिक स्वास्थ्य सेवा दिने गरी तयारी भइरहेको काठमाडौं महानगर स्वास्थ्य शाखा इन्चार्ज सजिरा महर्जनले बताइन्। यसका लागि हालै महानगरले चिकित्सक र प्यारामेडिक्सलाई मानसिक स्वास्थ्य तालिम दिइरहेको छ। एक साताको तालिम पूरा गरेपछि उनीहरूले मानसिक स्वास्थ्यको पहिचान गर्न र आधारभूत औषधी पे्रसक्रिप्सन गर्नसक्ने हुने र भएकै जनशक्तिबाट थप सेवा प्रदान गरिनेछ।

सहरी स्वास्थ्य क्लिनिकबाट यो सेवा प्रवाह गर्दा सहरमा पहिचान हुन नसकेका र अन्य उपचारको क्रममा आएका मानसिक बिरामीको समेत निदान र उपचार सम्भव हुने भएकाले यो सेवा विस्तार गरेको इन्चार्ज महर्जनले बताइन्। पछिल्लो समय बेरोजगारी, व्यापार व्यवसायमा देखा परेको विश्व आर्थिक मन्दी र डिजिटल मिडियाको बढ्ता प्रयोगका कारण सहरमा मानसिक रोगको समस्या बढेकाले यो सेवाको औचित्य रहेको उनले बताइन्।  

प्रहरीको तथ्यांकअनुसार नेपालमा प्रत्येक दिन २१ जनाले आत्महत्या गर्छन्। आत्महत्याको कारण मानसिक स्वास्थ्य मुख्य कारण रहेको र गाउँको तुलनामा सहरमा यो समस्या बढी पाइएको महर्जन बताउँछिन्। ‘मानसिक रोगको छिटो पहिचानले आत्महत्याको दरलार्ई न्यूनीकरण गर्न सकिन्छ नै हरेक व्यक्तिको समयमै मानसिक स्वास्थ्यको पहिचानले स्वस्थ जनशक्ति तयार गर्न सकिन्छ,’ उनले भनिन्।

सरकारले देशैभरी प्राथमिक स्वास्थ्य केन्द्रमार्फत यो सेवा दिने गरी विगतकै वर्षदेखि नै मेडिकल अफिसर तथा प्यारामेडिक्सहरूलाई मानसिक स्वास्थ्य तालिम दिइसकेको भए पनि काठमाडौं महानगरले यो कार्यक्रम हालै मात्र लागु गर्न लागेको हो। ‘नेपाल सरकारकै कार्यक्रम नमुनामा आधारित भएर सेवा सुरु गर्न लागेका हौं,’ उनले भनिन्। सरकारले प्राथमिक स्वास्थ्य केन्द्रमार्फत नै मानसिक स्वास्थ्य सेवा विस्तार गर्दै आएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाअन्तर्गत नसर्ने रोग तथा मानसिक स्वास्थ्य शाखाले जनाएको छ। 

यो कार्यक्रमपछि मानसिक स्वास्थ्य क्षेत्रमा केही सुधार भएको सो शाखाकी प्रमुख डा. पोमा थापाले बताइन्। ‘प्रथम बिन्दु अस्पतालमा मानसिक स्वास्थ्य सेवा भएपछि मानसिक बिरामीको समयमै पहिचान र उपचार हुने भएकाले रोगले जटिल रूप लिने समस्या कम हुँदै गएको देखिन्छ,’ डा. थापाले भनिन्।

सात वर्षदेखि सुरु भएको यो कार्यक्रम हाल ७७ वटै जिल्लामा विस्तार भइसकेको छ। तर स्थानीय तहमा पुगेका स्वास्थ्यकर्मीको सरुवा भइरहने भएकाले यो सेवाका लागि तालिम प्राप्त जनशक्तिको कमी हुने समस्या अहिले पनि रहेको उनले बताइन्। यो कमीलार्ई पूरा गर्न सरकारले स्थानीय रूपमा सक्रिय साझेदार संंस्थासँग समन्वय गरी स्वास्थ्यकर्मीलाई तालिम दिने कार्यक्रमलाई निरन्तरता दिनु र मानसिक स्वास्थ्य सेवा नै विस्तार गर्नु विकल्प रहेको बताइन्। 

प्रकाशित: १२ असार २०८१ ०६:५४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App